गिट्टीले धानेको जीवन «

गिट्टीले धानेको जीवन

‘इच्छा शक्ति भए कामका लागि भौतारिनु पर्दैन’ भन्ने उदाहरण दिएका छन् डडेल्धुरा र डोटीका गिट्टी कुटेर जीविकोपार्जन गर्ने व्यवसायी । डडेल्धुराको स्याउलेदेखि डोटीसम्मको केआई सिंह राजमार्गको छेउछाउ आइत र कोटेलीका महिला गिट्टी बिक्री गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् ।
यो पेसाबाट राम्रो आम्दानी हुन थालेपछि यिनीहरूले आफ्नो मुख्य पेसा नै गिट्टी कुट्ने बनाएका छन् । यहाँका बालबालिकादेखि वृद्धवृद्धा पनि गिट्टी कुट्ने काममा व्यस्त रहने गरेका छन् । केआई सिंह राजमार्ग छेउछाउमा खोला नाला भएकाले यो पेसा गर्नेका लागि झनै सजिलो भएको छ । गिट्टी कुट्ने काम सहजै रूपमा गर्न सकिने भएकाले पुरुष घरको अन्य काम गर्ने र बढी जसो महिला, बालबालिका र वृद्धवृद्धा यो पेशामा संलग्न हुने गरेका छन् ।
खेतबारी भएका खेतबारीको काम सकेपछि गिट्टी कुट्ने काम गर्दछन् भने नभएकाले गिट्टी कुटेर नै जीविकोपार्जन गर्ने गरेका छन् । गिट्टी बिक्रीबाट वार्षिक ५० हजारदेखि १ लाखसम्म आम्दानी गर्न सफल भएका छन् । वर्षौंदेखि गिट्टी कुटेर नै आफ्नो घरपरिवारको खर्च चलाउनुका साथै केही रकमसमेत बचत गर्न सफल भएका छन् ।
सुदूरपश्चिमका पहाडी जिल्लामा क्रसर उद्योग नभएका कारण घर निर्माणदेखि अन्य विकास निर्माणका कामका लागि यिनीहरूले नै गिट्टीको आपूर्ति गर्ने गरेका छन् । ट्रकको क्षमता अनुसार २ हजारदेखि पाँच हजारसम्ममा बिक्री गर्ने गरेका छन् ।
कामको समयमा खेती गर्ने र फुर्सदिलो समयमा गिट्टी कुटेर पनि घर खर्च गर्न सकिने बताउँछन् । भारत जानुभन्दा आफ्नै देशमा बसेर पनि लाखौ रुपैंयाँ अम्दानी गर्न सकिन्छ भन्ने यिनीहरूले उदाहरण दिएका छन् । नेपाल सरकारले व्यवस्थित नगरेका कारण आफूहरू ठगिने गरेको दुःख व्यक्त गरेका छन् ।
केआई सिंह राजमार्गमात्रै नभई सुदूरपश्चिमका अन्य पहाडी जिल्लाका प्रमुख राजमार्ग छेउछाउमा पनि गिट्टी कुट्ने व्यवसायी छन् । यहाँका गिट्टी व्यवसायीलाई व्यवस्थित गर्न सके एकातर्फ राज्यको आम्दानी बढ्न सक्थ्योे भने अर्कोतर्फ व्यवसायीलाई पनि व्यवसाय गर्न सहज हुने थियो ।
हरिश चन्द

प्रतिक्रिया दिनुहोस्