बसको बहार «

बसको बहार

नेपालमा बस सेगमेन्टका सवारी आयात दिनप्रतिदिन वृद्धि हुँदै गइरहेको छ । यात्रुलाई सडक माध्यमबाट एक ठाउँबाट अर्को ठाउँमा पुर्याउने साधन हो बस । मुख्य गरी कमर्सियल सवारी मालवाहक र यात्रुवाहक गरी दुई प्रकारका हुन्छन् । कमर्सियल सवारीमध्येको यात्रुवाहक सवारी हो बस, जसले हामीलाई एक ठाउँबाट अर्को ठाउँ पुर्याउँछ ।
छोटो, मध्यम तथा लामो दूरीमा यात्रा गर्नका लागि बसको आवश्यकता पर्छ । आफ्नो सवारी नहुनेका लागि सार्वजनिक सवारीका रूपमा बस नै विकल्पको रूपमा रहने गरेको छ, हाम्रोजस्तो भौगालिक अवस्था भएको देशमा । हाम्रो देशमा मात्र होइन, विकसित देशहरूमा समेत स्थानीय गन्तव्यहरूमा जान र केही मध्यम दूरीमा जान सडक सञ्जाल भएको ठाउँमा बसकै प्रयोग हुने गरेको छ । त्यसमा पनि नेपालजस्तो भौगालिक अवस्था र न्यून आय भएका मुलुकका लागि बस नै यात्राको उपयुक्त साधनको रूपमा रहेको छ ।
बस मुख्यगरी त्यसको विशेषताका आधारमा वर्गीकरण गरिन्छ । सिटी बस, स्कुल बस, लामो दूरीको बस, इन्टरसिटी बस, माइक्रो बस, टुरिष्ट बसलगायत थुप्रै किसिमका बस नेपालका सडकमा गुड्छन् । माइक्रोबसको खास प्रयोजन छोटो दूरीका लागि हुने भए पनि हामीकहाँ भने पछिल्लो समय लामो दूरीमा समेत गड्ने गरेका छन् । अन्य बस भने मध्यम तथा लामो दूरीकै लागि उपयुक्त हुन्छन् । बसमा हुने सुविधा र विशेषताका आधारमा त्यसलाई टुरिष्ट तथा लामो दूरीको बसका रूपमा वर्गीकरण गरिन्छ । स्कुल बस भने सिटी बस वर्गका पर्छन्, किनकि स्कुल बस लामो दूरीमा चल्दैनन् ।
नेपाली बजारमा ५ देखि ५०-५५ सिट क्षमता भएका बस उपलब्ध छन् । सरकारले साना बसको प्रयोगलाई निरुत्साहित गरेकाले पछिल्लो समय २८ देखि ५५ सिट क्षमताका बस धेरै चल्ने गरेका छन् । सरकारी वर्गीकरणअनुसार ५ देखि १४ सिट क्षमताका माइक्रो वर्गमा, १५ देखि २५ सिटका बस मिनिबस र २६ सिटभन्दा बढी क्षमताका बसलाई ठूला बस भनिन्छ । सरकारले ठूला बस सञ्चालनलाई प्राथमिकता दिएकाले पछिल्लो समय सिटी बसको माग बढेको अशोक लेल्यान्डको नेपालका लागि अािधकारिक विक्रेता आईएमई मोटर्सको कमर्सियल भेइकल डिभिजन, बसका सेल्स प्रमुख सुशील सुवेदीको भनाइ छ । “ठूला बस सञ्चालनले प्राथमिकता पाएपछि ८ मिटर च्यासिस भएका सिटी बसको माग बढेको छ,” उनले भने, “तर समग्रमा यो वर्ष ठूला बसको माग भने घटेको छ । यसको कारण हो मुगलिन–नारायणगढको बाटो ।” तर पनि बसको बजार भने बढ्दै जाने उनले बताए । सिटी बसको ग्राउन्ड क्लियरेन्स अन्य बसको भन्दा कम हुने भएकाले सहरी र राम्रो सडक भएका ठाउँमा उपयुक्त हुन्छ ।
बसमा विशेषतः ५ जनादेखि ५० जना बोक्ने प्लेटफर्म हुने टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङको कमर्सियल भेइकल डिभिजन हेड अनुप ढकालले बताए । “नेपाली बजारमा सहरभित्र सिटी बस, लामो दूरीको बस र स्कुल बसको माग धेरै छ,” उनले भने, “सुविधाका आधारमा बसको वर्गीकरण हुन्छ ।” बसमा एयरसस्पेन्सन, एसी-हिटर, वाइफाइ, सुविधाजनक सिटलगायत सुविधा हुन्छन् । पछिल्लो समय इन्टरसिटी बसमा समेत एसी राख्ने ट्रेन्ड आउन लागेको उनले बताए । बस सञ्चालन रुटको प्रकृति, बाटोको अवस्था रहेर हुने गरेको छ । ३२ देखि ४५ सिट क्षमताका बसहरू लामो दूरीका लागि उपयुक्त मानिन्छ ।
