लामोसाँघु–जिरी सडकका ठेकेदार प्रहरी नियन्त्रणमा «

लामोसाँघु–जिरी सडकका ठेकेदार प्रहरी नियन्त्रणमा

लामोसाँघु–जिरी सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै प्रहरीले सिन्धुपाल्चोक निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष धर्मराज (भीमसेन) भण्डारीलाई पक्राउ गरेको छ । गृह मन्त्रालयले निर्धारित समयमा काम नगर्ने ठेकेदार कानुनी दायरामा आएरै छाड्ने दृढता व्यक्त गरिरहेका बेला प्रहरीले भण्डारीलाई पक्राउ गरेको हो ।
लामोसाँघु–जिरी सडक खण्डको मुडेसम्मको २५ किलोमिटर सडक निर्माणकार्य सन्तोषजनक नभएको भन्दै तीव्र आलोचना भइरहेका बेला भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । लामोसाँघु–जिरी सडकलगायत सिन्धुपाल्चोकमा भएका विभिन्न निर्माणकार्यमा ढिलाइ गरेकाले केन्द्रको निर्देशनअनुसार भण्डारीलाई नियन्त्रणमा लिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।
अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको खाडीचौरबाट सुरु हुने लामोसाँघु–जिरी सडकको खाडीचौरदेखि चरिकोटसम्मको ५५ किमि खण्ड २ प्याकेजमा भइरहेको छ । पहिलो खण्डको जिम्मा पाएको निर्माण कम्पनीको काम २४ महिनामा पूरा हुने गरी २०७२ भदौमा सम्झौता भए तापनि समयमा काम नसकिएपछि एक वर्ष म्याद थप भएको छ ।
पहिलो प्याकेजको खाडीचौरदेखि मुडेसम्म २५ किमिमा भारतीय कम्पनी सिमाञ्चल, नेपाली कम्पनीहरु गौरीपार्वती र सुनौला खिम्तीले संयुक्त रूपमा ठेक्का पाएका छन् । पहिलो प्याकेजको काम ३९ करोड २६ लाख ५२ हजारमा सम्झौता भएकोमा ६० प्रतिशत भुक्तानी भइसकेको छ । भण्डारी पहिलो प्याकेजका आधिकारिक प्रतिनिधि हुन् । थपिएको म्याद चैतमै सकिए तापनि एक वर्ष यता खासै प्रगति हुन नसक्दा दैनिक हजारौं यात्रुले सास्ती भोग्नु परेको छ ।
त्यस्तै दोस्रो प्याकेजको मुडेदेखि चरिकोटसम्मको ३० किमिको लागि भारतीय कम्पनी सकिल हैदर संगथको साझेदारीमा शंकरमाली, सुनौला खिम्ती नेपाली कम्पनीले ठेक्का जिम्मा पाएका हुन् । ७० करोड ७० लाख ३४ हजारमा ठेक्का सम्झौता गरेको छ ।
दुवै ठेक्का अन्तर्राष्ट्रिय बोलपत्रअनुसार सम्झौता भएको आयोजना प्रमुख नेपालले जानकारी दिए । दोस्रो प्याकेजको सुरु ठेक्का सम्झौता २०१८ मार्चसम्म हो । तर पहिलो प्याकेजमा पनि समय थप भएकाले दोस्रो प्याकेजमा पनि केही समय थप हुने उनले बताए ।
दुवै प्याकेजको प्रगति ५० प्रतिशत मात्र छ । सम्झौताअनुसार दुवै प्याकेजको ठेक्काको म्याद पूरा भएको छ । भण्डारीको जिम्मामा दोस्रो प्याकेजको १५ किमि सडक पनि रहेको छ । ठेकेदारले काम नगर्दा सास्ती भोग्नु परेको आलोचना भएपछि मन्त्रालयसम्म पुगेर छलफल गर्दा दुवै प्याकेजमा असारसम्म १८ किमि कालोपत्र गर्ने प्रतिबद्धता गरे पनि काम सुरु नै हुन सकेन ।

गडी–गोठलापानी सडकमा जोखिमपूर्ण यात्रा
बैतडीको मुख्य व्यापारिक केन्द्र गोठलापानी बजारदेखि जिल्लाको मुख्य सदरमुकाम गडीखलंगा जोड्ने सडकमा बर्सेनि बजेट छुट्याइने भए पनि सडकको अवस्था भने नाजुक छ । अधिकांश सरकारी कार्यालय रहेको जिल्ला सदरमुकाम गडीखलंगा जोड्ने एक किमि सडकमा मात्रै बर्सेनि नगरपालिका, तत्कालीन जिल्ला विकास समिति र भवन डिभिजन कार्यालयले बजेट विनियोजन गरे पनि सडकको व्यवस्थित तरिकाले मर्मत सम्भार नहुदा सर्वसाधारण र सवारीचालक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
छेउदेखि टुप्पोसम्म खाल्डाखुल्डीमात्रै रहेको उक्त सडकमा जिल्लाका महत्वपूर्ण कार्यालयका हाकिम र कर्मचारीले यात्रा गर्छन् । तर सडक भने व्यवस्थित तरिकाले कहिले पनि मर्मत सम्भार हुने सकेन । “सडकमा खाल्डाखुल्डी हुदा मोटरसाइकल चलाउनसमेत समस्या हुन्छ,” जिल्ला प्रशासनका कर्मचारी गोविन्दसिंह रावलले भने ।
गत आवमा मात्रै सहरी विकास तथा भवन डिभिजन कार्यालयले सडक मर्मतका लागि १० लाख बजेट विनियोजन गरी काम गरेको सहरी विकास तथा भवन डिभिजन कार्यालय बैतडीका प्रमुख प्रविन शाहले बताए । भवन डिभिजन कार्यालयले उपभोक्ता समितिमार्फत सडकको मर्मत गरेको बताए पनि सडकको अवस्था भने सुध्रन सकेको छैन । दशरथचन्द नगरपालिकाले पनि गएको समयमा मर्मतवापत करिब ३ लाख खर्च गरेको जनाएको छ ।
०६८ सालमा जिल्ला विकास समितिकोे ५० लाख लागतमा कालोपत्रे गरिएको उक्त सडकमा सहरी विकास तथा भवन डिभिजन कार्यालय र दशरथचन्द नगरपालिकाले पनि मर्मतको नाममा लाखौं रुपैयाँ खर्च गरिसकेको छ ।सडक व्यवस्थित तरिकाले स्तरोन्नतिका लागि यस आवमा पनि सहरी विकास तथा भवन डिभिजन कार्यालयले आठ करोडको टेन्डर आह्वान गरेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्