दक्षिण कोरियाको प्रतिव्यक्ति आय ३० हजार डलर

आगामी वर्ष ३ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेसँगै दक्षिण कोरियाको प्रतिव्यक्ति आय ३० हजार डलर पुग्ने भएको छ । विश्वव्यापी अर्थतन्त्रमा देखिएको सबल अवस्थाका कारण दक्षिण कोरियाली अर्थतन्त्र उकालो लाग्न लागेको हो ।
आईएमएफ, ओईसीडी, कोरिया इन्स्टिच्युट फर इन्डस्ट्रियल इकोनोमिक्स एन्ड ट्रेड (किट) र कोरिया क्यापिटल मार्केट इन्स्टिच्युट सबैले एसियाकै चौथो ठूलो अर्थतन्त्र नयाँ वर्षमा ३ प्रतिशतले वृद्धि हुने जनाएका छन् । यस वर्ष पनि कोरियाली अर्थतन्त्र समान तहमा वृद्धि भएको छ ।
आईएमएफ, ओईसीडी र किटका साथै बैंक अफ कोरिया सबैले कोरियाको अर्थतन्त्र अघिल्लो वर्ष भनेझै आगामी वर्ष पनि समान तहमा वृद्धि हुने जनाएका हुन् । दक्षिण कोरियाको वृद्धिदर आगामी वर्ष वृद्धि सम्भावनाकै मुताविक हुने देखिएपछि बीओकेका गभर्नर ली जु इयोलले गत साता यस्तो बताएका हुन् । यसमा विश्वव्यापी आर्थिक सुधारको प्रवृत्तिको महत्वपूर्ण भूमिका रहेको छ ।
तेस्रो त्रैमासिक अवधिमा देशको कुल गार्हस्थ्य उत्पादनमा १.५ प्रतिशतको वृद्धि भएको थियो । वृद्धि अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा ऋणात्मक अवस्थातर्फ नगएको अवस्थामा ३ प्रतिशतको वृद्धि सुनिश्चित मानिएको छ ।
आईएमएफ र ओईसीडी दुवैले विश्वव्यापी वृद्धि नयाँ वर्षमा ३.७ प्रतिशत हुने बताएका छन् । यो २०१७ को तुलनामा ०.१ प्रतिशत बढी हो ।
यो निर्यातमुखी अर्थतन्त्र भएको मुलुक दक्षिण कोरियाका लागि लाभदायक मानिएको छ ।
यसका अतिरिक्त कतिपय अर्थशास्त्रीले आगामी वर्ष निजी खर्च बढ्न सक्ने बताएका छन् । यसले वृद्धिलाई दिगो वृद्धितर्फ लैजानेछ ।
यस किसिमको आशातीत अपेक्षाका बाबजुद कमजोर सुविधा र निर्माण क्षेत्रको लगानीका कारण जीडीपीमा विशेष प्रभाव पार्न सकिने अनुमान गरिएको छ ।