फालिएको बेल बन्यो आम्दानीको स्रोत «

फालिएको बेल बन्यो आम्दानीको स्रोत

६ सामुदायिक वन मिलेर वेल उद्योग स्थापना


दमौली- केही कुराको महत्व नै भएन भने ‘बेल पाकेर कागलाई हर्ष न विस्मात’ भन्ने त उखानै छ । तनहुँ म्याग्दे गाउँपालिका उपभोक्तालाई पनि केही समय अघि यो उखान ठ्याक्कै मिल्थ्यो । तर अहिले त्यहाँका उपभोक्तालाई बेल पाक्दा लाखौं आम्दानी हुन थालेको छ ।
म्याग्दे गाउँपालिका १, २ र ३ मा रहेका ६ वटा सामुदायिक वनका उपभोक्ता मिलेर बेल जुस उद्योग स्थापना गरेपछि बेलबाट राम्रो आम्दानी हुन थालेको छ । २०७१ सालमा यूएसएडको आर्थिक सहयोगमा केएर नेपाल, हरियो वन कार्यक्रममार्फत मेसिनरी औजार खरिदका लागि ११ लाख २८ हजार र ६ वटा सामुदायिक वनको ४ लाख ६० हजार रुपैयाँको संयुक्त लगानीमा माउन्टेन तनहुँ सामुदायिक बेल तथा फलफूल प्रशोधन उद्योग स्थापना भएको थियो ।
जामुनेको सिद्धवतासन, उमाचोक, भिरपानी बच्र्याङ, पँधेरीखोला र पोर्सेली सामुदायिक वन समूहको सक्रियतामा उद्योग स्थापना भएको हो । उद्योग सञ्चालन गर्दै आएका ६ वटा सामुदायिक वनमध्ये १ सय १७ हेक्टर क्षेत्रफलमा रहेको बेलको ५० प्रतिशत मात्र उपयोग गर्नसके मात्र पनि वार्षिक १ करोडको जुस उत्पादन गर्न सकिने बताइएको छ ।
उद्योगमा हालसम्म ४८ लाख ६८ हजार ५ सय ३ रुपैयाँ लगानी भइसकेको उद्योगका अध्यक्ष केशबहादुर रानाभाटले जानकारी दिए । उद्योगमा सामुदायिक वन उपभोक्ता समूहले ८ लाख ६० हजार, केयर नेपाल हरियो वन कार्यक्रमले ३० लाख १५ हजार १ सय १३, घरेलु तथा साना उद्योग विकास समितिले ९५ हजार, माउण्टेन तनहुँ वेल तथा फलफूल प्रशोधन उद्योगले ८ लाख ९८ हजार ३ सय ९० रुपैयाँ लगानी गरेको छ ।
उद्योगको आफ्नै भवनसमेत निर्माण भएको छ । ३ वर्ष वार्षिक ४८ हजार रुपैयाँ भाडा तिर्ने गरी उद्योग भाडाको घरमा सञ्चालन हुँदै आएको थियो । नयाँ भवन निर्माणका लागि ११ लाख ७६ हजार ६ सय १६ रुपैयाँ खर्च भएको सञ्चालक विष्णुकुमार श्रेष्ठले जानकारी दिए ।
उद्योग स्थापनाको पहिलो वर्ष १ हजार १ सय बोतल जुस उत्पादन भएकोमा ९ सय बोतल बिक्रीबाट ७२ हजार रुपैयाँ आम्दानी भएको थियो । त्यस्तै दोस्रो वर्ष २ हजार ५ सय ५० बोतल उत्पादन भएकोमा २ हजार बोतल बिक्रीबाट २ लाख र तेस्रो वर्ष २ हजार ५ सय ५० बोतल उत्पादन भएकोमा २ हजार १ सय बोतल विक्रीबाट २ लाख १० हजार रुपैयाँ आम्दानी भएको श्रेष्ठले बताए ।
६ वटा सामुदायिक वनबाट संकलित बेललाई सफा र ग्रेडिङ गरी कटरमा राखेर काट्ने, गुदि (भित्री फल) निकाल्ने र मिक्सचरमा पेलेर पल, वियाँ र छोक्रा छुटाएपछि, सेलाएको तातोपानीमा मिलाएर वेलको जुस तयार गर्ने गरिन्छ । बेलको जुस दमौली, पोखरा, काठमाडौं र चितवनमा बिक्री हुने गरेको छ । उक्त उद्योगमा ७ जना महिलाले रोजगारी समेत पाएका छन् ।
एक गिलास पानीमा दुई बिर्को बेलको जुस राखेर दिनको २ पटक सेवन गर्नाले उच्च रक्तचाप, मुटुसम्बन्धी रोग, ग्यास्ट्रिक, कब्जियत, मधुमेह (चिनीरोग) नियन्त्रण हुनुका साथै पाचन शक्ति बढाउने विशेषज्ञहरुले बताएका छन् । धार्मिक रुपमा बेलको पात (बेलपत्र) भगवान् शिवको प्रिय वस्तुका रूपमा मानिन्छ भने आयुर्वेदिक रुपमा यसको पात धेरै औषधिमा प्रयोग समेत गरिन्छ ।

११ लाखको लागतमा जुस उद्योगको भवन निर्माण
म्याग्दे गाउँपालिका–२ मा रहेको माउन्टेन तनहुँ सामुदायिक बेल तथा फलफूल प्रशोधन केन्द्रको भवन निर्माण गरिएको छ । ११ लाख ७६ हजार ६ सय १६ रुपैयाँको लागतमा केन्द्रको भवन निर्माण गरिएको हो ।
यसअघि वार्षिक ४८ हजार रुपैयाँ भाडा तिर्ने गरी केन्द्र भाडाको घरमा सञ्चालन हुँदै आएको थियो । भवन निर्माणका लागि केयर नेपाल, हरियो वन कार्यक्रमले आर्थिक सहयोग गरेको हो । केयर नेपालले भवन, उपकरण, क्षमता अभिवृद्धि तथा बजार प्रबद्र्धन कार्यक्रमका लागि ३० लाख १५ हजार १ सय १३ रुपैयाँ सहयोग गरेको थियो ।

कृष्ण न्यौपाने

प्रतिक्रिया दिनुहोस्