ग्यालेक्सी दक्षिण कोरियाकै मूल्यवान् ब्रान्ड

सामसङ इलेक्ट्रोनिक्सको ग्यालेक्सी स्मार्टफोन यो वर्षको लगातार सातौं महिनामा पनि दक्षिण कोरियाकै सर्वाधिक मूल्यवान् ब्रान्ड भएको हालै प्रकाशित औद्योगिक प्रतिवेदनले जनाएको छ ।
औद्योगिक ट्र्याकर ब्रान्ड स्टकले देशका प्रमुख ब्रान्डहरूमा सञ्चालन गरेको अनुसन्धानले सामसङले सर्वाधिक अंक पाएको जनाएको छ । यो सूचीमा सामसङ २०११ देखि लगातार पहिलो स्थानमा कायम भएको हो ।
ग्यालेक्सी नोट सेभेन स्मार्टफोनको उत्पादन र बिक्री त्रुटिपूर्ण ब्याट्रीका कारण रद्द भएको अवस्थामा पनि सामसङ ग्यालेक्सीको भूमिका राम्रो भएको छ ।
आगामी वर्ष ग्यालेक्सी एस–९ स्मार्टफोन आउने अपेक्षाबीच पनि सामसङको साखमा वृद्धि भएको हो ।
दोस्रो स्थानमा ई–मार्ट रहेको छ । यसपछिको स्थानमा नाभेर रहेको छ । देशकै सर्वाधिक उपभोग भएको तयारी चाउचाउ सिन राम्युन आठौं स्थानमा कायम भएको छ । अमेरिकी प्रविधि कम्पनी गुगल १० औं स्थानमा कायम भएको छ । यो बजार मूल्यको आधारमा हो ।
दक्षिण कोरियामा सर्वाधिक प्रयोग गरिएको मोबाइल मेसेन्जर एप काकाओ टक केबी कुकमिन बैंक र इन्चिओन विमानस्थल सबै शीर्ष १० को सूचीमा परेका छन् ।
चिनियाँ बजारमा व्यापक रूपमा निर्भर रहँदै आएका अन्य ब्रान्डहरूको स्थान भने ओरालो लागेको छ । सोल र बेइजिङबीच थाडको विषयलाई लिएर चलेको विवादका कारण चिनियाँ बजारमा निर्भर रहँदै आएका ब्रान्डको सूची भने ओरालो लागेको हो ।
दक्षिण कोरियाले अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली आफ्नो भूमिमा परिचालन गरेपछि चीनले सुरुमा स्थानीय फर्महरूविरुद्ध आर्थिक प्रतिशोध लिएको थियो । यो क्षेप्यास्त्र प्रणालीलाई बेइजिङले सम्भावित त्रासका रूपमा हेर्दैै आएको थियो । चीनले पछिल्लो समयमा आएर दक्षिण कारियाप्रतिको प्रतिशोधमा आंशिक रूपमा कम गरेको छ ।
प्रमुख टुर एजेन्सी ब्रान्ड हानाटुर चार स्थान ओरालो झरेर २४ औं स्थानमा कायम भएको छ । यसैगरी कस्मेटिक ब्रान्ड सुल्हासो पनि ४ स्थान ओरालो झरेर २८ औं स्थानमा कायम भएको छ ।
चीनमा हुने बिक्री ओरालो लागेको समस्या भोगिरहेको हुन्डाई मोटर पनि १५ स्थान ओरालो झरेर ६२ औं स्थानमा कायम भएको छ ।