Logo

प्रविधिको उपयोग गर्दै स्थानीय तह

सरुमारानी गाउँपालिका–४ ले सूचना प्रवाहका लागि ‘डिजिटल डिस्प्ले’ सञ्चालनमा ल्याएको छ । वडा कार्यालयका महत्वपूर्ण सूचनाहरू नागरिकसमक्ष सहज ढंगले प्रवाह गर्ने उद्देश्यले ‘डिजिटल डिस्प्ले’ सञ्चालनमा ल्याइएको वडा कार्यालयले जनाएको छ ।
कार्यालयबाट हुने सार्वजनिक कार्यक्रम तथा महत्वका विषयवस्तुसँगै कार्यालयबाट प्रवाह हुने सेवाहरू ‘डिजिटल डिस्प्ले’को माध्यमबाट प्रवाह गरेको वडाध्यक्ष चिन्तबहादुर सोमैले बताए । उनले भने, “यसले कार्यालयका काम तथा सूचना नागरिकसम्म पुराउन सहज हुने अपेक्षा लिएका छौं ।”
स्थानीयको सूचना प्रविधिमा पहुँच वृद्धि गर्न कार्यालयले कम्प्युटरको समेत व्यवस्था गरेको उनले बताए । “इमेल इन्टरनेटको पहुँच पुराउन कार्यालयमै निःशुल्क कम्युटर तथा इन्टरनेट सेवा उपलब्ध गराइएको छ,” अध्यक्ष सोमैले भने । वडा कार्यालय र मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्रको सहयोगमा स्थानीयलाई कम्प्युटर सेवा सञ्चालनमा ल्याइएको हो । सूचना प्रविधिको विकासका लागि गडीदरबार सिर्जनशील शाखाको समेत व्यवस्थापन गर्दै अगाडि बढेको उनले बताए ।
यस्तै नौबहिनी गाउँपालिकाले सीसी क्यामरा जडान गरेको छ । आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्ने उद्देश्यले गाउँपालिकामा अवस्थित बाहाने बजार क्षेत्रमा सीसी क्यामरा जडान गरिएको गाउँपालिका अध्यक्ष शिवराज रिजालले बताए । इलाका प्रहरी कार्यालयमा सूचना कन्ट्रोल हुने गरी सीसी क्यामरा जडान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्