पर्यटनमा सरकारको महत्वाकांक्षी लक्ष्य «

पर्यटनमा सरकारको महत्वाकांक्षी लक्ष्य

नेपालले आफ्नो भूमि विदेशीका लागि खुला गरेको ६ दशकपछि अझैसम्म देशका नीतिनिर्माताहरू देशमा पर्यटकको संख्या कसरी बढाउने र कसरी पर्यटन क्षेत्रबाट हुने आय बढाउने भन्ने आधारभूत कुरामै अल्झिरहनु देशका लागि दुर्भाग्यकै विषय बनेको छ । जबकि नेपालभन्दा धेरै पछि गएर पर्यटनमा हात हालेका र यहाँभन्दा कम मात्र पर्यटकीय उत्पादन भएका देशहरूले समेत अहिले लाखौं पर्यटक भित्र्याएर करोडौं अमेरिकी डलरबराबरका आम्दानी गरिरहेका छन् । नेपालले सम्भाव्यता भएर पनि पर्यटन उद्योगलाई उपयोग गर्न नजानेकै हो, नसकेकै हो । यसमा सरकार र निजी क्षेत्र दुवैको कमजोरी छ । सरकार पर्यटन क्षेत्र आफै विकसित भएको हो, स्वस्फूर्त रूपमा पर्यटक आइहाल्छन् नि भनेर भगवान् भरोसे ढंगमा बस्ने अनि निजी क्षेत्रले भारततिर घुम्न आएका पर्यटकलाई यता प्याकेजमा ल्याउन सकिहालिन्छ, अरू नै गन्तव्यमा खर्च सकेर आइपुगेका भए पनि संख्यात्मक रूपमा धेरै देखाउन सकिहालिन्छ, बाँकी प्रचारप्रसारको काम त सरकारको हो भनेर पन्छने प्रवृत्तिले नै यहाँको पर्यटकीय सम्भाव्यताको दोहन हुन नसकेको हो । पर्यटन क्षेत्रको प्रवद्र्धन, बजारीकरण र व्यवस्थापनमा सार्वजनिक–निजी साझेदारी स्थापना गर्ने उद्देश्य राखेर नै २०५४ सालमा नेपाल पर्यटन बोर्डको स्थापना भएको हो । तर, पर्यटन बोर्डले समेत आफ्नो लक्षित भूमिका सही ढंगले निर्वाह गर्न सकेन । अझ बोर्ड पर्यटन प्रवद्र्धनका नाममा सर्वाधिक ठूलो भ्रष्टाचार काण्डमा समेत मुछियो ।
पर्यटन बोर्डको भूमिका अहिले पनि केही देशका ट्राभलमार्टहरूमा कुनातिरको स्टल राखेर दुई–चार थान लिफ्लेट बाँड्नेमै सीमित भएको छ । त्यस्ता टार्भलमार्टहरूमा खर्चिलो सहभागितापछि के–कति उपलब्धि हासिल भयो भन्ने विषयमा अहिलेसम्म ठोस विवरण बोर्डले देखाउन सकेको छैन । नेपाल भ्रमण वर्ष १९९८ पछि बढेका पर्यटकहरूको संख्याका आधारमा हेर्दा यो वृद्धिदर कुनै ठोस पहलबाट हासिल भएको नभई प्राकृतिक वृद्धिजस्तो मात्र देखिन्छ । विश्वव्यापी पर्यटक संख्यामा भइरहेको वृद्धि र एकपटक नेपाल आएर फर्केका पर्यटकले गर्ने मौखिक प्रचारकै भरमा वार्षिक १० लाखको हाराहारीमा पर्यटक भित्रिनु मात्र यहाँका पर्यटनसम्बन्धी निकाय र संस्थाहरूको सफलता होइन, किनकि अहिले पनि प्रतिपर्यटक नेपाल बसाइ अवधि र यहाँ उनीहरूको गर्ने खर्च यस क्षेत्रमै कम छ ।
नेपालको पर्यटन आगमनको स्तर बिस्तारै वृद्धि भइरहेकै समयमा सरकारले तीन वर्षमै दोब्बर अंकले पर्यटक आगमन बढाउने र उनीहरूले गर्ने खर्च तथा तिनको बसाइ अवधिसमेत बढाउने महत्वाकांक्षी लक्ष्य किटान गरेको छ । अहिलेकै भौतिक पूर्वाधार, जनशक्ति, सीमित पर्यटन गन्तव्य र उत्पादनको भरमा यो लक्ष्य सहजै हासिल हुँदैन । नेपालको पर्यटक उद्योग अहिले सीमित गन्तव्यमा केन्द्रित भएको र एकै खालका पर्यटक बढी थुप्रिँदा ती गन्तव्यहरू पनि चरम सीमामा पुगिसकेका छन् । देशभरि भएका गन्तव्यको पहिला त हामीले सही ढंगले पहिचान नै गरेनौं, पहिचान गरिसकिएका गन्तव्यको पनि व्यवस्थापनमा हामी सदैव चुक्दै आयौं । हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र मुक्तिनाथ क्षेत्रको भ्रमण गरेपछि भारतीय पर्यटकहरूमा ती क्षेत्रप्रति आकर्षण बढेको छ, तर त्यहाँका विद्यमान पर्यटकीय सेवाहरू ठूला अनुपातमा आउने र गुणस्तरीय पर्यटकका लागि अपर्याप्त छन् । यसैबीचमा सरकारले नेपाल भ्रमण वर्ष २०२० को घोषणा गरेको छ, पर्यटन वर्ष घोषणा गर्नेबित्तिकै लक्ष्यअनुसार पर्यटक आउँदैनन् भन्ने कुरा विगतका केही नजिरले नै देखाएको छ । यसर्थ, सरकारले सही ढंगले गुणस्तरीय पर्यटकको संख्या, उनीहरूको बसाइ अवधि र तिनले गर्ने खर्च बढाउने हो भने सोहीअनुसारका पूर्वाधार, जनशक्ति र गन्तव्य व्यवस्थापन गर्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्