गुण्डा नाइके घैंटेको सम्पत्ति विवादमा गौचन हत्या «

गुण्डा नाइके घैंटेको सम्पत्ति विवादमा गौचन हत्या

नेपाल निर्माण व्यवसायी महसंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको मुख्य कारण प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार घैंटे (कुमार श्रेष्ठ)को सम्पत्ति विवाद देखिएको छ । शनिबार पक्राउ परेका गौचन हत्याका मुख्य योजनाकार समीरमानसिंह बस्नेतले प्रहरीलाई दिएको बयानअनुसार घैंटेले इन्काउन्टर हुनु केही महिनाअघि नै आफ्नो मुख्य लगानी रहेको गजुरमुखी कन्स्ट्रक्सन २ करोड ५० लाख रुपैयाँ लिएर गौचनलाई बिक्री गरेका थिए । गौचनबाट घैंटेले लिएको उक्त रकममध्ये १ करोड आफ्नो भएको दाबी बस्नेतले गरेका छन् ।
०७२ भदौ ३ गते महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी इन्काउन्टरमा घैंटे मारिएका थिए । त्यसपछि बस्नेत र गौचनबीच घैंटेको सम्पत्ति हात पार्ने विषयमा बारम्बार विवाद हुने गरेको अनुसन्धानबाट खुलेको छ ।
त्यसक्रममा बस्नेतले गौचनबाट पैसा नपाएपछि डाँफे कन्स्ट्रक्सनको सेयर वा रकममध्ये कुनै एक दिन माग गर्दा नमानेको र पछि हत्या गरिएको बस्नेतले प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।
बस्नेत गौचन हत्यासहित ०७३ पुस ४ गते एमाले निकट युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी हत्या र ०७३ चैत २९ गते गौरीघाटस्थित दिव्या पार्टी प्यालेसमा अर्का गुण्डा नाइके दावा लामामाथि गोली प्रहार घटनामा संलग्न मुख्य योजनाकार समेत हुन् ।
“गजुरमुखी कन्स्ट्रक्सन खरिद गरेपछि गौचनले डाँफे कन्स्ट्रक्सनमा १ करोडको सेयरसहित आफूलाई साझेदारी बनाउने बनाउने सहमति भएको थियो,” नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोसमक्ष बस्नेतले दिएको प्रारम्भीक बयानमा भनिएको छ, “डाँफे कन्स्ट्रक्सन मार्फत अर्बौंको कारोबार हुँदा पनि पूर्वसहमति अनुसार रकम वा सेयर नदिएपछि मेरै योजनामा उनको हत्या भएको हो ।” बस्नेतले गौचनसँग वीरगञ्जदेखि विराटनगर जोड्ने हुलाकी राजमार्गको ठेक्का कमिसनबापत २ प्रतिशत रकमसमेत मागेका थिए । त्यो रकम पनि गौचनले नदिएपछि बस्नेतसहितको गुण्डा समूहले हत्याको योजना बनाएको खुलेको छ ।
डाँफे कन्स्ट्रक्सनका प्रमुख रहेका महासंघ अध्यक्ष गौचनको असोज २३ गते नयाँबानेश्वर ओमशान्ति चोकबाट खरिबोटतर्फ मोडिने क्रममा २ जना अपरिचित व्यक्तिले गोली हानी हत्या गरेको थियो । हत्यापछि सरकारले गौचनलाई सहिद घोषणा गरिसकेको छ ।
हत्याको महिनादिनपछि प्रहरीले कात्तिक २८ गते पञ्चकन्या गाउँपालिका–५ नुवाकोटका २१ वर्षीय राजिव स्याङतान (तामाङ), कालिकामाई गाउँपालिका–१ पर्साका ३५ वर्षीय शिवजी महतो, वेतिया ग्रामपञ्चायत विहार (भारत)का २४ वर्षीय मुकेशकुमार पाण्डे, ठोरी गाउँपालिका–५ पर्साका १८ वर्षीय सन्तोष गुरुङ र नागार्जुन नगरपालिका–४ काठमाडौंका २२ वर्षीय प्रकाश बुढाथोकीलाई सार्वजनिक गरेको थियो ।
“गौचन हत्याको मुख्य कारण प्रहरीसँगको मुठभेडमा मारिएका कुमार श्रेष्ठ (घैंटे)को सम्पत्ति नै रहेको देखिन्छ,” नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवी) प्रमुख पुष्कर कार्की भन्छन्, “साझेदारीमा सञ्चालन गरिएको भनिएको गजुरमुखी कन्स्ट्रक्सन खरिद गर्दाको विवाद उत्कर्षमा पुग्दै हत्याको रूप लिएको स्पष्ट हुन्छ ।” हत्यामा संलग्न मनोज पुन, लोप्साङ लामा, गंगाप्रसाद लिङदेन, श्याम गोम्बे गुरुङ, अमरबहादुर रानामगर, रोशन बुढाथोकी र अजय थापा अझै फरार छन् ।
गुण्डाहरूलाई राजनीतिक संरक्षण हुँदा समेत अपराधले प्रश्रय पाएको व्यूरो प्रमुख कार्कीले टिप्पणी गरे । “प्राकृतिक स्रोतसाधन र राज्यको लगानीमा सञ्चालित ठेक्कापट्टामा गुण्डाराज मौलाएको र त्यसलाई शक्तिकेन्द्रले संरक्षण दिँदा हत्या, अपहरण तथा फिरौती असुल, गैरकानुनी हतियारको प्रयोग जस्ता संगठिीत अपराधले प्रश्रय पाउने गरेको छ,” डीआईजी कार्कीले भने, “गुण्डाले यस्ता अपराधमा नेता, प्रहरी, अदालत, कर्मचारी, राजनीतिक दल, सञ्चारमाध्यमलगायतको पहुँच र प्रभाव विस्तार गरेर आफूलाई शक्तिसम्पन्न देखाउने गरेको पाइन्छ ।” कुनै पनि शक्तिकेन्द्रको संरक्षण नभए गुण्डाराज तह लगाउन प्रहरीलाई समस्या नभएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्