चुनाव जित्ने मैले नै हो «

चुनाव जित्ने मैले नै हो

उज्ज्वल थापा
प्रतिनिधिसभा सदस्यका उम्मेदवार, विवेकशील साझा पार्टी
काठमाडौं क्षेत्र नंं. ५
काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् उज्ज्वल थापा । विवेकशील साझा पार्टीका संयोजकसमेत रहेका थापा लोकतान्त्रिक गठबन्धनतर्फका कांग्रेस उम्मेदवार प्रकाशशरण महत र वाम गठबन्धनतर्फका एमाले उम्मेदवार ईश्वर पोखरेलसँग चुनावी मैदानमा छन् । दुवै गठबन्धनबाट ‘हेभीवेट’ उम्मेदवार मैदानमा रहँदा पनि उनी निर्वाचन जित्नेमा ढुक्क देखिन्छन् । पुराना पार्टीबाट जनतामा वितृष्णा जागेकाले आफूले निर्वाचन जित्ने उनी दाबी गर्छन् । मतदाताका नजरमा महत पर्यटक उम्मेदवार र पोखरेल बदनाम उम्मेदवार भएकाले पनि आफ्नो जित सुनिश्चित भएको उनको तर्क छ । पाँच वर्षमा यो क्षेत्रलाई बस्न लायक झिलिमिली सहर बनाउने एजेन्डा अघि सारेर चुनावै मैदानमा उत्रिएका उनै थापासँग कारोबारकर्मी तीर्थराज बस्नेतले गरेको कुराकानी :

निर्वाचनको सन्निकटतिर आइपुग्दा अन्तिम तयारी कस्तो भइरहेको छ ?
हामी निर्वाचनको सघारमा आइसकेका छौ। म विगत दुई महिनादेखि मतदाताको घरदैलोमा छु । तयारी राम्रो भइरहेको छ । मतदातामा उत्साह पाएको छु । मेरो उम्मेदवारीपश्चात् यहाँका मतदातामा अझ उत्साह थपिएको छ । उहाँहरू सकारात्मक हुनुहुन्छ । म यो क्षेत्रमा लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील भएका कारण पनि मतदाताहरू सकारात्मक हुनुहुन्छ ।

काठमाडौं–५ का मतदाताले तपार्इंलाई मत किन दिने ?
यो म जन्मिएको क्षेत्र हो । यो मेरो जन्मथलो मात्रै होइन, कर्मथलो पनि हो । म एक आइटी व्यवसायी पनि हुँ । मैले यहाँका युवाहरूलाई उद्यमशील बनाउने सन्दर्भमा लामो समयदेखि काम गर्दै आएको छु । म गरिखाने वातावरण बनाउन सक्छु । मेरा प्रतिस्पर्धीलाई हेर्नुहोस् त, ५० लाख युवा बिदेसिनुपर्ने कारण उहाँहरू हो नि ! म रोजगारीको अवसर सिर्जना गर्नुपर्छ भनेर काम गर्दै आएको छु । यही कुरा म र मेरा प्रतिस्पर्धीबीचको फरक हो । त्यसैले यो पटक यहाँका मतदाताले विवेक पुर्याएर मलाई मत हाल्नेमा म विश्वस्त छु ।

