शोधनान्तरको कहालीलाग्दो संकेत «

शोधनान्तरको कहालीलाग्दो संकेत

मुलुकले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा अघि सारिरहँदा देशको शोधनान्तर स्थिति भने कहालीलाग्दो देखिएको छ । चालू आर्थिक वर्षको १० महिनामा शोधनान्तर घाटा १८ अर्ब ९३ करोड रुपैयाँ पुगेको तथ्यांक सार्वजनिक भएको छ । सामान्य अर्थमा देशबाट बाहिरिने र भित्रिने वस्तु तथा सेवाका आधारमा प्राप्त हुने वैदेशिक मुद्राको परिमाणले नै शोधनान्तर स्थिति झल्काउँछ । नेपालबाट निकासी व्यापार, पर्यटन, रेमिट्यान्स तथा वैदेशिक लगानीसमेतबाट आम्दानी हुने विदेशी मुद्राको तुलनामा नेपालले वस्तु तथा सेवा खरिदका लागि भुक्तानी गर्ने मुद्राको परिमाण उच्च हुनु नै शोधनान्तर स्थिति प्रतिकुल हुनु हो । यसैले हालैका वर्षमा अर्थतन्त्रका जतिसुकै सुन्दर भविष्यका परिकल्पना गरिए पनि त्यसको कार्यान्वयन निकै चुनौतिपूर्ण रहेको यो तथ्यांकले देखाउँछ ।
नेपाल सम्भावनै सम्भावनाको देश भनिन्छ । कृषि, जलस्रोत, पर्यटन, खानीलगायतका क्षेत्रबाट नेपालले असाधारण रूपमा आफ्नो आर्थिक अवस्था बलियो बनाउन सक्छ भन्ने भनाइसँग असहमत हुने ठाउँ पनि छैन । तर, नेपालमा लगानीयोग्य पुँजी (प्रविधि र मानव संशाधनसमेत)को अभावमा देश अझै पनि परनिर्भर रहेको तथ्य यहाँनेर स्मरणीय छ । यहाँको तुलनात्मक लाभको जतिसुकै पहिचान गरिए पनि र प्रतिस्पर्धी क्षमता बढाउन जतिसुकै बाह्य सहयोग लिइए पन बर्सेनि उही अवस्था दोहोरिइरहनु हाम्रो नीतिगत असफलताकै द्योतक हो भन्न लजाउनुपर्ने अवस्था छैन । त्यसैले पनि नेपाल राष्ट्र बैंकको यो तथ्यांकसँगै मुलुकको समृद्धिका लागि सरकारी नाराहरू कार्यान्वयनका लागि निकै ठूलो चुनौती रहेको देखिन्छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार नै पनि औद्योगिक क्षेत्रको क्षमता उपयोग बढेको छ र रेमिट्यान्स ७ प्रतिशतले बढेर ६ खर्ब नाघेको छ । तर, अर्थतन्त्रको आकार जुन अनुपातमा बढेको छ, त्यसको तुलनामा यी दुवै सूचकांकहरुको उपलब्धि नगण्य छ । ३० खर्ब नाघेको अर्थतन्त्रमा बाह्य मुलुकबाट ९ खर्ब ८५ अर्बको आयात र ६६ अर्ब ६५ करोडको निर्यात आफैंमा टीठलाग्दो अवस्था हो । गत आवको १० महिनामा ५३ अर्ब ८१ करोडले बचतमा रहेको शोधनान्तर चालू आवमा यसरी झन्डै १९ अर्बले घाटामा रहनु पक्कै पनि खतराको घन्टी हो । शोधनान्तर तलमाथि भइरहनु सामान्य भए पनि पछिल्ला महिनाहरूमा लगातार घाटामा जानुलाई भने सामान्य मान्न सकिँदैन र यसको समाधनका लागि समय छँदैमा कम्मर कसेर लाग्नुपर्छ । शोधनान्तर स्थिति सुधार्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को शरण पर्नुपर्ने अवस्था आउनुअघि नै नेपाली अर्थतन्त्रमा संरचनागत सुधार गर्नु जरुरी छ ।
अर्थतन्त्रका सूचकांकहरूमा सकारात्मक पक्ष नभएका होइनन् । वैदेशिक लगानी ४ अर्बले बढेर १५ अर्ब ५१ करोड पुगेको तथा लोडसेडिङको अन्त्य तथा रोजगारदाता–श्रमिकबीचको सम्बन्ध सुधारपछि औद्योगिक क्षेत्रको क्षमता उपयोग बढेको अवस्थालाई उत्साहजनक रूपमा लिनुपर्छ । अ‍ैद्योगिक क्षेत्रको क्षमता उपयोग गत वर्षको पुस मसान्तसम्मको ५४.२ प्रतिशतको तुलनामा बढेर ५८ प्रतिशत पुगेको छ भने विप्रेषण आप्रवाह ७ प्रतिशतले वृद्धि भई ६ खर्ब ६ अर्ब ६८ करोड पुगेको छ । तर, मूल विषय भने नेपालको निकासी व्यापार बढाउन पहिले आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन तथा तुलनात्मक लाभका वस्तुहरुलाई प्राथमिकता नदिई हुँदैन । समृद्ध नेपाल, सुखी नेपालीको नारा सार्थक बनाउन सरकारले निजी क्षेत्रलाई साथमा लिएर उत्पादन बढाउनेतर्फ बेलैमा ध्यान दिनु अत्यावश्यक छ ।

प्रतिक्रिया दिनुहोस्