सत्तापक्षद्वारा बजेटको चर्को आलोचना; मन्त्रिले आफ्नै क्षेत्रमा बजेट खन्याए «

सत्तापक्षद्वारा बजेटको चर्को आलोचना; मन्त्रिले आफ्नै क्षेत्रमा बजेट खन्याए

नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूले नै आगामी आर्थिक वर्षको बजेटलाई लिएरसरकारको चर्को आलोचना गरेका छन् । प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा पर्यटन र खेलकुद मन्त्रालयका योजनालाई लिएर नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूले तीब्र असन्तुष्टि जनाएका हुन् ।
खगराज अधिकारी, प्रेमबहादुर आले, मोहन बानियाँ, गोपालबहादुर बमलगायतका सांसदले पर्यटनमन्त्री रवीन्द्र अधिकारीमाथि कमिसनमुखी बनेको आरोप लगाए । डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आलेले पर्यटनमन्त्री अधिकारीमाथि कमिशन खानकै लागि डोल्पा जिल्लामा ४४ वटा योजना राखेको आरोप लगाए । उनले दुई पटक निर्वाचित हुँदा अहिलेसम्म बजेटको विरोध नगरे पनि आफ्नै पार्टी नेतृत्वको सरकार रहँदा बजेटको विरोध गर्नुपर्ने अवस्था आएको बताए ।
निकै आक्रोशित मुद्रामा प्रस्तुत भएका सांसद आलेले पर्यटनमन्त्री अधिकारीमाथि अर्थ मन्त्रीमाथि दोष देखाएर उम्किन खोजेको आरोप लगाए । “डोटी जिल्लामा एउटै योजना नपारी कास्की जिल्लामामात्र २४ वटा योजना राख्दा लाज लाग्दैन ?” भनेर उनले प्रश्नसमेत गरे । उनले मन्त्री अधिकारीलाई जनताले आफूहरूलाई निर्वाचित गराएका कारण मन्त्री बन्ने अवसर पाएको हेक्का राख्न चेतावनीसमेत दिए ।
मुगुका सांसदद्वय गोपालबहादुर बम र मोहन बानियाँले राराजस्तो पर्यटकीय गन्तव्यलाई बजेटमा पूरै उपेक्षा गरिएको भन्दै पर्यटनमन्त्री अधिकारीको आलोचना गरेका थिए । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले राराबाट देशवासीका नाममा सम्बोधन गर्दा हर्षित भएका मुगुवासी बजेटपछि निराश बनेको बताए । उनीहरूले प्रधानमन्त्रीको रारा सम्बोधनसमेत बजेटमा समावेश नभएको भन्दै आफ्नै पार्टीको सरकारले उपेक्षा गर्दा निकै पीडाबोध गर्नुपरेको गुनासो गरे ।
सांसद बानियाँले बजेटमा मुगुका जनतालाई पूरै उपेक्षा गरिएको र त्यही कारण आफूमा आवेगको ज्वारभाटा उठेको बताए । उनले मानव विकास सूचकांकमा सबैभन्दा पछाडि रहेको जिल्लालाई उपेक्षा गरिनुको कारण सोध्दै देशमा सरकार छ कि छैन भनेर प्रश्न गरे ।
सांसद बानियाँले निर्वाचन क्षेत्र विकास कार्यक्रममा ४ करोड मात्र छुुट्याइएको र वृद्धभत्ता बढाउनुको साटो बिमा कार्यक्रम समावेश गरिएकाप्रति चरम असन्तुष्टि जनाउँदै ती कार्यक्रम नसच्याए एक्लै भए पनि संसद् अवरुद्ध गर्ने चेतावनी दिए ।
जुम्लाबाट प्रतिनिधित्व गर्ने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकै सांसद गजेन्द्रबहादुर महतले सरकारलाई समृद्धिको नभए मूल्यवृद्धिको सरकारको संज्ञा दिए । उनले कर बढाइएका कारण २०४८ सालयताकै सबैभन्दा महँगी बढेको तर नियन्त्रण गर्न ध्यान नदिएको भन्दै सरकारको विरोध गरेका ह्न् ।
खासगरी मुगु र सुदूरपश्चिमका सांसदले आक्रोश पोखेको बैठकमा कास्कीका सांसद् खगराज अधिकारीले आफ्नै जिल्लाबाट प्रतिनिधित्व गर्ने पर्यटनमन्त्री अधिकारीलाई व्यंग्य प्रहार गरे । बैठकमा पर्यटनमन्त्री अधिकारी भने अनुपस्थित थिए । उनी आइकाओ सम्मेललनमा क्यानडा भ्रमणपछि गैरआवासीय नेपाली संघको विज्ञ सम्मेलनका लागि अमेरिका जाँदैछन् । सत्तापक्षकै सांसदहरूको आक्रोशपूर्ण अभिव्यक्तिपछि प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरू प्रसन्न मुद्रामा देखिएका थिए । प्रतिनिधि सभामा बिहीबार पर्यटन, खेलकुद र अर्थ मन्त्रालयअन्तर्गतका योजना तथा कार्यक्रममा केन्द्रित रहेर छलफल भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्