शक्तिशाली आधीबाट १६ को मृत्यु

भारत र श्रीलंकामा बिहीबार रातिबाट शुक्रबार बिहानसम्म आएको शक्तिशाली आँधीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
सो आँधीबाट अन्य १ सय जना व्यक्ति बेपत्ता भएका छन् भने आँधीका कारण यी दुवै देशमा सयौँ रूख ढल्नुका साथै विद्युतीय लाइनहरू अवरुद्ध भएको अधिकारीहरूले जनाएका छन् । आँधीले सडकछेउका घर भत्काएको वा उडाएको बताइएको छ । आँधी प्रभावित क्षेत्रमा लाखौँ व्यक्तिलाई सो क्षेत्र खतरायुक्त भएको चेतावनी दिइएको छ । भारतको दक्षिणी भू–भाग तामिलनाडु र केरला प्रान्त बढी प्रभावित भएको छ भने श्रीलंकाको दक्षिणी र मध्य प्रान्तहरूमा क्षति पुगेको छ । ती क्षेत्रका सबै विद्यालय दुई दिनयता बन्द रहेका छन् । सडक, रेलमार्गसमेत बन्द भएको प्रकोप व्यवस्थापन केन्द्रले जानकारी दिएको छ । प्रकोप नियन्त्रण अधिकारका अनुसार आँधीका कारण भारतमा ९ र श्रीलंकामा ७ जनाको मृत्यु भएको छ । प्रायः व्यक्तिहरूको मृत्यु ढलेका रूखले किचिएर भएको जनाइएको छ । यस आँधीको कारण तटीय क्षेत्रको समुद्रमा माछा मार्ने डुंगाहरूसमेत सबै उडाएको भारतका रक्षामन्त्री निर्मला सिथारमानले बताएकी छन् । बेपत्ता भएका अधिकांश नागरिक माछा मार्न समुद्रमा गएका थिए । उनीहरू धेरैजसो व्यावसायिक मछुवा रहेका बताइएको छ । शुक्रबार बिहानीपख यसको प्रभाव बढी देखिएको थियो । बिहीबार रातिदेखि नै व्यापक हावाहुरी आएको र पछि भीषण वर्षाले गर्दा यति ठूलो संख्यामा नागरिक हताहत र बेपत्ता भएका प्राप्त समाचारमा जनाइएको छ ।