७ औं घरजग्गा मेला–२०१८ मुख्य राजमार्गवरिपरि ठूला सिटी निर्माण गरिने «

७ औं घरजग्गा मेला–२०१८ मुख्य राजमार्गवरिपरि ठूला सिटी निर्माण गरिने

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थित आवासका लागि देशका मुख्य–मुख्य राजमार्गको आसपासमा सहरीकरण गर्न निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढने बताएका छन् ।
शुक्रबार काठमाडौंमा घरजग्गा मेला–२०१८ को उद्घाटन गर्दै पूर्व–पश्चिम राजमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी मार्गको वरिपरी व्यवस्थित सहरीकरण गरी आवासको व्यवस्था गरिने बताए । सहरीकरण र आवास व्यवस्थापनका लागि सरकारले मात्र लगानी गर्न नसक्ने जनाउँदै यसमा निजी क्षेत्रको पनि लागनी गर्नुपर्ने बताए । “कहाँ–कहाँ आवास परियोजना सञ्चालन गर्ने हो, त्यस क्षेत्रमा आवश्यक पर्ने जग्गाको व्यवस्थान सरकारले गर्नेछ ।” उनले भने, “तर सहरीकरण र आवासका लागि कृषियोग्य जमिन टुक्रा गर्न सकिँदैन ।” उनले उद्घाटनको क्रममा मुलुक सुशासन र विकासको दिशामा अघि बढिसकेको जनाउँदै त्यसका लागि सरकारले जस्तोसुकै कदम चाल्ने उनको भनाइ छ ।
उनले सरकार आवास विकासका लागि समेत विभिन्न कार्यक्रम ल्याएकोे बताए । “देशको समृद्धिका लागि मुलुकका विभिन्न स्थानहरूमा स्मार्ट मेघा तथा ग्रिन सिटी बनाउने योजना गरेका छौं,” उनले भने, “उक्त आधुनिक सहरहरू निर्माण निजी क्षेत्रको सहयोगमा गरिनेछ ।’ त्यसका लागि सरकारले आवश्यक नीति नियमसमेत परिमार्जन गर्न तयार रहेको उनले जानकारी दिए । सरकारले कित्ताकाट रोक लगाएसँगै घरजग्गा व्यवसाय ओरालो लागिरहेका बेला काठमाडौंमा घरजग्गा व्यवसायले गति लिन सकेको छैन ।
मेलामा घरजग्गा ग्राहकहरूका लागि छुटका विभिन्न अफरहरू ल्याएका छन् । सिभिल होम्स्ले ३७ लाखमा अपार्टमेन्ट बिक्रीको योजना ल्याएको छ भने अन्य कम्पनीहरूले ग्राहकलाई आकर्षक छुटमा घरजग्गा तथा अपार्टकमेन्ट उपलब्ध गराउने गराउने जनाएका छन । पाँच दिने मेला र २ दिने हाउजिङ सम्मिटमा घरजग्गा व्यावसायीका साथै बैंक तथा वित्तीय संस्था, घर सजावट, अटोमोबाइल र निर्माण कम्पनीहरूले स्टल राखेका छन् ।
कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास संघका महासचिव मीनमान श्रेष्ठले जग्गाको कित्ताकाटमा लगाइएको रोकका कारण व्यवसायीहरू मात्र होइन व्यक्तिगत रूपमा बिक्री वितरण गर्ने आम मानिस पनि मर्कामा परेको भन्दै निर्णय परिमार्जन गर्न प्रधानमन्त्री ओलीसँग आग्रह गरे ।
संघका महासचिव श्रेष्ठले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा घरजग्गा व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता दिलाइ सहुलियत पूर्णरूपमा कर्जा प्रवाहको व्यवस्था मिलाइदिन पनि आग्रह गरे । तर, जवाफमा प्रधानमन्त्री ओलीले व्यावसायीहरूको एकतर्फी कुरा सुनेर सरकारले निर्णय नलिने स्पष्ट पारे । उनले व्यवसायीहरूसँग इन्ट्रेस्ट बाझिने पक्षको पनि कुरा सुनेर मिलन बिन्दु खोज्ने भन्दै सरकारको निर्णय व्यावसायीले मान्नुपर्ने बताए ।

काठमाडौं उपत्यकामा २५ हजार युनिट घर तथा अपार्टमेन्ट आवश्यकता छ । सन् २०१७ सम्म काठमाडौं उपत्यकामा ८२ वटा सामूहिक आवासअन्तर्गत करिब ४ हजार ९ सय घर निर्माण भएका र ११७ वटा संयुक्त आवासअन्तर्गत १४ हजार ५ सय युनिट अपार्टमेन्ट निर्माण भएको छ । नेपालको अर्थतन्त्रमा २ खर्बभन्दा बढीको लगानी रहेको छ । राजस्वको योगदान २४ अर्ब रुपैयाँ रहेको छ । हाउजिङ तथा अपार्टमेन्ट व्यवसायले २ सयभन्दा बढी साना ठूला उद्योग सञ्चालन गर्न सहयोग पुराएको छ ।

कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गएको वर्षको साउन २६ गते कृषियोग्य जमिनको प्लटिङमा रोक लगाएको थियो । कार्यक्रममा संघका अध्यक्ष इच्छाराज तामाङले सरकारको भिजनअनुसार निजी क्षेत्र अघि बढ्ने बताए । “सुन्दर, सभ्य नेपाल बनाउन किमान्त पनि पछि हट्दैनौं,” उनले भने, “हामी हातमा कलम कपि मात्र होइन कोदालो समेत लिएर अघि बढ्नेछौं ।” संघका महासचिव मीनमान श्रेष्ठले बजेटमार्फत सरकारले ल्याएको इजाजत कम्पनीले मात्रै घरजग्गा सम्बन्धि काम गर्न दिने व्यवस्था स्वागत योग्य भएको बताए । साथै उनले घरजग्गा व्यवसायलाई पनि उद्योगका रूपमा मान्यता दिन पर्नेमा जोड दिए । “सरकारले उद्योगको रुपमा मान्यता दिइ जग्गा कित्ताकाट गर्ने व्यवस्था मिलाइदिनु पर्छ,” उनले भने, “त्यस्तै सहज अपार्टमेन्ट खरिद गर्ने कानुन बनाइनुपर्छ ।” मेलामा जग्गा तथा आवाससम्बन्धी करिब १२० स्टल छन् ।

प्रोपर्टी एक्स्पो–२०१८ का विशेषता
  • नवीनतम् उत्पादनको जानकारी
  •  स्वदेशी तथा विदेशी प्रदर्शकहरूको सहभागिता
  • मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास
  • निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टको परामर्श  
  • बैंक र बीमाको जानकारी 
  • विद्युतीय सरसामानहरू, फर्निचर, पाइप, सेनिटरी वयर्स फिटिङ, पेन्टस्, सवारी साधन, सजिसजावटका सामान
  • २ दिने दास्रो हाउजिङ सम्मिट

 

 

प्रतिक्रिया दिनुहोस्