सरकार र प्रतिपक्षी दलबीचको दुरी बढ्दै «

सरकार र प्रतिपक्षी दलबीचको दुरी बढ्दै

नेपालमा अहिले इतिहासकै शक्तिशाली कम्युनिष्ट पार्टी नेतृत्वको सरकार छ । संघीय संसद्देखि सडकसम्म प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारविरुद्ध कडा रूपमा प्रस्तुत् भइरहेको छ । कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले चरणबद्ध रूपमा सरकार र प्रधानमन्त्रीकाविरुद्ध आन्दोलन जारी राखेको छ । नेविसंघले सडकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गरिरहेका बेला कांग्रेसले भने ती प्रदर्शनमा भएका दमन र संसद्मै आफूहरूलाई दुईतिहाइको दम्भ देखाएको भन्दै असन्तुष्टि पोखिरहेको छ । संसद्मा पेल्न खोजिए सडकमा जाने चेतावनी कांग्रेसका सांसदहरूले संसद् बैठकमै दिएका छन् । सत्तारुढ दलका सांसद र नेताहरूले भने कांग्रेसले विरोधका लागि विरोध मात्र गरिरहेको टिप्पणी गर्दै बाहिर जाने भए ढोका कसैले नछेको प्रतिक्रिया दिएका छन् । कांग्रेसले त्यसको जवाफमा सिंहदरबारमा पसेर प्रधानमन्त्री कार्यालय अगाडि नै प्रदर्शन गर्ने अवस्था नबनाउन चेतावनी नै दिएको छ । दुई तिहाइको बहुमतको सरकारमा दम्भ देखिएको कांग्रेसको आरोप छ । यसरी पछिल्लो समय देखिएको सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीचको तिक्तताले नेपालको राजनीतिमा कस्तो असर गर्ला ? यसै विषयमा कारोबार प्रतिपक्षी दलका नेता र सरकारका गतिविधिलाई नजिकबाट नियालिरहेका विश्लेषकसँग गरेको कुराकानीको सार :


निर्दलीय पञ्चायती व्यवस्थाको झल्को
प्रेम सुवाल
सांसद, नेपाल मजदुर किसान पार्टी
बहुदलीय व्यवस्था पुन:स्थापनापछि गणतन्त्रसम्म आइपुग्दा सत्ता पक्ष र प्रतिपक्ष भनेकाहरू सबै पालैपालो सरकारमा गएका हुन् । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले प्रतिपक्षमा बस्दा कुनै पनि पार्टीले प्रतिपक्षको भूमिका खेलेको देखिन्न । अहिलेको प्रतिपक्षको भूमिका प्रभावकारी नहुँदा सरकारको नीति तथा कार्यक्रममा त्यसको विरोध नै भएन । यो सबैले लेनदेन भएको बुझिन्छ । अहिले पनि राजदूतलगायतका विषयमा लेनदेन भइरहेको छ । यी सबै पार्टीको नाम मात्रै फरक हो, काम एकै किसिमको छ । अहिले निर्दलीय पञ्चायती व्यवस्थाको जस्तै गरी काम भइरहेको देखिएको छ ।

