कोरिया ५८ औं महिना पनि व्यापार बचतमा «

कोरिया ५८ औं महिना पनि व्यापार बचतमा

सेजोङः दक्षिण कोरियाले नोभेम्बरमा लगातार ५८ औं महिना व्यापार बचत गरेको छ । गत महिना यो मुलुकले ८.२ अर्ब डलरको व्यापार बचत गरेको थियो । यसको अघिल्लो महिना भने ६.९६ अर्ब डलरको व्यापार बचत गरेको कोरियाको भन्सार तथ्यांकले देखाएको छ ।

गत महिना कोरियाको निर्यात ४५.४१ अर्ब डलर पुगेको थियो । यो अघिल्लो वर्षको तुलनामा २.५ प्रतिशत बढी हो । यसैगरी आयात पनि ९.३ प्रतिशतले वृद्धि भई ३७.२१ अर्ब डल र पुगेको तथ्यांकले देखाएको छ ।

देशको निर्यातले दुई महिनासम्मको नकारात्मक वृद्धिपछि गएको महिना भने वृद्धितर्फ फर्किएको थियो । सेमिकन्डक्टर र स्टिलको राम्रो बिक्री भएकाले दक्षिण कोरियाको निर्यात सकारात्मकतर्फ अगाडि बढेको एजेन्सीले जनाएको छ ।

सेमिकन्डक्टर र स्टिल उत्पादनको निर्यात ११.५ र १२.३ प्रतिशतले वृद्धि भएको छ । यसले जहाज र ह्यान्डसेटको निर्यातमा आएको गिरावटमा केही राहत प्रदान गरेको छ । जहाज र ह्यान्डसेटको निर्यात क्रमशः ३७.१ र २३.४ प्रतिशतले वृद्धि भएको थियो ।

देशका आधारमा दक्षिण कोरियाले चीनमा गरेको निर्यात ०.४ प्रतिशतले वृद्धि भएको छ । यसैगरी युरोपेली संघका मुलुकमा गरेको निर्यात २२.१ प्रतिशतले ओरालो लागेको छ ।

जनवरीदेखि नोभेम्बरसम्मको अवधिमा एसियाकै चौथो ठूलो अर्थतन्त्र भएको मुलुकले गरेको निर्यात वार्षिक मापनका आधारमा ७ प्रतिशतले घटेर ४५०.५ अर्ब डलर कायम भएको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्