घरदैलोमा हिँडेका गगन थापामाथि बम आक्रमण «

घरदैलोमा हिँडेका गगन थापामाथि बम आक्रमण

नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापाको चुनावी अभियानमा बम विष्फोट भएको छ । सोमबार बूढानिलकण्ठ नगरपालिका चपली हाइटमा थापाको घरदैलो कार्यक्रम भइरहेका बेला भएको विष्फोटमा परी थापासहित ११ जना घाइते भएका छन् । घाइते सबैको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । विष्फोटमा परी थापाको घरदैलोमा हिँडेका बुढानिलकण्ठ नगरपालिका–२ भंगाल बस्ने ४७ वर्षीय श्यामकृष्ण श्रेष्ठ, ३६ वर्षीय राजकाजी श्रेष्ठ, २८ वर्षीय जयराम लामिछाने, ३२ वर्षीय रेणु बडुवाल, ३० वर्षीय सुमन खड्का, ४० वर्षीय ध्रुव खड्का, ४७ वर्षीय पूर्णबहादुर श्रेष्ठ, ४४ वर्षीय रबिन्द्र कार्की, ४० वर्षीय काशीलाल श्रेष्ठ र ४० वर्षीया पार्वती श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये श्यामकृष्ण श्रेष्ठको अवस्था गम्भीर रहेको बताइएको छ ।
पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापा भने डिस्चार्ज भएको अस्पतालले जनाएको छ । उनको कान र ढाडमा चोट लागेको थियो । डिस्चार्ज भएका थापा मौन अवधि सुरु हुनुभन्दा अघि सोमबार साँझ आयोजित अन्तिम चुनावी सभामा सहभागी भएका थिए ।
थापालाई लक्षित गरी ‘रिमोट कन्ट्रोल’ बाट बम बिष्फोट गराइएको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीले दुई दर्जन बढीलाई पक्राउ गरेर अनुसन्धान थालिएको बताएको छ । घटनाको कसैले जिम्मेवारी लिएको छैन ।

संयोगले बाँचें :गगन
विष्फोटमा परी घाइते भएका थापाले संयोगले बाँचेको बताएका छन् । उपचारका क्रममा शिक्षण अस्पतालमा रहेकै बेला थापाले विष्फोट भएको स्थानभन्दा आफू केही अघि रहेकाले बचेको बताए । उनले पछि रहेका साथीहरूलाई बढी चोट लागेको बताएका छन् । “मलाई नै लक्षित गरी विष्फोट गराइएको हुन सक्छ । एक घन्टा ढिलो घरदैलो सुरु भएको थियो,” उनले भने, “जुलुसलाई छिटो लैजान पाइला अघि छिटो चालेकाले म संयोगले बाँचें । पछि रहेको भए जे पनि हुनसक्थ्यो ।”
कांग्रेसद्वारा निन्दा
थापाको हत्या गर्ने उद्देश्यले बम प्रहार भएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । सोमबार मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै घटनाको घोर निन्दा र भत्र्सना गरेका छन् । “नेपाली कांग्रेसका नेता, उम्मेदवार तथा कार्यकर्ताहरूको हत्या नै गर्ने मनसायले गरिएको यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति घोर निन्दा र भत्र्सना गर्दछौं,” विज्ञप्तिमा भनिएको छ, “यस घटनाले शान्तिपूर्ण रूपमा निर्वाचनका कार्यक्रमहरू गर्न पाउने नागरिकको नैसर्गिक अधिकारमाथि पनि ठाडो उल्लंघन भएको छ र लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको छ । यस प्रकारको अवाञ्छित गतिविधि नदोहो¥याउन नेपाली कांग्रेस चेतावनी पनि दिन चाहन्छ ।”
कांग्रेसले घटनामा संलग्नलाई तत्काल खोजी कडा कारबाही गर्न मागसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्