सरकार वातावरण बिथोल्न लागीपरेको छ
बद्री पाण्डे
राष्ट्रियसभा सदस्य
नेपाली कांग्रेस
दुई ठूला कम्युनिष्ट पार्टीहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको छ । अहिले सरकार पनि उहाँहरूकै छ । त्यसमा संघीय समाजवादी फोरमसमेत सहभागी भएको छ । राष्ट्रिय जनता पार्टीसँग पनि उहाँहरू कुरा गर्दै हुनुहुन्छ । अहिले सत्तारुढ दलका सांसदहरूको अंकगणित २ तिहाइको अवस्था छ । यसले उहाँहरूमा निक्कै घमण्ड देखिएको छ, दम्भ पलाएको छ । अब हामी जे पनि गर्नसक्छौं भन्ने मनोविज्ञानबाट उहाँहरू ग्रस्त हुनुभएको छ । कांग्रेससँग दुई तिहाईको सरकार चलाएको र बहुमतको सरकार चलाएको पनि अनुभव छ । पहिले त्यसप्रकारको सरकार चलाएकाले कांग्रेसलाई दुई तिहाईको सरकार हुने कुरा केही लाग्दैन । तर, नेपाल कम्युनिष्ट पार्टीमा त्यसको दम्भ देखिएको छ । उहाँहरू उन्मक्त हुनुभएको छ । त्यसकारण नेकपा अध्यक्ष केपी शर्मा ओली पनि र पुष्पकमल दाहाल पनि दम्भमिश्रित अभिव्यक्ति दिइरहनुभएको छ । तलका अरु उहाँका नेता कार्यकर्ता पनि त्यही दम्भको भाषा बोलिरहनुभएको छ ।
संसद्मा समेत कांग्रेस गए हुन्छ जस्तो आशयका धारणा व्यक्त भएका छन् । यो सर्वसत्तावादी चरित्र हो । आफूबाहेक अरु कोही छैन जस्तो ठान्ने मुर्खता उहाँहरू गर्दै हुनुहुन्छ । उहाँहरूले बुझ्न जरुरी छ कि दम्भले कसैलाई राम्रो गर्दैन । देशलाई राम्रो गर्दैन । उहाँहरूलाई पनि राम्रो गर्दैन । जसजसले सत्ता र शक्तिमा रहेर दम्भ देखाएका छन् उनीहरूको हालत के भएको छ इतिहासतर्फ फर्केर हेर्न पनि म आग्रह गर्न चाहन्छु ।
आफूलाई कडा प्रश्न सोधिएको भन्दै टेलिभिजन कार्यक्रम बन्द गरिएको छ । नेपाल विद्यार्थी संघले गरेको शान्तिपूर्ण प्रदर्शनमा धरपकड गरिएको छ । सुर्खेतमा कांग्रेसको पार्टी कार्यालयभित्रै प्रहरी प्रवेश गरेर धरपकड गरिएको छ । जुन लोकतन्त्रका लागि नसुहाउने विषय हो । पञ्चायतको बर्बरतामा समेत नभएका गतिविधि केपी ओली नेतृत्वको सरकार हुँदा अहिले भएको छ । उहाँहरूले यस्ता कुराले कसैलाई फाइदा हुँदैन भन्ने कुरा बुझ्न जरुरी छ ।
सत्तारुढ दल जिम्मेवार बन्नुपर्ने हो । तर, उहाँहरूको व्यवहार अराजक र उत्ताउलो देखियो । यस्तो कुराले अहिले देशमा बन्दै गएको सहज वातावरण बिथोल्ने छ । उहाँहरूको नेतृत्वमा सरकार बनेको धेरै भएको छैन । भर्खरै सरकार बनेको छ । अहिलेको अवस्था हेर्दा ५ वर्ष ढुक्कले सरकार चलाउन सक्ने अवस्थामा उहाँहरू हुनुहुन्छ । कसैले चुनौती दिने अवस्था छैन । ५ वर्ष देशको विकास र आर्थिक समृद्धिका लागि काम गर्ने अवसर छ । तर, उहाँहरू समृद्धिको अभियानमा सबैलाई साथमा लिएर हिँड्ने भन्दा कटु वचनबाट मानमर्दन गर्ने चेष्टा गर्दैहुनुहुन्छ । यसलाई रोक्नुभएन र दम्भ देखाएर हिँड्न खोज्नुभयो भने त्यसले कसैलाई फाइदा गर्दैन ।


