Logo

गहुँत बेचेरै मासिक ३ लाख

रुकुमका किसानले व्यवसायिक पशुपालनबाट विभिन्न लाभ लिन थालेका छन् । दूध र दही बिक्रीबाट राम्रो आम्दानी गर्दै आएका किसानले पछिल्लो समयमा गहुँत बेचेर समेत राम्रो कमाइ गर्न थालेका छन् । मुसिकोट नगरपालिकाका एक किसानले गहुँत बिक्रीबाटै मासिक ३ लाख रुपैयाँ आम्दानी गरेका छन् ।
मुसिकोट नगरपालिका–५ सेरीगाउँका किसान सुदर्शन मल्लले गाईको गहुँत संकलन र बिक्री गरेर मासिक ३ लाख रुपैयाँसम्म आम्दानी गर्ने सफल भएको बताए । उनले मुसिकोट नगरपालिका–६, पोखरामा २९ वटा गाई पालेका छन् । गहुँत संकलन गर्न उनी बिहान ४ बजे नै उठ्ने गर्दछन् । “बिहान ४ बजेदेखि ८ बजेसम्म २० लिटर जति गहुँत संकलन गरेर प्रशोधन गरी गौ अर्ग बनाउने गरेको छु,” उनले भने, “गौ अर्ग विभिन्न रोगको औषधिका लागि प्रयोग हुने भएकाले सहजै बिक्री हुने गरेको छ ।”
आफूले उत्पादन गरेको गौ अर्ग क्यान्सर तथा ब्रेनट्युुमरसम्बन्धी रोगका लागि लाभदायक हुने मल्लको भनाइ छ । उत्पादित गौ अर्ग रुकुमलगायत छिमेकी जिल्ला सल्यान, रोल्पा, प्युठान र दाङसँगै विदेशमासमेत पठाउने गरिएको उनले बताए । “मूल्य त ठाउँ र ढुवानी खर्चअनुसार फरक–फरक छ, महिनामा तीन लाख जति आम्दानी हुन्छ,” उनले भने, “स्वदेशमा रोजगारी पाइएन भन्दै दैनिक विदेशिने युवाले यस्तै काम गरे गाउँमै बसेर लाखौं कमाउन सक्छन् ।”
मल्लले वैष्णवी गाई फार्म दर्ता गरेर ‘गौ अर्ग’ उत्पादन गर्दै आएका हुन् । उनले उत्पादन गरेको गौ अर्ग रुकुममै प्रतिलिटर एक हजार रुपैयाँमा बिक्री हुने गरेको छ । बाहिरी जिल्लामा पठाउँदा जनशक्ति र भाडाको समेत मूल्य जोडेर मूल्य निर्धारण गर्ने गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्