खाद्य स्वच्छताका लागि सरकारी संरचना सुधार आवश्यक «

खाद्य स्वच्छताका लागि सरकारी संरचना सुधार आवश्यक

संविधानले ग्यारेन्टी गरेको खाद्य अधिकार सुनिश्चित गर्न सरकारी संरचनामा सुधार गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । ‘हामी सबैको सरोकारः खाद्य शृङ्खलामा स्वच्छता र गुणस्तर’ नाराका साथ बिहीबार मनाइएको १० औं राष्ट्रिय खाद्य स्वच्छता दिवसको अवसरमा सरोकारवालाहरूले संघ, प्रदेश र स्थानीय तहमा खाद्य वैज्ञानिक तथा प्राविधिक उपलब्ध गराउनुपर्नेमा जोड दिएका हुन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयोजना गरेको मूल समारोहमा वक्ताहरूले खाद्य स्वच्छता कायम गर्न वस्तुको उत्पादन, प्रशोधन र बजारीकरणमा खाद्य वस्तुको गुणस्तरियता कायम हुनुपर्ने बताए । उनीहरूले यसका विभागमा हाल निकै न्यून जनशक्ति रहेको र संरचना पनि क्षेत्रीय तहसम्म रहेको भन्दै जिल्ला तथा स्थानीय तहमा खाद्य निरीक्षकको व्यवस्था हुने गरी संरचना बनाउनुपर्ने सुझाव दिए । “खाद्य स्वच्छताका लागि नदी हैन पहिले मुहानमै सफा गर्नुपर्छ,” कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले भने, “उत्पादनस्थलदेखि नै खाद्य स्वच्छता कायम यसका लागि विभागलाई साधन स्रोत सम्पन्न बनाउनुपर्नेछ ।”
कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले खाद्य स्वच्छता र गुणस्तरका लागि सरकार लागि पर्ने प्रतिबद्धता व्यक्त गर्दै सरोकारवाला सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने औंल्याइन् । राज्यमन्त्री चौधरीले खाद्य स्वच्छता अभियान सहर केन्द्रित रहेको चर्चा गर्दैै ग्रामीण क्षेत्रमा पुग्न मातहतका निकायलाई निर्देशन दिइन् । गुणस्तरहीन खाद्य वस्तु बिक्री गरेर जन जनस्वास्थ्यमाथि खेलवाड गर्नेमाथि कडा कारबाही हुने गरी खाद्य ऐन संशोधन प्रक्रियामा रहेको उनले बताइन् ।
पूर्व कृषिसविच उत्तमकुमार भट्टराईले सबै स्थानीय तहमा खाद्य प्राविधिकहरूको व्यवस्था गरिनुपर्ने बताए । मन्त्रालयका सहसचिव योगेन्द्रकुमार कार्कीले खाद्य स्वच्छतासँगै खानेबानीमा पनि परिवर्तन आवश्यक रहेको बताए । “आलु खाएपछि भातको आवश्यकता नपर्ने भए पनि नेपालीहरूमा आलु पनि टन्न खाएपछि पनि भात खाने परम्परा छ, यस्तो बानीमा सुधार गर्नुपर्दछ,” उनले थपे । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले विभागले ४१ जना खाद्य प्राविधिकबाट ३ करोडभन्दा बढी उपभोक्ता सबैलाई सेवा दिन नसक्ने भन्दै उपभोक्ता स्वयम् पनि सचेत हुनुपर्ने बताए ।
विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले आफूहरू खाद्य स्वच्छताका लागि लागीपरेको तथा संरचना विस्तारमा सरकारले ध्यान दिए थप उत्कृष्ट काम गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा पूर्वमहानिर्देशक ज्योति प्रभा लामा, खाद्य उद्यमी कुमुदकुमार दुगडलगायत विभिन्न उपभोक्ताकर्मीले खाद्य स्वच्छता र गुणस्तरका लागि खाद्य स्वच्छता नीति र खाद्य स्वच्छता ऐनलाई छिटो कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएका थिए ।
दिवसको अवसरमा सञ्चारकर्मीहरू राजेश वर्मा र लेखनाथ पोखरेललाई खाद्य सुरक्षासम्बन्धी उत्कृष्ट समाचार लखेवापत सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट खाद्य उद्यमी, खाद्यविज्ञ, कर्मचारी उपभोक्ताकर्मीसमेतलाई सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्