अधिनायकवादमा जाने आशंका देखियो
मोहन श्रेष्ठ
सहप्रवक्ता, राष्ट्रिय प्रजातन्त्र पार्टी
सरकारको काम गराईमा दुई तिहाई बुहमतको एकदमै दम्भ देखिएको छ । एउटा उचाइमा पुगेपछि जुन नम्रता देखिनुपथ्र्यो त्यो देखिएन । प्रतिपक्षीलाई पेलेर जाने, निषेधित गरेर जाने चाहना उहाँहरूमा देखियो । उहाँहरू जसरी अघि बढिरहनुभएको छ यसमा अधिनायकवादतिर जाने प्रशस्तै आशंका देखियो ।
न्यायालयमा हस्तक्षेप गर्ने, संवैधानिक अंगहरूलाई प्रभावित गर्ने, निजामती प्रशासनलाई त्रासमा राख्ने, व्यापारी, व्यवसायीलाई तर्साउनले खालको नीति उहाँहरूले लिनुभएको छ । यसले आम मानिसमा र गैरकम्युनिष्टमा उहाँहरूको गतिविधिलाई लिएर प्रश्न उठेको छ । यसलाई सरकार र प्रधानमन्त्री केपी ओलीले चिर्न सक्नुपर्छ । सञ्चारमाध्यमलाई समेत विस्तारै नियन्त्रणमा राख्ने प्रयास भएको छ । यसलाई अधिनायकवादको अभ्यासकै रूपमा समेत हेरिएको छ ।
तर, जीवनको महत्वपूर्ण समयमा केही गरेर देखाउने अवसर केपी ओलीलाई प्राप्त भएको छ । यस्तो बेलामा उहाँ अधिनायकवादको कलंकको टीका नै लगाउनुहोला भनेर म भन्न चाहन्न । तर, आशंकाहरू उठेका छन् यसको सरकारले निवारण गर्नुपर्छ । प्रजातन्त्रको विकल्प अरु हुन सक्दैन । प्रजातान्त्रिक मूल्य मान्यताभन्दा अरु कुरा उचित हुन सक्दैन । उहाँहरूले दुई तिहाईको दम्भबाट केन्द्रीत हुन छाडेर संसद्मा प्रतिपक्षीलाई खुलस्त हुन दिनुपर्छ ।
जहाँसम्म नेपाली कांग्रेसले संसद् छाड्ने भनेर दिएको धम्कीको कुरा छ यो कांग्रेसको संस्थागत निर्णय होइन । कुनै व्यक्तिको व्यक्तिगत लहडको अभिव्यक्ति हुन सक्छ । कांग्रेसजस्तो प्रजातान्त्रिक पार्टीले संसद् छाड्ने कुरा गर्दैन भन्ने मेरो विश्वास छ । संसदीय व्यवस्थामा प्रतिपक्षीविहीन संसद्को कल्पना गरिँदैन । अर्को कुरा, जसरी नेपालमा नाकाबन्दी लगाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सरकारले नागरिक अभिनन्दन गरेको घटना छ, यसको घोर भत्र्सना गर्न चाहन्छु । नाकाबन्दी लगाउने भारतका प्रधानमन्त्रीलाई अभिनन्दन गरेर सरकारले नागरिकको भावनामा चोट पुराएको छ । मोदीलाई सम्मान गर्नु भनेको मैले जे गरे पनि हुन्छ भन्ने स्वेच्छाचारी प्रवृत्ति हो ।

प्रतिपक्षी दललाई संसद्मा सम्मान गरिनुपर्छ
डा. सुरेन्द्र केसी
राजनीतिक विश्लेषक

अहिले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच दोहोरी देखिएको छ । सत्तारुढ दलका सांसदले नै प्रतिपक्षी दललाई संसद् छोडेर गए हुन्छ भन्ने अभिव्यक्ति दिइरहेका छन् । यो राजनीतिक परिपक्व र मूल्य मान्यतामा आधारित राजनीति नहुनुको परिणाम हो भन्ने मेरो बुझाइ छ । संसदीय व्यवस्थाका आफ्लै मान्यता छन् । संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्षी दललाई सम्मान गर्नुपर्छ । उनीहरूले उठाएका मुद्धालाई जिम्मेवार भएर सुन्ने र समाधान गर्नुपर्छ । संसदीय व्यवस्थामा सत्तारुढ दलले परिपक्व र जवाफदेही भूमिका निर्वाह गर्नुपर्छ भने प्रतिपक्षी दलले पनि रचनात्मक भूमिका निर्वाह गर्नुपर्छ ।
तर, नेपालमा अहिले परिपक्वताको अभाव देखिएको छ । अहिलेको सन्दर्भमा को बढी जिम्मेवार बन्नुपर्छ भनेर भन्दा संसदीय व्यवस्थामा बढी जिम्मेवार सत्तापक्ष नै हुनुपर्छ । अहिले सत्तारुढ दलमा त्यस्तो परिपक्वता र जवाफदेहीता देखिएन । कांग्रेसका प्रवक्ताले संसद्मा मात्र होइन सिंहदरबारभित्र पसेर प्रधानमन्त्री कार्यालय अगाडि नै प्रदर्शन गर्न नपरोस् भन्ने अभिव्यक्ति दिएका छन् । त्यसले पनि के संकेत गर्छ भने अहिले प्रतिपक्षी दल कांग्रेस नराम्ररी रिसाएको देखिन्छ ।
अहिले सत्तारुढ दल तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी छ । उनीहरूको पृष्ठभूमि हेर्दा र कम्युनिष्ट पृष्ठभूमिलाई हेर्दा उनीहरूमा अरुलाई हेप्ने, पेल्ने अपमान गर्ने, अस्तित्व नस्वीकार्ने, ठाडो व्यवहार देखाउने संस्कार हुन्छ । त्यो संस्कारबाट अहिले सत्तारुढहरू मुक्त छैनन् । उनीहरूले सत्तामा पुगेपछि त्यही संस्कार देखाएका छन् । यसो हुनुमा उनीहरूको पृष्ठभूमि पनि कारक हो भन्ने लाग्छ । यसो गर्दा कसैलाई पनि फाइदा हुँदैन । लोकतन्त्र र स्थायित्वमा यसले असर गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्