Logo

मदिरा उद्योगमा नक्कली अन्तःशुल्क स्टिकर

अन्तःशुल्कको नक्कली स्टिकर छपाइ त्यसको प्रयोग गर्ने क्रम बढ्दै गएको छ । अढाइ महिनाअघि भारतबाट नक्कली स्टिकर छपाइ नेपाल भिœयाई पूर्वतर्फ लैजाँदै गर्दा भैरहवा क्षेत्रमा ४ लाख थान नक्कली स्टिकर बरामद भएको थियो । त्यस्तै भैरहवा क्षेत्रकै एक मदिरा उत्पादक कम्पनीले पनि नक्कली अन्तःशुल्क प्रयोग गरेको आशंकामा बिगत एक महिनादेखि उद्योग शिलबन्द गरी राजस्व विभागले छानबिन गरिरहेको छ ।
उक्त उद्योगबाट उत्पादित ५० युपीको मदिरा बोतलमा टाँसिएको स्टिकर नक्कली भएको आशंकामा काठमाडांैको बानेश्वर क्षेत्रबाट मदिरा डिलरबाटै बरामद भएको थियो । अनुसन्धानबाट उक्त स्टिकर नक्कली भएको ठहर भइसकेको छ । प्रयोगशालामा परीक्षण गर्दा स्टिकर नक्कली पाइएको हो । मदिरा उद्योगीले भने आफूहरूलाई आफ्ना प्रतिस्पर्धीले फसाउनका लागि आफ्ना उत्पादनमा टाँसिएका सक्कली स्टिकर हटाई नक्कली स्टिकर टाँस गरी पठाएको हास्यास्पद बयान दिएका छन् । नक्कली स्टिकर सहितको मदिरा बानेश्वर क्षेत्रमा फेला परेकोले आन्तरिक राजस्व विभागको बानेश्वर सेवा केन्द्रले यो मुद्दा हेरिरहेको छ ।
त्यस्तै मदिरा उत्पादन गर्ने रुपन्देही बाहेकका भक्तपुर र जनकपुरका अन्य २ डिस्टिलरी उद्योगबाट उत्पादित मदिरामा टाँसिएका अन्तःशुल्क स्टिकरहरू पनि नक्कली भएको आशंकामा आन्तरिक राजस्व विभागले उद्योगमा शिलबन्दी गरी छानबिन गर्दै आएको छ । अन्तःशुल्क ऐन २०५८ मा नक्कली अन्तःशुल्क उत्पादन पैठारी ओसार–पसार वा भण्डारण गरेमा बिगो जफत गरी बिगोको शतप्रतिशत जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय गर्न सक्ने व्यवस्था छ । नक्कली स्टिकर प्रयोग गर्नुलाई अन्तःशुल्कमा सबैभन्दा गम्भीर अपराधका रूपमा लिने गरिएको छ ।
प्रायः नेपालमा बढी उपभोग हुने ५० युपीको मदिरामा नक्कली स्टिकर प्रयोग हुने पाइएको छ भने ७० युपी माथिका निम्न कोटीका मदिराहरूमा पनि नक्कली स्टिकर प्रयोगको समाचारहरू आइरहेका छन् । तराईको सीमावर्ति क्षेत्रमा राजस्व विभागको खासै उपस्थिति नदेखिँदा त्यसक्षेत्रमा नक्कली स्टिकर टासेर मदिरा बिक्रीका लागि पठाइने, बिना इजाजत मदिरा बिक्री गर्ने लगायतका काम हुने गरेको पाइएको छ ।
उता गत चैत ६ गते भारतबाट बेलहिया नाका हुँदै भिœयाइएको नक्कली अन्तःशुल्क स्टिकरको मुद्दामा आन्तरिक राजस्व कार्यालय भैरहवाले थुनछेक आदेश जारी गर्दै दुई जना भारतीय नागरिकहरूलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । सोही घटनामा संलग्न अन्य ३ जनालाई प्रतिव्यक्ति २ करोड ८ लाख ९७ हजार रुपैयाँका दरले ६ करोड २६ लाख ९२ हजार रुपैयाँ धरौटी माग गरेकोमा निजहरूले उक्त धरौटी दाखिला गर्न नसक्दा कारागार चलान भएको आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत अर्जुन ढकालले जनाए । देशका विभिन्न स्थानमा अन्तःशुल्कका नक्कली स्टिकरहरू प्रयोग भइरहेको आशंका गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्