मकवानपुरमा लागूऔषध कारोबार मौलायो «

मकवानपुरमा लागूऔषध कारोबार मौलायो

पछिल्लो समय मकवानपुरमा दिनहुँजसो अवैध लागूऔषधसहित कारोबारी र भरिया पक्राउ पर्ने क्रम बढेको छ । यससँगै मकवानपुरको विकट भेगमा हुने गरेको गाँजा खेतीलाई निमिट्यान्न पार्ने सरकारी प्रतिवद्धतालाई झनै चुनौती थपिएको छ ।
प्रहरीले पछिल्लो ११ महिनाको अवधिमा बरामद गरिएको लागूऔषध र पक्राउ परेकाको तथ्याङ्कलाई केलाउँदा यसको पुष्टि हुने देखिन्छ । चालू आर्थिक वर्ष २०७४/७५ को साउन महिनादेखि ०७५ जेठ २८ गते सोमबारसम्मको तथ्याङ्कमा मकवानपुरबाट लागूऔषधसहित २ सय १६ जना पक्राउ परेका छन् ।
यो अवधिमा एक सय ३९ वटा मुद्दा दर्ता भएका छन् । मुद्दा दर्ता परेकामध्ये एक सय १३ जना पुर्पक्षका लागि थुनामा छन् भने ७७ जना धरौटीमा छुटेका छन् । २६ जना भने प्रहरीको हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक दिलिपराज झाले जानकारी दिए ।
यसअवधिमा प्रहरीले मकवानपुरबाट ९ सय ९० किलो गाँजा बरामद गरेको जनाएको छ । प्रहरीले करिब ५४ किलो चरेश पनि बरामद गरेको तथ्याङ्कमा उल्लेख छ । यसबाहेक प्रहरीले हेरोइन तथा कोकिन पनि बरामद गर्ने गरेको छ । ११ ग्राम हेरोइन र एक किलो २४ ग्राम अफिम पनि बरामद भएको प्रहरी नायब उपरीक्षक झाले बताए ।
यसबाहेक प्रहरीले नोर्फिन, डाइजेपाम, कोरेक्स, ब्यूप्रोनोर्फिम, फेनारगन जस्ता प्रतिबन्धित लागूऔषधसमेत बरामद गर्ने गरेको छ । बितेको ११ महिनाको अवधिमा प्रहरीले दुई हजार ९ सय २० ट्याब्लेट नाइट्रोभेट एक हजार ३ सय ३१ ट्याब्लेट डाइजेपाम, एक हजार २ सय ७४ ट्याब्लेट ब्यूप्रोनार्फिम, एक हजार ३ सय ५७ ट्याब्लेट फेनारगन र ५७ ट्याब्लेट नार्फिन बरामद गरिएको बताइएको छ । एकसय ४२ बोतल कोरेक्स पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
जेठ महिनाको २८ गतेसम्ममा अन्य महिनाको तुलनामा सबैभन्दा धेरै गाँजा बरामद भएको छ । यस महिना गाँजालगायत अन्य लागूऔषधसहित १७ जना पक्राउ परिसकेका छन् । २८ दिनको अवधिमा प्रहरीले दुई क्विन्टल ११ किलो गाँजा बरामद भएको प्रहरी नायब उपरीक्षक झाले बताए । यस महिनामा १३ वटा लागूऔषध सम्बन्धी मुद्दासमेत दर्ता भइसकेको छ ।
प्रहरीले लागूऔषधविरुद्ध विशेष अभियान नै चलाइरहेको छ । तर, पनि लागूऔषधसहित कारोबारी र प्रयोगकर्ताको संख्यामा भने कमी हुन सकेको छैन । मकवानपुरको विकट भेग राक्सिराङ गाउँपालिकामा अत्यधिक गाँजा खेती हुने गरेको छ । सो क्षेत्रमा प्रहरीले वर्षेनी सयौं बिगाहा गाँजा खेती र ब्याडसमेत नष्ट गर्ने गर्दछ । तर, खेती गर्नेको कमी हुन सकेको छैन ।
“हामीले बरामद गर्ने गरेको गाँजा अधिकांश राक्सिराङ क्षेत्रकै हुने गरेको छ, त्यसबाहेक धादिङ र चितवनबाट पनि केही गाँजा र चरेश मकवानपुर हुँदै भारत तथा अन्य जिल्ला लैजाने प्रयास गरिन्छ,” मकवानपुरका प्रहरी नायब उपरीक्षक दिलिपराज झाले भने । बरामद गरिएका ८० प्रतिशत गाँजा मकवानपुरको राक्सिराङबाट आउने गरेको उनको भनाइ छ ।
प्रहरीले चालू आर्थिक वर्षमा सो क्षेत्रको ३ सय ९४ बिगाहा क्षेत्रमा लगाइएको गाँजाको ब्याड र बोट नष्ट गरेको थियो । ५५ बिगाहा क्षेत्रमा लगाइएको अफिम खेती नष्ट गरे पनि प्रहरी पनि पुग्न नसकेको क्षेत्रमा सयौं बिगाहामा गाँजा खेती भइरहेको छ । यातायात र अन्य पूर्वाधारको विकास हुन नसकेको राक्सिराङ गाउँपालिकाका विकट भेगका किसानहरू गाँजा खेतीलाई नै आफ्नो प्रमुख आम्दानीको स्रोत बनाउने गरेका छन् । गाँजाको विकल्प दिन त्यस क्षेत्रका किसानलाई तरकारी तथा अन्य खेतीमा आकर्षित गर्ने भन्दै सरकारी निकायबाट केही वर्षअघिदेखि पहल भए पनि त्यसले सार्थकता पाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्