Logo

१० महिनामा २३ अर्बको सिमेन्ट र क्लिंकर आयात

काठमाडौं-मुलुक सिमेन्टमा आत्मनिर्भरोन्मुख भएको दाबी गरिए पनि पछिल्लो १० महिनामै २३ अर्ब ८८ करोड रुपैयाँ बराबरको तयारी सिमेन्ट तथा क्लिंकर आयात भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको आर्थिक तथा वित्तीय स्थितिले नेपाल सिमेन्टमा आत्मनिर्भर हुन अझै केही समय लाग्ने देखाएको हो । गत वर्षको सोही अवधिको तुलनामा चालू वर्षको १० महिनामा झन्डै ७ अर्ब रुपैयाँ बढीको सिमेन्ट तथा क्लिंकर आयात भएको छ ।
आर्थिक वर्ष (२०७२/७३) को सोही अवधिमा ७ अर्ब ९९ करोड रुपैयाँको मात्रै सिमेन्ट तथा क्लिंकर आयात भएकोमा २०७३/७४ मा शतप्रतिशतभन्दा धेरै वृद्धि अर्थात १००.३ प्रतिशत आयात बढेर १६ अर्ब २० करोड रुपैयाँ पुगेको थियो । गत वर्षको तुलनामा चालू वर्षको १० महिनामा ४९.१ प्रतिशतले वृद्धि भई २३ अर्ब ८८ करोड रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर आयात भएको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ । सरकारले २०७४ साललाई ‘बेन्चमार्क’ राख्दै सिमेन्टमा आत्मनिर्भर हुने महत्वाकांक्षी योजना ल्याएको थियो । तर राष्ट्र बैंकले सार्वजनिक गरेको सिमेन्ट तथा क्लिंकरको आयातको अनुपातलाई हेर्दा भने आत्मनिर्भर हुुन अझै निकै समय लाग्ने देखिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारका ठूला परियोजनाका लागि सिमेन्ट भिœयाइँदा आयात परिमाण उच्च हुने गरेको बताउँछन् । ड्युटी फ्री सुविधा पाउने भएकाले आयोजनाहरूले गुणस्तरका नाउँमा ठूलो परिमाणमा सिमेन्ट ल्याउने गरेका छन् । “निजी क्षेत्रबाट व्यापारका लागि सिमेन्ट आयात भएको छैन, क्लिंकरको आयात पनि निकै घटेको छ,” उनी भन्छन्,“ अबको वर्षमा क्लिंकर आयात निकै कम हुन्छ ।”
नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङमा क्लिंकरसहितको आयात भएकोले धेरै रकम देखिएको बताएका छन् । उनले अहिले पनि वार्षिक २० प्रतिशतको हाराहारी क्लिकर आयात भएको बताउँछन् । “जबसम्म क्लिङ्करमा आत्मनिर्भर बन्न सकिन्न तबसम्म सिमेन्टमा देश आत्मनिर्भर हुन सक्दैन,” उनी भन्छन्, “नेपाल पूर्णरूपमा सिमेन्टमा आत्मनिर्भर बन्न अझै डेढ वर्ष लाग्छ ।” नेपालमा वार्षिक झन्डै १ खर्ब रुपैयाँ बराबरको सिमेन्टको बजार छ । देशभित्रै उपलब्ध कच्चा पदार्थको उचित प्रयोग नहुँदा वार्षिक अर्बाैं रुपैयाँकोे सिमेन्ट तथा क्लिङ्कर बाहिरबाट आयात हुने गरेको छ । देशको विभिन्न ठाउँमा रहेका चनुढुंगा खानी प्रयोग गर्न नसक्दा ठूलो मात्रामा क्लिङ्कर आयात गर्नुपरेको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमार्फत २ वर्षभित्र सिमेन्ट लगायत आधारभूत निर्माण सामग्रीका १ दर्जन वस्तुमा आत्मनिर्भर हुने उद्देश्यले संरक्षणको नीति लिएका छन् । सरकारले नेपाली चुनखानीलाई अधिकतम प्रयोग गरी क्लिङ्कर आयात शुन्यमा झारी निर्यात गर्ने योजना बनाएको छ । त्यसका लागि उद्योग मन्त्रालयले सिमेन्ट उद्योगलाई चुनखानीसम्म जाने सडक निर्माण तथा विजुली विस्तारमा सहयोग गर्दै आएको छ ।
नेपालमा ८४ वटा सिमेन्ट उद्योगले संचालन इजाजत लिएका छन् भने ४८ वटा सञ्चालनमा छन् । पछिल्लोपटक चीनको होङ्सी समुहको ठूलो लगानी रहेको होङ्सी शिवम् सिमेन्टले व्यावसायिक उत्पादन सुरु गर्ने तयारीमा छ ।
१० महिनामा सिमेन्ट/ क्लिङ्कर आयात १० महिनामा सिमेन्ट/ क्लिङ्कर आयात २०७०/७१ ७ अर्ब ८५ करोड२०७१/७२ ८ अर्ब ४२ करोड२०७२/७३ ७ अर्ब ९९ करोड२०७३/७४ १६ अर्ब २ करोड२०७४/७५ २३ अर्ब ८८ करोडस्रोत– नेपाल राष्ट्र बैंक

१० महिनामा सिमेन्ट/ क्लिङ्कर आयात
२०७०/७१  ७ अर्ब ८५ करोड
२०७१/७२  ८ अर्ब ४२ करोड
२०७२/७३  ७ अर्ब ९९ करोड
२०७३/७४  १६ अर्ब २ करोड
०७४/७५  २३ अर्ब ८८ करोड
स्रोत– नेपाल राष्ट्र बैंक

प्रतिक्रिया दिनुहोस्