बसमा हुने सुविधाका आधारमा यातायात व्यवस्था विभागले वर्गीकरण गरेको छ । विभागको वर्गीकरणअनुसार सामान्य बस, सेमि–डिलक्स बस, डिलक्स बस र सुपर–डिलक्स बस छन् । त्यसमा सामान्य बसमा धेरै सिट हुने र सुविधा खासै हुँदैनन् । डिलक्स बसमा अलि बढी सुविधा हुन्छ भने सुपर डिलक्स बसमा पूर्ण सुविधा हुन्छ । डिलक्स तथा सुपर डिलक्स बसको भाडासमेत केही बढी लिन पाइने व्यवस्था सरकारले नै गरेको छ । त्यस्तै उपयोगिताको आधारमा यात्रु बस, स्कुल बस, टुरिष्ट बसमा समेत वर्गीकरण गरिएको हुन्छ । स्कुल बस बालबालिकाका लागि उपयोगी हुने गरी निर्माण गरिएको हुन्छ भने टुरिष्ट बस विशेष सुविधाजनक र आरामदायी हुने गरेको छ ।
सिटी बस र लामो दूरीका बसको बजार करिब ५०-५० प्रतिशत रहेको सुवेदीले बताए । सिटी बसको माग बढ्दै गएको बताउँदै उनले भने, “अशोक लेल्यान्डका स्मार्ट, लिङ्स, चिताह, भाइकिङलगायत भेरियन्टका बस उपलब्ध छन् । त्यस्तै स्कुल बसमा लिङ्स, स्मार्ट र सनसाइनको बजार बढ्दै गइरहेको सुवेदीले उल्लेख गरे । ४ सिलिण्डरका बस सिटीका लागि र ६ सिलिण्डरका बस लामो दूरीमा चल्ने गरेका छन् । ४ सिलिण्डरका बसले इन्धन कम खपत गर्ने र मर्मत खर्चसमेत न्यून हुने भएकाले व्यवसायीले बढी लाभ लिन सक्छन् । विगतमा सर्भिसलगायत कारणले अशोक लेल्यान्डका बसमा केही समस्या देखिएको भए पनि आइएमइ मोटर्सले अशोक लेल्यान्डका सवारीका लागि आवश्यक सर्भिस, स्पेयर पार्टस्लगायत सबै सुविधा उपलब्ध गराएको सुवेदीको भनाइ छ । त्यसैले अशोक लेल्यान्डका बसप्रति उपभोक्ता आकर्षित हुदैं गएको उनले बताए ।
टाटाका मार्कोपोलो, अल्ट्रालगायत विभिन्न भेरियन्टका बस उपलब्ध रहेको ढकालले बताए । “टाटाका अल्ट्रा तथा मार्कोपोलो धेरै रुचाइएको बसमा पर्छन्,” ढकालले भने, “सबै सेगमेन्टका बसमा टाटा नै अब्बल ठहरिएको छ ।” पछिल्लो समय नेपालका बस सेगमेन्टमा प्रतिस्पर्धा हुन लागेको उनको भनाइ छ । सवारीको उपलब्धता, सर्भिस, ब्रान्डप्रतिको विश्वसनियताले टाटाप्रति उपभोक्ताको अधिक विश्वास रहेको उनको दाबी छ ।
नेपाली बजारमा मुख्य गरी टाटा, अशोक लेल्यान्ड, आइसर, महिन्द्रालगायत कम्पनीका बस उपलब्ध छन् । विगतमा बस भन्नैबित्तिकै टाटाको मात्र हुन्छ भन्ने थियो तर पछिल्लो समय अशोक लेल्यान्ड सबै भेरियन्टका बससहित नेपाली बजारमा आक्रामक रूपमा अगाडि आएको छ । योसँगै अन्य कम्पनीका बसहरू पनि प्रतिस्पर्धीका रूपमा रहेका छन् । नेपाली बजारमा २-३ लाखदेखि १ करोड रुपैयाँसम्मका बस उपलब्ध छन् । तर २८ देखि ८० लाख रुपैयाँसम्मका बस धेरै चल्ने व्यवसायीहरूको भनाइ छ ।
पछिल्लो समय मास ट्रान्सपोर्टको रूपमा ४० सिटभन्दा ठूला बसलाई सरकारले प्राथमिकता दिएको छ । ४० सिटभन्दा बढी क्षमताका बसमा ५ प्रतिशतमात्र भन्सार लाग्ने भएपछि यस्ता बसमा उपभोक्ताको आकर्षण बढेको छ । सामान्यतया बस आयातमा भन्सारसहित ५० प्रतिशत शुल्क लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्