Logo

खाद्य संस्थानको महाप्रबन्धक बन्न दौडधुप

महाप्रबन्धकमा नियुक्तिका लागि २४ जनाको आवेदन परेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।

सरकारी स्वामित्वमा सञ्चालित नेपाल खाद्य संस्थानको महाप्रवन्धक बन्नका लागि संस्थानका पूर्वकर्मचारीदेखि विभिन्न क्षेत्रका व्यक्तिको दौडधुप सुरु भएको छ ।
संस्थानको महाप्रबन्धक पद खाली भएपछि नयाँ नियुक्तिका लागि विभिन्न क्षेत्रका व्यक्ति दौडधुपमा लागेका हुन् । ती व्यक्तिले महाप्रवन्धक बन्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवदेखि उच्चस्तरका नेतासम्मलाई भेटघाट सुरु गरेका छन् । संस्थानको महाप्रबन्धकका लागि सूचना नै सार्वजनिक भएको थियो । महाप्रबन्धक पदका लागि २४ जनाको आवदेन परेको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । तीन वर्षे महाप्रबन्धकको कार्यकालका लागि नियुक्ति लिन राजनीतिक लविङ सुरु भएको छ ।
महाप्रबन्धकका लागि गोकुल धिताल, लवराज जोशी, देवीप्रसाद बराल, सन्तोष पौडेल, मोहनप्रकाश न्यौपाने, जनककुमार बराल, रामदेव यादव, अनिलकुमार झा, विनोदकुमार जोशी, रमेश लम्साल, सुमन अधिकारी, मोहनप्रकाश चन्द्र, भीमप्रसाद मिश्र, शिवहरी श्रेष्ठलगायतका २४ जनाले आवेदन दिएका छन् ।
नेपाल खाद्य संस्थानको सञ्चालक समितिले कारबाहीका लागि सिफारिस गरेका तत्कालिन महाप्रवन्धक शिवहरि श्रेष्ठ पुनः नियुक्तिका लागि दौडधुपमा छन् । श्रेष्ठले महाप्रबन्धक हुँदा संस्थानको हितविपरीत काम गरेको भन्दै सञ्चालक समितिले कारबाहीका लागि आपूर्ति मन्त्रालयलाई सिफारिस गरेको थियो । श्रेष्ठले संस्थानको स्वीकृत कार्यक्रमबमोजिम संस्थानले खरिद गर्ने खाद्यान्न वस्तुका लागि अर्बौं रकम आवश्यक पर्नेमा सो व्यवस्था नगरेको, संस्थानको आर्थिक विनियमावली संशोधन गर्ने निर्णय भएकोमा कुनै काम नभएको, कर्मचारीको मात्र १० प्रतिशत तलब वृद्धि गर्ने निर्णय भएकोमा आफ्नो तलब आफैं वृद्धि गरेको आरोपमा कारबाहीको सिफारिस भएको थियो ।
यस्तै जापान सरकारबाट सहयोग स्वरूप प्राप्त चामलको गुणस्तरमा विवाद आएको ६ हजार क्विन्टल चामल व्यवस्थापनमा भएको निर्णय कार्यान्वयन नगरेको, संस्थानको भद्रकालीस्थित जग्गा टेन्डरको प्रक्रियाद्वारा अविलम्ब भाडामा लगाउन समितिले गरेको निर्णय कार्यान्वय नगरेको, संस्थानको सवै भन्दा बढी सेयर लगानी भएको विशाल बजार कम्पनीलाई व्यवस्थापन गर्न अदालतबाट भएको फैसला कार्यान्वयनमा ध्यान नदिएकोलगायत अन्य आरोप लगाई श्रेष्ठलाई कारबाहीका लागि सञ्चालक समितिले सिफारिस गरेको थियो । तर आपूर्ति मन्त्रालयले श्रेष्ठलाई मन्त्रालयमा ताने पनि अन्य कुनै कारबाही गरेको थिए । संस्थानमा रहँदा जिम्मेवारीपूर्वक काम नगरेकाले पुनः नियुक्ति गर्न उपयुक्त नरहेको संस्थानका उच्च कर्मचारीको भनाई छ ।

आयल निगम कार्यकारी निर्देशकमा पनि दौडधुप
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि पनि दौडधुप सुरु भएको छ । तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजीनामा दिएपछि नयाँ नियुक्तिका लागि दौडधुप सुरु भएको हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशन नियुक्ति गर्ने भनेपछि विभिन्न क्षेत्रका व्यक्तिले नियुक्तिका लागि आंकाक्षा देखाएका छन् ।
उच्च स्रोतका अनुसार कार्यकारी निर्देशकका लागि सुरेन्द्रकुमार पौडेल, मुकुन्दप्रसाद घिमिरे, नन्दकिशोरप्रसाद रौनियार र सञ्जय साह दौडथुपमा छन् । कार्यकारी निर्देशक नियुक्तिका लागि प्रधानमन्त्री केपी वली, नेकपाका अध्यक्ष पुष्पकमल दाहालदेखि मन्त्रीसँग लविङ गरिरहेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्