अमेरिकामा ब्याजदर वृद्धि

वासिङ्टनः अमेरिकी फेडरल रिजर्भले एक दशकको अवधिमा दोस्रो पटक ब्याजदर ०.२५ प्रतिशतले बढाएको छ ।
केन्द्रीय बैंकले ब्याजदर ०.५ देखि ०.७५ प्रतिशतसम्म बढाउनका लागि मतदान गरेको थियो । आर्थिक वृद्धि बलियो हुनुका साथै रोजगारीमा भएको वृद्धिलाई उल्लेख गर्दै बैंकले ब्याजदर बढाउने पक्षमा मतदान गरेको हो । तर अल्पकालीन अवधिमा अर्थतन्त्र क्रमिक रूपमा मात्रै वृद्धि हुने अपेक्षा बैंकले गरेको छ ।
फेडकी अध्यक्ष जानेट यलनले आर्थिक परिदृश्य उच्च रूपमा अनिश्चित भएको र वृद्धि नरम रूपान्तरण मात्रै भएको बताएकी छन् । यद्यपि डोनाल्ड ट्रम्पको प्रशासनले भने आगामी वर्ष दर तीव्र रूपमा वृद्धि गर्ने योजना बनाइरहेको छ ।
निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कर कटौती, खर्च र विनियमको माध्यमबाट वृद्धि उकास्ने नीति ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । थप विस्तृत जानकारीबिना ट्रम्पको आर्थिक रणनीतिका बारेमा बोल्न गलत हुने उनले बताइन् ।
फेडरल ओपन मार्केट्स कमिटीका केही सदस्यले खर्च बढाउने विषयमा फरक–फरक मत व्यक्त गरेका छन् । आगामी वर्ष दुईभन्दा पनि तीन पटक ब्याजदर वृद्धि हुन सक्ने एफओएमसीले जनाएको छ ।
यलनले पत्रकार सम्मेलनमा भनिन्, “हामी अनिश्चितताको बादलमा मडारिएका छौं ।” ट्रम्पले फेडका बारेमा गरेको सार्वजनिक टिप्पणीको बारेमा बोल्न पनि उनले अस्वीकार गरिन् । “म फेडको पूर्ण स्वायत्ततामा विश्वास गर्छु,” उनले भनिन्, “म आउनेवाला राष्ट्रपतिको सुझावको प्रस्ताव गर्न गइरहेको छैन ।” ब्याजदरको कदम सर्वत्र अपेक्षा गरिएको थियो ।
दर विश्वव्यापी वित्तीय संकटदेखि शून्यनजिक रहँदै आएको छ । अमेरिकी अर्थतन्त्रमा सुधार भइरहेको छ । उपभोक्ताको मनोबल, रोजगारी, घरको मूल्य र म्यानुफ्याक्चरिङ तथा सेवा सबै क्षेत्रमा वृद्धि भएको छ । ब्याजदर वृद्धिलाई विश्वासको प्रतिविम्बका रूपमा हेरिनुपर्ने उनले बताइन् । यद्यपि मुद्रास्फीति अझै पनि फेडको २ प्रतिशतको लक्ष्यभन्दा तलै छ । बैंकले मध्यकाीलन अवधिमा मूल्यमा वृद्धि हुने जनाएको छ ।
आगामी वर्ष फेडरल कोषको दर बढेर १.४ प्रतिशत, २०१८ मा २.१ र २०१९ मा २.९ प्रतिशत हुने सुझाव समितिले दिएको छ । आगामी वर्ष जीडीपीको वृद्धि २.१ प्रतिशतको हाराहारीमा रहने छ ।
२०१७ देखि २०१९ सम्मको अवधिमा बेरोजगारी दर ४.५ प्रतिशतमा झर्ने प्रक्षेपण फेडले गरेको छ । आगामी वर्ष मुद्रास्फीति १.९ प्रतिशत रहनेछ ।
युरोको विनिमयमा डलर ०.५ प्रतिशतले उकालो लागेको छ । येनको तुलनामा ०.९ प्रतिशतले वृद्धि भई ११६.१७ येन कायम भएको छ ।