मुलुकभरका विमानस्थलको आम्दानी साढे ७ अर्ब

मुलुकभरका विमानस्थलले ७ अर्ब ४० करोड ४७ लाख ८ हजार २ सय ९२ रुपैयाँ आम्दानी गरेका छन् । देशका ५६ विमानस्थलमध्ये ३२ वटा विमानस्थलमा मात्रै उडान तथा अवतरण हुने गरेका छन् । जसमध्ये आधा दर्जन विमानस्थलमात्र नाफामा सञ्चालन हुने रहेका छन् । बाँकी सबै विमानस्थलको खर्च केन्द्रबाट पठाउने बजेटबाट धानिने गरेको छ ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार आम्दानीको सबैभन्दा ठूलो हिस्सा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मात्रै ६ अर्ब ६२ करोड ७७ लाख ४ हजार ४ सय ३० रुपैयाँ आम्दानी छ । अन्य ३० विमानस्थलको आम्दानी ४१ करोड २७ लाख ७३ हजार ८ सय ६२ रुपैयाँ मात्रै आम्दानी हो ।
त्रिभुवन विमानस्थलपछि धेरै आम्दानी गर्ने विमानस्थल पोखरा विमानस्थल रहेको छ । उक्त विमानस्थलले गत आर्थिक वर्षमा ६ करोड ३९ लाख १९ हजार ५ सय ७ रुपैयाँ आम्दानी गरेको छ । यस्तै, तेस्रो आम्दानी गर्नेमा विराटनगर विमानस्थल रहेको छ । विराटनगर विमानस्थलले ५ करोड ६४ लाख ७७ हजार ७ सय ९७ रुपैयाँ आम्दानी गरेको छ । चौथोमा, रहेको नेपालगन्जले ४ करोड ५६ लाख ९६ हजार २ सय ३९ रुपैयाँ आम्दानी गरेको छ । पाँचौ स्थानमा रहेको भैरहवाको गौतम बुद्ध विमानस्थलले ३ करोड ७३ लाख ५१ हजार ७ सय ६ रुपैयाँ आम्दानी गरेको छ । छैटौंमा रहेको भरतपुर विमानस्थलले २ करोड ३८ लाख १४ हजार ८८ रुपैयाँ आम्दानी गरेको छ । मुग्लिन–नारायणगढ सडक खन्ड बिग्रिएपछि उडानमा उच्च चाप भरतपुरमा परेको छ । झापाको चन्द्रगढी विमानस्थलले २ करोड १९ लाख ६० हजार ४ सय ३ रुपैयाँ आम्दानी गरेको छ भने सोलखुम्बुको तेन्जिङ–हिलारी विमानस्थलले १ करोड ८६ लाख ९८ हजार ५ सय ७६ रुपैयाँ आम्दानी गरेको छ । आम्दानीका आधारमा नवौं स्थानमा रहेको धनगढी विमानस्थलले १ करोड २१ लाख ११ हजार १२ रुपैयाँ आम्दानी गरेको छ भने दशौंमा रहेको हुम्लाको सिमकोट विमानस्थलले १ करोड १० लाख ५४ हजार १ सय १४ रुपैयाँ आम्दानी गरेको छ ।
वर्षभरीमा विमानस्थलको आम्दानी १४ हजार रुपैयाँ
सवैभन्दा थोरै आम्दानी गर्ने विमानस्थल भने खोटाङको थामखर्क विमानस्थल छ । यसले गत आर्थिक वर्षमा १४ हजार ३ सय ४६ रुपैयाँ आम्दानी गरेको छ भने चितवनको मेघौली विमानस्थलले २१ हजार ९ सय ७७ रुपैयाँ आम्दानी गरेको छ । यस्तै, वार्षिक एक लाख पनि आम्दानी नगर्ने दर्जनभन्दा बढी विमानस्थल छन् ।