सानिमालाई माथिल्लो तमोर आयोजनाको अनुमति

निजी क्षेत्रको सानिमा हाइड्रो समूहले २८५ मेगावाटको माथिल्लो तमोर जलविद्युत् आयोजनाको उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाएको छ ।
ताप्लेजुङमा निर्माण हुन लागेको माथिल्लो तमोरको उत्पादन अनुमतिपत्रका लागि सानिमा समूहले आवेदन दिएकोमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायको सचिवस्तरीय निर्णयपछि लाइसेन्स पाएको हो । निजी क्षेत्रले उत्पादन अनुमतिपत्र पाएको यो दोस्रो ठूलो र नेपाल विद्युत् प्राधिकरणसँग भएको कनेक्सन एग्रिमेन्ट गर्ने यो सबैभन्दा ठूलो आयोजना हो । ४ सय मेगावाटको कालिगण्डकी कोभानले उत्पादन अनुमतिपत्र पाएपछि विद्युत् प्राधिकरणसँग भने १६३ मेगावाटको मात्र कनेक्सन एग्रिमेन्ट छ भने बाँकी विद्युत् भारतमा बेच्ने लक्ष्य छ ।
उत्पादन अनुमतिपत्र दिन स्वीकृति गरेको र कम्पनीले अहिले नेपाल विद्युत् प्राधिकरणमा विद्युत् खरिद सम्झौता (पीपीए) गर्न आवेदन दिएकाले सो प्रक्रिया अघि बढ्ने सानिमामाई हाइड्रो कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवर्णदास श्रेष्ठले जानकारी दिए । आयोजनाको लागत करिब ५५० मिलियन डलर रहेको आयोजनाले जनाएको छ । सानिमा समूहले ७३ मेगावाटको मिडिल तमोर, २८.१ मेगावाटको लोअर लिखु र १४.३ मेगावाटको माथिल्लो मैलुङसमेत निर्माण गरिरहेको छ ।