कुरिती अन्त्यका लागि धर्मगुरु संगठित «

कुरिती अन्त्यका लागि धर्मगुरु संगठित

सिन्धुलीका धर्मगुरुहरू कुरिती अन्त्यका लागि संगठित भएका छन् । विभिन्न धर्मका गुरुहरू समाजमा व्याप्त रहेको कुरिती अन्त्य गर्नका लागि आ–आफ्नो धर्मको माध्यमबाट जनचेतना फैल्याउन संगठित भएका हुन् ।
परम्परा, संस्कार वा चालचलनका नाममा हुने जातीय, लैंगिक, सामाजिक, साँस्कृतिक विभेदहरूको अन्त्यका लागि संगठित भएको उनिहरूको भनाइ छ । हिन्दू धर्मगुरु नारायण बरालले धर्मको नाम मानिसहरूले विभिन्न कुरितीलाई प्रोत्साहन गरिरहेको भन्दै सामाजिक जागरणका कामको सुरुवात गरेको बताए । समाजमा रहेका अन्धविश्वास र रुढिवादी परम्परालाई चिर्नका लागि आफूहरू संगठित भएको उनको भनाइ छ ।
“बालविवाह, तीजमा पानी नखाई भोकभोकै बस्ने र श्रीमानको खुट्टाको पानी खानुपर्छ भन्ने कुनै पनि शास्त्रमा लेखिएको छैन,” उनले भने, “यस्ता कुराहरूलाई झन बढवा दिनुहुँदैन भनेर सम्झाई–बुझाई गरिरहेका छौँ ।” महिनावारी स्वभाविक शारीरिक प्रक्रिया भएपनि जनचेतनाका कमी र परम्परागत रुपमा बार्दै आएका कारण अहिलेको पुस्ताले पनि त्यसलाई निरञ्तरता दिइरहेको भन्दै उनले महिलाहरूको स्वास्थ्य र सरसफाइको उचित हेरचाह गर्नुपर्ने बताए । उनले भने, “यो बेला अशुद्ध भएको भनि विभेद गर्ने होइन ।”
हिन्दू धर्म मान्ने समुदायले बार्ने महिनावारी बौद्ध धर्म मान्ने जनजाति समुदायले भने बार्दैनन् । तर पनि आफूहरूलाई नराम्रो नभएको बौद्ध धर्मावलम्वीहरूको भनाइ छ । यस्ता उदाहरण दिई जनचेतना जगाउने बौद्ध धर्म गुरु गणेश लामा बताउँछन् । उनले भने, “महिनावारी भएका महिलाहरूले बार्नुपर्छ भन्ने हाम्रो धर्ममा लेखिएको छैन । बार्दा पनि बार्दैनन् । हामी अरुलाई पनि नर्बानुस् भन्छौं । महिनावारी नबार्दा हाम्रा छोरी चेलीलाई अहिलेसम्म केही भएको छैन ।”
परम्परागत रुपमा मामाको छोराले फुपुको छोरी विवाह गर्ने फुपुको छोराले मामाको छोरी विवाह गर्ने त्यो परम्परासमेत अहिले कम हुँदै गएको उनले बताए । बाल विवाह, जातिय छुवाछुत, महिनावारी बार्ने र महिला भएकै कारण चुलाचौकामा सीमित हुनुपर्ने, तीजमा निरहार व्रत बस्नुपर्नेलगायतका रुढीवादी मान्यता हटाउन आफूहरू लागिपरेको क्रिश्चियन धर्मगुरु टोमनाथ उपाध्यायले बताए । उनले भने, “कुनै जात हुँदैन, मान्छे एउटै हो । सम्झाई– बुझाई समाजमा विकृतिको अन्त्यका लागि हामी पहल गरिरहेका छौँ ।”
धर्मका नाममा मानिसहरू अन्धविश्वासमा परी विभिन्न कुरितीलाई प्रश्रय दिइरहेको भन्दै यसविरुद्ध अभियान सुरु गर्नु राम्रो काम भएको भन्दै जिल्लास्थित सरोकारवालाले खुलेर प्रशंसशा गरेका छन् । कानुनले सबैखाले विभेदलाई सामाजिक अपराधका रुपमा घोषणा गरिसकेको भएपनि यसबारे नागरिकहरू जागरुक हुन नसकेका कारण समाजका कुरिती, अन्धविश्वास र विभेदले जडो गाडेर बसेको नागरिक समाजका अगुवाहरू बताउँछन् ।
कृञ्जला पुलामी

प्रतिक्रिया दिनुहोस्