पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको १२ प्रतिशत काम सकियो «

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको १२ प्रतिशत काम सकियो

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम हालसम्म करिब १२ प्रतिशत भएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनका प्रमुख विनेश मुनकर्मीले पोखरा विमानस्थल निर्माणको हाल करिब १२ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको बताए ।
उनले भने, “पोखरा विमानस्थल निर्माणको काम हाल दु्रत गतिमा भइरहेको छ, भौतिक निर्माण करिब ८ प्रतिशत र डिजाइनसहित हेर्दा करिब १२ प्रतिशतभन्दा बढी निर्माण कार्य सकिएको छ ।” विमानस्थल निर्माणको माथिल्लो जमिनको सतहमा नरम माटो भए पनि पश्चिमतर्फको क्षेत्रमा कडा कंक्रिट भएकाले गर्दा चाइनिज कम्पनीले बिस्फोटन गराएर भए पनि समयमै काम सक्ने गरी काम जारी राखेको आयोजना प्रमुख मुनकर्मीले बताए ।
पार्किङ क्षेत्रका लागि माटो काट्ने कम सकिएको बताएका उनले रन वे निर्माणको लागि समेत माटो काट्ने र सम्माउने काम तीव्र गतिमा भइरहेको आयोजना प्रमुख मुनकर्मीले बताए । उनले भने, “हालसम्म करिब ८ लाख क्युविक मिटर माटो कटान र फिलिङ भइसकेको छ ।” हाल करिब २ सय मजदुर र करिब ४० वटा विभिन्न मेसिन तथा सवारी साधनबाट विनमास्थल निर्माणको काम भएको उनले जनाए ।
सन् २०२१ जुलाई ११ भित्र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने गरी नेपाल सरकारको विभिन्न विधि विधान तथा प्रक्रिया पूरा गरी चाइनिज सीएएमसी कम्पनीलाई सरकारले जिम्मा दिएको छ । उक्त कम्पनीका पब्लिक रिलेसन अफिसर कृष्णप्रसाद चापागाईंले हाल आफूहरूले सरकारलाई उक्त योजनाको पूरा डिजाइनको रिपोर्टसमेत पेस गरेको बताए ।
विमान कार्यविधिसमेत सरकारलाई पेस गरेको बताउँदै उनले पोखरामा विमानस्थल निर्माणका लागि २६ वटा ट्रक र २ वटा पानी ट्यांकर चीनबाट नेपाल भित्रिएको बताए । विमानस्थल निर्माणको क्रममा पहिलो चरणमा माटो खन्ने र सम्माउने, गिटी संकलन गरी राख्ने, ड्रेन निर्माणको कार्य शुभारम्भ गरेको पब्लिक रिलेसन अफिसर चापागाईंले बताए ।
करिब ४ महिना अघिदेखि चाइना कम्पनीबाटै आयात गरी २० वटा हेवी इकुप्मेन्टबाट विमानस्थल निर्माणको काम भइरहेको उनले जनाए । पहिलो चरणमा भाडाका टिप्परसहितका गाडीहरू प्रयोग गरे पनि दोस्रो चरणमा चाइनाको सीएएमसी कम्पनीले आफ्नै देशबाट ल्याउने भएको चापागाईंले बताए ।
हाल करिब ५० जनाजसो चाइनिज र १ सय ५० जसो नेपाली कामदरले विमानस्थल निर्माणका लागि काम गर्दै आएको उनले जनाए । वर्षायामको समय भएको हुनाले आफूहरूले चाहेर मात्र काम अझ छिटो हुन नसकेको पब्लिक रिलेसन अफिसर चापागाईंले बताए । पोखरा विमानस्थलसम्म चाइनिज कम्पनीका गाडीसहितका सामानहरू साई हाई ग्रिन रोड इन्टरनेसनल लजिस्टिक कम्पनीले पठाउने गरेको छ ।
उक्त कम्पनीका रसुवागढी नाकामा रहेका प्रतिनिधि दोर्जे तामाङले पोखरा विमानस्थलका लागि केरुङबाट नेपाल भित्रिएका २८ वटा गाडी नेपालको भन्सारमा रहेका छन् । केही प्राविधिक कारणले गर्दा गाडीहरू भन्सारमा रहेको बताएका उनले २÷३ दिन भित्रमा पोखरा उक्त गाडी पोखरा पुग्ने बताए । रसुवागढी नाका पोखरादेखि करिब २ सय ४० किलोमिटर छ ।
पोखरा विमानस्थल करिब २२ अर्वमा निर्माण हुन लागेको हो । पोखरा विमानस्थल करिब ३७ सय रोपनी क्षेत्रफलमा विमानस्थल निर्माण हुने भएको हो । अर्थ मन्त्रालयसँग सहायक ऋण सम्झौता भएसँगै निर्माण कार्य सुरु भएको हो । ५ प्रतिशत ब्याजदरमा २० वर्षको अवधिमा २६ किस्ता तिर्ने गरी ऋण सम्झौता भएको हो । सुरुको ७ वर्ष भने (ग्रोस अवधि) कुनै किस्ता तिर्न पर्दैन भने त्यस पछि १३ वर्षसम्म ६÷६ महिनामा किस्ता तिर्नुपर्ने हुन्छ । ०४६ सालदेखि पोखरामा विमानस्थल निर्माणको अगुवाई गरेका विश्वशंकर पालिखे कुनै वहानामा विमानस्थल निर्माण प्रक्रियालाई अबरोध गर्न खोजे पोखरेलीले हेरेर नबस्ने चेतावनी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्