आइफोन फाइभयताको डभाइसमा आईओएस १२ «

आइफोन फाइभयताको डभाइसमा आईओएस १२

 विश्वकै महँगो टेक कम्पनी एप्पलले आफ्ना डिभाइसहरूका लागि नयाँ अपरेटिङ सिस्टम आईओएस १२ सार्वजनिक गरेको छ । यो अपरेटिङ सिस्टम हाल आइओएस ११ चलाइरहेका सबै डिभाइसमा उपलब्ध हुनेछ ।
नयाँ–नयाँ उत्पादन आएसँगै पुराना उत्पादनका लागि अपरेटिङ सिस्टमको अपडेट नदिने आरोप खेप्दै आएको एप्पलले यस पटक भने दिल खोलेर अपरेटिङ सिस्टम सार्वजनिक गरको छ । एप्पलको पुराना आइफोन बोक्ने उपभोक्तालाई एप्पलले खुसी पारेको छ । किनकी नयाँ आइओएस एप्पलको आइफोन फाइभ एस र त्यसयताका सबै आइफोनलाई नयाँ अपरेटिङ सिस्टम उपलब्ध हुनेछन् ।
एप्पलले सोमबार सफ्टवेयरसँग सम्बन्धित डब्लूडब्लूडीसी २०१८ कार्यक्रममा तीन नयाँ घोषणा गरेको छ । आइफोन र आइप्याडका लागि नयाँ अपरेटिङ सिस्टम आइओएस १२ सार्वजनिकसँगै कम्पनीले एप्पल वाचको लागि वाचओएस ५ सार्वजनिक गरेको छ । साथै एप्पलका डेस्कटप तथा ल्यापटपको लागि म्याकओएस १०.१४ मोजाभे पनि यसै कार्यक्रममा सार्वजनिक गरेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले एप्पलको आइओएस १२ लाई प्राथमिकता दिएर समाचार प्रकाशनमा ल्याइरहेका छन् ।
आइओएस १२ मा यसअघिको अपरेटिङ सिस्टममा थप सुधार गरिएको पनि छ । कम्पनीका अनुसार यसअघिको आइओएस ११ प्रयोग हुने वा कम्प्याटिबल हुने डिभाइसहरू सबैमा आइओएस १२ को अपडेट उपलब्ध हुनेछ नै तर सबैभन्दा महत्वपूर्ण कुरा अपडेट गर्नका लागि थप स्टोरेज वा हार्डवेयर आवश्यक पर्दैन । पेड एप्पल डेभलपर्सलाई डेलपर बीटा भर्सन उपलब्ध गराउनेछ भने पब्लिक बीटा भर्सन जून १६ तारिखदेखि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । आइओएसको फाइनल भर्सन भने सेप्टेम्बरमा मात्र उपलब्ध हुनेछ । वाचओएस ५ आइओएस पनि एप्पल स्मार्टवाचको लागि नयाँ एप्पल सफ्टवेयर वाचओएस ५ सेप्टेम्बरदेखि उपलब्ध हुनेछ ।
आइओएस १२ उपलब्ध हुने डिभाइसहरूको सूचीसमेत कम्पनीले सार्वजनिक गरेको छ । आइफोनहरूमा आइफोन एक्स, आइफोन ८ प्लस, आइफोन ८, आइफोन सेभेन प्लस र आइफोन सेभेनलगाएतका पछिल्ला आइफोनका मोडेलमा उपलब्ध हुने नै छ भने यसअघिका आइफोन सिक्स एस प्लस, आइफोन सिक्स एस, आइफोन सिक्स प्लस, आइफोन सिक्स, आइफोन एसई र आइफोन ५ एसमा यो उपलब्ध हुनेछ । यसअघि आइओएस ११ उपलब्ध नभएका आइफोन फाइभ र फोर लगाएतमा भने आइओएस १२ उपलब्ध हुने छैन ।
एप्पलको आइप्याड पनि उत्तिकै लोकप्रिय ग्याजेट मानिन्छ । पछिल्लो आइओएस एप्पलका १२.९ इन्च आइप्याड प्रो, १०.५ इन्च आइप्याड प्रो, ९.७ इन्च आइप्याड प्रो, आइप्याड फिफ्थ जेनेरेशन, आइप्याड एयर २, आइप्याड मिनी ४, आइप्याड मिनी ३ र आइप्याड मिनी २ मा उपलब्ध हुनेछ । वाच ओएस ५ एप्पलको पहिलो वाचमा उपलब्ध हुनेछैन भने त्यसपछि सन् २०१६ मा सार्वजनिक भएको एप्पल वाच वनदेखि माथिका सबै भर्सनहरूका लागि यो भर्सन उपलब्ध हुनेछ ।
कम्पनीले म्याकबुक तथा आइम्याकका सार्वजनिक गरेको म्याकओएस १०.४ मोजाभे म्याकबुक (२०१५ को सुरुवात र त्यसपछिका) मा उपलब्ध हुनेछ । म्याकबुक एयर (मध्य २०१२ भन्दा पछि आएका), म्याक मिनी (२०१२ र त्यसपछिका नयाँ), म्याकबुक प्रो (मध्य २०१२ र त्यसपछिका नयाँ), आइम्याक (२०१२ र त्यसपछिका सबै), आइम्याक प्रो (२०१७) लगाएतका उपलब्ध हुनेछ । म्याक प्रो (२०१३ को अन्त्यको, २०१० मध्यको, र २०१२ मध्यको) मा भने जीपीयूको क्षमतामा निर्भर हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्