प्रतिस्पर्धामा लोकतान्त्रिक र वाम गठबन्धनबाट ‘हेभीवेट’ उम्मेदवारहरू पनि छन् । तपार्इंका जितका आधार के हुन्, र तपाईंको मुख्य प्रतिस्पर्धी को हो ?
मेरा प्रतिस्पर्धीका रूपमा रहनुभएका प्रकाशशरण महत र ईश्वर पोखरेल पार्टीभित्रका ‘हेभीवेट’ हुन् । जनताका लागि उहाँहरू ‘हेभीवेट’ होइनन् । ईश्वर पोखरेल, जो म जन्मनुअघिदेखि नै राजनीति थाल्नुभएको व्यक्ति हो, तर उहाँले केही काम गर्न सक्नुभएको छैन । खालि विकास र समृद्धिको नारा मात्रै लगाउने, काम भने केही गर्ने उहाँको प्रवृत्ति हो ।
प्रकाशशरणजी ऊर्जामन्त्री, परराष्ट्रमन्त्री भइसकेको व्यक्ति हो । उहाँ ऊर्जामन्त्री हुँदा १६ घण्टा लोडसेडिङ भएको विषयमा हामी जानकार नै छौं । अहिले कुलमान घिसिङलाई कार्यकारी निर्देशक बनाएपछि लोडसेडिङ अन्त्य भयो । आखिर असल म्यानेजर हुँदा लोडसेडिङ हटाउन सकिने रहेछ नि ! त्यसैले महत र पोखरेलजी दुवैप्रति वितृष्णा छ । म निष्ठाको राजनीति गर्ने मान्छे हुँ। भूकम्पका बेला मैले गरेका काम भन्नुहोस् या डा. गोविन्द केसीका पक्षमा खेलेको भूमिका भन्नुहोस्, यिनै कारणले पनि मलाई मतदाताले मत हाल्नुहुनेछ । म जन्मे–हुर्केको क्षेत्र भएर मेरा पक्षमा माहोल बनेको छ । त्यसैले मेरो जित निश्चित छ ।
मेरो प्रतिस्पर्धा कोसँग भन्ने विषयमा चाहिँ मैले यहाँका मतदातालाई भेट्दा र उहाँसँगको कुरा गर्दा उहाँहरू दुवै जनासँग दिक्क हुनुहुन्छ । पुरानो संस्कार र पुरानै प्रवृत्तिका दल र तिनका उम्मेदवारलाई मत किन दिने भन्ने उहाँहरूको मानसिकता छ । मतदाताले विकल्प खोजेका छन् । त्यसको विकल्पका रूपमा मैले उम्मेदवारी दिएको हुँ ।
यो क्षेत्रमा प्रकाशजी पहिलो पटक चुनाव लड्दै हुनुहुन्छ । यहाँका मतदाताले उहाँलाई पर्यटक उम्मेदवारका रूपमा लिएका छन् । इश्वरजीको कुरा गर्ने हो भने उहाँले यही क्षेत्रबाट दुई पटक पराजय बेहोरिसक्नुभएको छ । नरहरिजीले यो क्षेत्रको विकासका लागि खासै केही नगर्दा समेत उहाँले दोहोर्याएर चुनाव जित्नुभयो । त्यसको अर्थ ईश्वरजीको यहाँ छवि राम्रो छैन भन्ने हो । मतदाताहरू उहाँका विषयमा ट्यांकी काण्ड, भ्रष्टाचार काण्डलगायतका विषय जोडेर कुरा गर्छन् । उहाँको बोल्ने मात्रै, कामचाहिँ नगर्ने प्रवृत्ति छ । उनले विश्वास गरेअनुसारको काम गरेनन् भन्ने धेरैमा परेको छ । उहाँ विभिन्न काण्डका कारणले बदानमसमेत हुनुहुन्छ । राजाको प्रत्यक्ष शासनकालमा मानिसहरू लोकतन्त्रका लागि लडिरहेका बेला आधा प्रतिगमन सच्चियो भनेर ईश्वरजी मन्त्री भएर सत्ताका लागि कत्तिको लिप्त हुनुहुँदो रहेछ भन्ने कुराको पर्याप्त प्रमाण हो । हाम्रो दल आएपछि जनतामा आशा जागेको छ । त्यसैले पनि मैले जित्नेमा म ढुक्कजस्तै छु ।

अबको पाँच वर्षमा तपाईंको निर्वाचन क्षेत्रलाई कस्तो बनाउने ? के छन् एजेन्डा ?
काठमाडौं–५ भनेको धेरै ऐतिहासिक सम्पदाले भरिएको क्षेत्र हो । यहाँ दशकै राम्रो टिचिङ अस्पताल, राष्ट्रपति भवनदेखि प्रधानमन्त्री निवाससम्म छ । लिच्छवि कालभन्दा अगाडिदेखिको ऐतिहासिक पृष्ठभूमि भएको हाँडीगाउँ छ । सांस्कृतिक महŒवको टोखा छ । यस क्षेत्रका नागरिकलाई यो ठाउँको स्वाभिमान जोगाउने, त्यस्तो राम्रो ठाउँ बनाउने नेतृत्वको खाँचो छ । त्यही भएर हामीले एउटा खाका पनि बनाएका छौं । पहिलो कुरा, यो ठाउँलाई झन्झटमुक्त बनाउने र सुविधायुक्त बनाउने । दोस्रो कुरा, कसरी यसलाई गरिखान पाउने, उद्यमशील ठाउँ बनाउने, धूलोमुक्त (ग्रिन सिटी) बनाउने र झिलिमिली सहरका रूपमा विकास गर्ने हो । त्यसमा चाहिँ मेरो सांसद भएपछिको दायित्व भनेको यहाँका मेयरहरू, वडा अध्यक्षहरू, सदस्यहरूसँग संयोजन गरेर यो ठाउँलाई भिआईपी क्षेत्र बनाउन पहल गर्नेछु । अहिले उद्यमशीलताई केन्द्रमा राखेको पार्टी विवेकशील साझा मात्रै हो । अन्य दलको प्राथमिकतामा यो विषय पर्न सकेको छैन । त्यसैले यिनै विषयमा मेरा प्रमुख एजेन्डा हुन् ।
यो पटक तपार्इंको दलले राष्ट्रिय दलको मान्यता पाउला ?
म विश्वस्त छु । यो पटक हाम्रो पार्टीले राष्ट्रिय दलको मान्यता पाउनेछ । अहिले आएको ह्विम हेर्दा यो विषयमा कुनै शंका गरिरहनु पर्दैन । हाम्रा पार्टीका कार्यकर्ता छैनन् । तर पनि स्वतःस्फूर्त रूपमा जबरजस्त माहोल बनेको छ र तातेको छ । यसका आधारमा भन्ने हो भने हामीले राष्ट्रिय दलको मान्यता मात्रै होइन, निकै राम्रो नतिजा ल्याउनेछौं । हामीले दार्चुलादेखि इलामसम्म १ सय ५७ जना उम्मेदवार खडा गरेका छौं । यस पटक नेपाली जनताले विवेकपूर्ण ढंगले मतदान गरी हाम्रो दललाई रोज्नुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु ।

 

प्रतिक्रिया दिनुहोस्