प्रदेश–७ मा २६ अर्बको बजेट ल्याउने तयारी

प्रदेश नं. ७ का आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराले प्रदेश सरकारले २६ अर्ब रुपैयाँसम्मको बजेट ल्याउने तयारी गरिरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी)को सहकार्यमा धनगढीमा गरिएको तालिमको उद्घाटन गर्दै मन्त्री बोहराले संघीय सरकारले उपलब्ध गराएको २१ अर्ब बराबरको अनुदान र प्रदेश सरकारले विभिन्न वित्तीय क्षेत्रबाट उठाउने गरी २६ अर्बको बजेट ल्याउने तयारी भइरहेको बताएका हुन् । मन्त्री बोहराले पूर्वाधार, जलविद्युत्, उद्योग, कृषिलगायतलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिने बताए । उनले लगानी आकर्षित गर्न कर छुट दिन लागिएको जानकारीसमेत दिए । “करले भन्दा पनि रहरले कर तिर्ने वातावरण सिर्जना गरिनेछ,” उनले भने, “करको दर नभई दायरा बढाउने प्रयास भइरहेको र नयाँ क्षेत्रको पहिचान गर्ने छौं ।” उनले विकास र समृद्धिको आधार वर्षको रुपमा आगामी बजेट ल्याउने स्पष्ट पारे । संघीयता कार्यान्वयनको चरणमा बजेट आउन थालेको भन्दै उनले विकास र समृद्धिको आधार वर्षको रुपमा बजेटको कार्यन्वयन हुने दाबी गरे ।