सेनापतिको विवादास्पद ‘बढुवा सिफारिस’ रक्षाले रोक्यो

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले महासेनानी बढुवा सम्वन्धि विवादास्पद सिफारिस गरेपछि रक्षा मन्त्रालयले रोकिदिएको छ । अवकास हुनु केही महिना अघि बरिष्ठ र भावी सेनापतिका दावेदार मानिएका अधिकृतहरुलाई पन्छाएर कनिष्ठ सहित ४० जनालाई वढुवाका लागि सिफारिस गरेपछि उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले महासेनानी बढुवा सम्वन्धि सैनिक मूख्यालयले गरेको प्रस्ताव २ महिनादेखि रोकेका हुन् । प्रधानसेनापति क्षेत्री आगामी भदौ २४ गतेबाट अनिवार्य अवकास पाउँदै छन् । त्यसको १ महिना अघि नै सेनापति विदामा बस्ने चलन छ । रक्षा मन्त्रालयले प्रस्ताव संसोधन गरेर पुनः पेश गर्न प्रधानसेनापति क्षेत्रीलाई निर्देशन दिएको छन् । कतिपय जर्नेलहरुले अवकासको मुखमा सेनापतिले आर्थिक मामिला र दीर्घकालिन असर गर्ने सरुवा–बढुवामा निर्णय लिन नहुने धारणा पनि राखेका थिए । तर, उक्त सुझावलाई प्रधानसेनापति क्षेत्रीले वेवास्ता गरेका हुन् ।
“उत्कृष्ठ कार्यसम्पादन गरेका तथा करिअर भएका अफिसरलाई छुटाएर किन जुनियरलाई प्रमोसनका लागि सिफारिस गरियो, यसको चित्तबुझ्दो जवाफ सहित प्रस्ताव संसोधन गरेर पुन पठाउनुस,” रक्षा मन्त्री पोखरेलले प्रधानसेनापति क्षेत्रीलाई दिएको निर्देशन उल्लेख गर्दै स्रोतले भन्यो । सेनापति क्षेत्रीले प्रस्ताव संसोधन नगरे बढुवा प्रक्रिया अघि नबढ्ने मन्त्रालयको चेतावनी छ । उत्कृष्ठ कार्यसम्पादन भएरपनि बढुवामा छुटेपछि केहीले बढुवा समितिले दिएको नम्बर हेर्न माग गर्दै निवेदन दिएका थिए । तर, बढुवा समितिले दिएको नम्बर प्रधानसेनापतिकै आदेशमा हेर्न नमिल्ने भन्दै फिर्ता पठाइएकमे स्रोतले जानकारी दियो । बढुवा समितिले १०० पूर्णाङ्कमा ८० भन्दा बढी अंक दिन सम्वन्धित व्यक्तिले संगठनमा असाधारण योगदान पु¥याएको हुनुपर्ने व्यवस्था छ । तर महासेनानी बढुवा सिफारिसमा प्रधानसेनापति लगायत शक्तिकेन्द्रका् नजिक रहेका अधिकृतलाई ९० अंक सम्म दिइएको छ । सैनिक मुख्यालयले २८ देखि ३५ बेसिकका प्रमुख सेनानीलाई छुटाएर ३६ बेसिकका कनिष्ठलाई बढुवा सिफारिस गरेपछि रक्षामन्त्री पोखरेल असन्तुष्ट बनेका हुन् । यो पटक २०६७ देखि २०६९ को अवधिमा प्रमुख सेनानी बनेका अधिकृत महासेनानीका लागि बढुवामा पर्नुपर्ने थियो । तर नियतबस आफ्ना नजिकका तर कनिष्ठलाई समेट्नका लागि सेनापति क्षेत्रीले २०७० मा प्रमुख सेनानी भएकालाई बढुवा सिफारिस गरेका छन् । अधिकृतहरुको बढुवा गर्दा १ः३ अनुपातमा अधिकृतहरुबीच कार्यसम्पादन मुल्यांकन गर्नुपर्नेमा यसअघि ८५ जना बढुवा गर्दा ११५ जनाबीच मात्रै कार्यसम्पादन मूल्यांकन भिडाएका क्षेत्रीले महासेनानी बढुवामा भने नियमावलीको प्रावधान भन्दै ४० जनाको बढुवामा जुनियरलाई समेटेर १२० जनाबीच प्रतिस्पर्धा गराएका थिए । प्रधानसेनापतिको यो दोहोरो व्यवहार र विवादास्पद सिफारिस प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पनि पुगेको छ । प्रधानमन्त्री ओली र रक्षामनत्री पोखरेलले यस्तो विवादास्पद सिफारिस मन्त्रीपरिषदबाट पास हुन नदिने मनस्थितिमा पुगेको मन्त्रालय स्रोतले जानकारी दियो । प्रधानसेनापति क्षेत्रीमाथी ७ वर्ष कनिष्ठ प्रमुख सेनानीत्रय ३६ वेसिकका माधव थापा, पवन खत्री, द्रब्यराम भण्डारी लगायतलाई बढुवा गर्नकै लागि वरिष्ठ र उत्कृष्ठ कार्यसम्पादन गर्ने प्रमुख सेनानीहरुलाई छुटाएको आरोप लागेको छ । बढुवा सिफारिसमा परेका भण्डारी राजदल गणका गणपति हुन् । उनी प्रधानसेनापति क्षेत्रीका विश्वासपात्र मानिन्छन् । त्यस्तै पवन खत्री तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालका एडीसी हुन् । दाहालकै सिफारिसमा उनले १ वर्षमा २ पटक तक्मा समेत पाएका थिए । बढुवा सिफारिसमा परेका माधव थापा वलाधिकृत रथी पूर्णचन्द्र थापाका एडीसी हुन् । थापाले भदौ २४ गतेबाटै प्रधानसेनापतिको कार्यभार सम्हाल्दै छन् ।
त्यसो त प्रधानसेनापति क्षेत्रीले गरेको निर्णय यो मात्रै विवादमा आएको होइन । सम्भार रथी विभागका प्रमुख दीपक भारतीको एक वर्ष अवधि बढाउन क्षेत्रीले नै रक्षा मन्त्रालय समक्ष सिफारिस गरेका थिए । उनको नागरिकता र अन्य कागजातमा उमेर विवाद देखिएपछि क्षेत्रीको प्रस्ताव उल्टाउँदै जेठ २१ गते भारतीलाई रक्षाले अवकास दिएको थियो । २१ गतेको अवकास रोक्न प्रधानसेनापति क्षेत्रीले निकै ठूलो लविङ गरेका थिए । भारतीको शैक्षिक प्रमाणपत्रमा २०१९ जेठ र नागरिकतामा २०१८ जेठ गरी वटा जन्ममिति देखिएपछि विवादमा तानिएका थिए । उपरथी भारती बाहेक अन्य २ सहायक रथीको सेवा अवधि बढाउन क्षेत्रीले गरेको प्रस्ताव पनि रक्षाले उल्ट्याइसकेको छ । सहायकरथीद्धय सूर्य खनाल र प्रेम शाहीले पनि जन्ममिति सच्याएर सेवा बढाउन खोजेका थिए । रक्षा मन्त्रालयका अनुसार दुवै सहायकरथीको जन्ममिति शैक्षिक प्रमाणपत्र र नागरिकतामा भिन्नाभिन्नै देखिएपछि रक्षा मन्त्रालयले जुन पहिले कायम हो, त्यसैका आधारमा अवकास दिने निर्णय गरेको हो । यी तीनैजना जर्नेललाई प्रधानसेनापति क्षेत्रीले कार्यकाल बढाउन लविङ गरेका थिए ।