Logo

दिगो पर्यटन प्रवद्र्धनमा पूर्वी एसियासँग नेपालले साझेदारी गर्नु पर्न

नेपालले दिगो पर्यटनका क्षेत्रमा बहुराष्ट्रिय साझेदारी गर्न सक्नेमा विज्ञहरूले जोड दिएका छन् । खासगरी पर्यटनकै क्षेत्रमा सफल मानिएका मलेसियासहितका पूर्वी एसियाली मुलुकसँगको साझेदारी नेपालका लागि उपयुक्त हुने उनीहरूको ठहर छ ।पाटा नेपाल, गेट स्टुडेन्ट च्याप्टरको निमन्त्रणामा नेपाल आएका मलेसियाको टेलर्स युनिभर्सिटीका आतिथ्य सत्कार एवं होटल व्यवस्थापन विभागका प्राध्यापक एवं विद्यार्थीहरूसँगको अन्तक्र्रियामा दुवै देशका अध्यापकहरूले नेपाल र मलेसियाबीचको पर्यटकीय अनुभव आदान–प्रदान गर्न सकिने बताए ।‘
दिगो पर्यटन प्रवद्र्धनमा मलेसियाको आफ्नै अनुभव छ । सन् २०१७ मा मलेसियाले २ करोड ५९ लाख पर्यटक भित्र्याउन सक्यो, जसबाट ८२ अर्ब रिंगेटबराबरको आम्दानी गर्न सफल भएको छ,’ टेलर्स युनिभर्सिटी आतिथ्य सत्कार एवं होटल व्यवस्थापन विभागका कार्यक्रम निर्देशक मेडलिन टोहले भने, “नेपाल र मलेसियाबीच धेरै कुरामा समानता छन्, हामी पर्यटनसम्बन्धी अनुभव आदानप्रदान गर्नसक्छौं ।”
पर्यटन उद्योगका लागि दक्ष र सीपयुक्त जनशक्तिको महत्व बढी हुने भन्दै एसियाली क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आएका शैक्षिक संस्थाहरूबीचको सहकार्यले बलियो नतिजा दिनसक्ने उनले बताए ।सो अन्तक्र्रिया कार्यक्रममा टेलर्स युनिभर्सिटीमा अध्ययनरत मलेसिया, जापान, चीन र इन्डोनेसियाका २३ तथा नेपालका गेट कलेजमा होटल व्यवस्थापन शिक्षा अध्ययनरत २५ जना विद्यार्थीहरू र होटल व्यवस्थापन शिक्षाका अध्यापकहरूको सहभागिता रहेको थियो ।पाटा नेपाल गेट स्टुडेन्ट च्याप्टरले पहिलो पटक अन्तर्राष्ट्रिय स्तरका पर्यटन शिक्षा लिइरहेका विद्यार्थीहरूबीचको आदानप्रदानलाई जोड दिँदै यो कार्यक्रम आयोजना हो । नेपालमा दिगो पर्यटन प्रवद्र्धनका लागि ग्लोबल एकेडेमी अफ टुरिजम् एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)ले चाल्दै आएको कदमप्रति अन्तर्राष्ट्रिय विद्यार्थीहरूले प्रशंसा गरेका थिए ।स्मरणीय छ, काठमाडौंस्थित ग्लोबल एकेडेमी अफ टुरिजम् एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज), स्वीजरल्यान्डको विश्वप्रसिद्ध स्वीस होटल एसोसिएसन होटलरी स्वीससँग सम्बन्धन प्राप्त एसियाकै एकमात्र होटल व्यवस्थापन कलेज हो । यसका साथै, गेट कलेजमा अष्ट्रेलियाको व्यावसायिक शिक्षासम्बन्धी ख्यातिप्राप्त नर्थ कोष्ट इन्स्टिच्युटअन्तर्गतको टेफको सम्बन्धनमा आवधिक प्रशिक्षणहरू उपलब्ध गराइँदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस्