ट्रम्पको घोषणा: अमेरिकीको रोजगारी आप्रवासीले खोस्न नसक्ने

वासिङ्गटन: अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नागरिकको स्थानमा आप्रवासीहरुलाई रोजगारी नदिने घोषणा गरेका छन् ।
उनले अमेरिकी नागरिकको स्थानमा विदेशी कामदारलाई नोकरीमा राख्ने इजाजत नदिने बताएसँगै आप्रवासीहरुलाई समस्या पर्ने देखिएको छ।
उनले डिज्नी वर्ल्ड र अन्य केही अमेरिकी कम्पनीको हवाला दिँदै यस्तो बताएका हुन् । तीन कम्पनीहरुबाट गैर आप्रवासी एचवान-बी भीसा भएका विदेशी कामदारले अमेरिकी नागरिकलाई विस्थापित गरेर रोजगारी गरिरहेका छन् ।
अमेरिकामा एचवान-बी भीसवालामा भारतीय र नेपालीसहित अन्य देशका धेरै नागरिक रहेका छन् । सन् २०१४ मा आईटी कम्पनीमा काम गर्ने ८६ प्रतिशत भारतीयलाई मात्रै यो भीसा दिइएको थियो ।
ट्रम्प बिहीवार आयवामा आफ्ना हजारौँ समर्थकमाझ थिए । त्यहाँ उनले भने, “हामी हरेक अमेरिकीको जिन्दगीको संरक्षणका लागि लड्नेछौँ।’
ट्रम्पले भनेका थिए, ‘”चुनाव अभियानका क्रममा मैले अमेरिकाका ती समर्थकसँग समय बिताएको थिएँ, जसलाई तालिम दिन राखिएका विदेशीहरुले पछि विस्थापित गरे । तर हामी अब यस्तो हुन दिँदैनौँ ।”
समाचार अनुसार डिज्नी वर्ल्ड र दुई आउटसोर्सिङ्ग कम्पनीमा रोजगारी गरिरहेका दुई अमेरिकनले संघीय कानुन अनुसार अदालतमा मुद्दा हालेका थिए ।
उनीहरुले गरेको उजुरीमा ती कम्पनीले अमेरिकी कामदारको स्थानमा कम तलब लिने विदेशीलाई जागिरमा राखेको आरोप लगाएका थिए ।
केस लियो परेरो र डीना मोरले हालेका थिए । उनीहरु डिज्नीको ती २५० प्राविधिक जागिरे थिए, जसलाई सन् २०१५ मा अरल्यान्डोको डिज्नी वर्ल्डले जागिरबाट निकालिदिएको थियो ।
दुबैजनाले आईटी कम्पनी एचसीएल इन्क र कग्निजन्ट टेक्नोलोजीलाई पनि विपक्षी बनाएर मुद्दा हालेका थिए ।