प्रचण्डले माओवादी आन्दोलनलाई धोका दिए : भट्टराई «

प्रचण्डले माओवादी आन्दोलनलाई धोका दिए : भट्टराई

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पूर्वमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी जनयुद्ध, सहिद, बेपत्ता, घाइते परिवारलाई धोका दिएको बताएका छन् । बुधबार पार्टीको तेस्रो स्थापना दिवस तथा राष्ट्रिय युवा अभियानको विशेष संघीय भेलाको उद्घाटन गर्दै भट्टराईले आफूमाथि माओवादी आन्दोलनलाई धोका दिएको भन्दै लाग्ने आरोपको खण्डन गरेका हुन् ।
उनले संविधानसभाबाट संविधान निर्माण भएसँगै आर्थिक विकास र समृद्धिको नेतृत्व नयाँ ढंगले गरौं भन्दा प्रचण्डले अस्वीकार गरेको बताए । “सिंगो माओवादी पार्टीलाई प्रचण्डले कसरी एमालेको विचारविहिन समुद्रभित्र होमिदिए ?” उनले प्रश्न गर्दै भने, “माओवादी आन्दोलनलाई मैले धोका दिएँ कि प्रचण्डले ?” उनले वर्तमान नेपालको वैचारिक राजनीतिक नेतृत्व नयाँ शक्तिले गरिसकेको दाबी पनि गरे ।
त्यस्तै भट्टराईले नयाँ विचारको नेतृत्व गर्नसक्दा मात्रै मुलुकको आर्थिक विकास र समृद्धि सम्भव हुने भन्दै पूराना पार्टी र तिनको नेतृत्वबाट युग अनुसारको नेतृत्व हुन नसक्ने दावी गरे । नयाँ शक्तिकै नेतृत्वमा आफ्नै जीवनकालमा नयाँ युगको नेतृत्व गर्ने उनले बताए । नेपाल गरिबीको अवस्थामा पुग्नुको मुख्य कारण भ्रष्टाचार रहेको बताउँदै भ्रष्टाचारको दलदलमा फसेको मुलुकलाई त्यहाँबाट निकाल्न युवाहरुलाई खबरदारीका लागि निर्देशन दिए । राजनीतिक रुपमा तेस्रो ध्रुवको नेतृत्व गर्दै नयाँ शक्ति पार्टीले नै युवा र प्रौढको टिम मिलाएर आर्थिक विकास र समृद्धिको सगरमाथा चढ्ने विश्वास व्यक्त गरे । उनले वैकल्पिक शक्तिहरु एकठाउँमा उभिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्