दृष्टिविहीनको ‘उज्यालो बजार’ मा आगलागी
पोखरामा दृष्टिविहीनहरूले सञ्चालन गरेको ‘उज्यालो बजार’ मा आगलागी हुँदा करिब ३ करोडबराबरको क्षति भएको छ । शुक्रबार राति करिब ११ः०० बजेतिर लागेको आगो करिब ४ घण्टापछि मात्र नियन्त्रण हुँदा करिब ३ करोड मूल्यबराबरको माल सामानको क्षति भएको उज्यालो बजार प्रतिष्ठानका अध्यक्ष पर्वती शर्माले बताइन् ।
आगलागीबाट ११ वटा दृष्टिविनसहित १७ वटा सटरमा पूर्णरूपमा क्षति पुगेको प्रतिष्ठानका शर्माले बताइन् । त्यसैगरी आगलागीबाट ६ वटा सटरमा आंशिक क्षति पुगेको उनले बताइन् । दृष्टिविहीनहरूलाई आत्मनिर्भर बनाउँदै सबल, सक्षम र समृद्ध बनाउने उद्देश्यले पोखराको सिद्धार्थचोकमा विगत एक वर्षदेखि उक्त बजार सञ्चालन गरिएको शर्माले बताइन् ।
बजार सञ्चालक राजेश पराजुलीले विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने बताए । आगलागी भएको घटनालाई समयमै आगो नियन्त्रणमा लिन नसक्दा धेरै क्षति हुन गएको उनले जनाए । आफूले राति करिब ११ः४५ बजे आगलागी भएको थाहा पाएपछि पोखरा लेखनाथ महानगरपालिकाको वारुणयन्त्रलाई खबर गर्दा करिब ३५ मिनेटपछि एउटा मात्र दमकल आएको र त्यसपछि करिब एक घण्टापछि अर्को दमकल आएको बताए ।
दुइटा दमकल र एउटा पानी ट्यांकरको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले करिब बिहान ३ बजे आगो नियन्त्रणमा लिएको सञ्चालक पराजुलीले जनाए । राति ११ः३० बजे बजारको ४ लाइनमध्ये ‘डी’ को सटर नम्बर ७ र ८ बाट आगलागी सुरु भएको हुन सक्ने पराजुलीले बताए । सो सटरमा कपडा र गुडिया बनाउने गाँठको होलसेल सामानहरू थियो ।
बजार निर्माणका लागि जिप्सन, फाइबरलगायतका सामग्री प्रयोग गरेकाले आगो फैलिन थप मद्दत पुग्दा बढी क्षति भएको पराजुलीले भनाइछ । आगो लागी भएर सटर सेमत तातेकाले सटर खोल्न मात्र करिब १० मिनेट लागेको उनले जनाए । गत भदौबाट सञ्चालनमा आएको उज्यालो बजारमा ६० वटा सटर रहेका छन् । जसमध्ये ३१ वटा सटर दृष्टिविहीनहरूद्वारा सञ्चालित छन् । उक्त बजारको प्रतिष्ठानले करिब १ करोड ५० लाखको बिमा गरेको स्रोतले जनाएको छ ।