उद्योगमा विद्युत् आपूर्ति सहज बनाउन उच्च क्षमताका प्रसारणलाइन «

उद्योगमा विद्युत् आपूर्ति सहज बनाउन उच्च क्षमताका प्रसारणलाइन

नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति सहज बनाउन उच्च क्षमताका प्रसारणलाइन बनाउने भएको छ ।
औद्योगिक क्षेत्रमा लोडसेडिङ नभएपछि नियमित र सहज आपूर्ति नभइरहेको भन्दै गुनासो आइरहेको बेला प्राधिकरणले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताको प्रसारणलाइन निर्माण गर्न लागेको हो । हाल अधिकांश औद्योगिक क्षेत्रमा ३३ केभी प्रसारण लाइनबाट मात्रै विद्युत् आपूर्ति गरिरहेको प्राधिकरणले अब १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत उद्योगलाई विद्युत् दिन लागेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । हाल प्राधिकरणले औद्योगिक तथा विशेष आर्थिक क्षेत्र स्थापना हुने सम्भावित सुनसरी, सिराहा, धनुषा, मकवानपुर, चितवन, नवलपरासी, रुपन्देहीलगायतका जिल्लामा उच्च क्षमताका प्रसारणलाइन तथा सबस्टेसन निर्माण गरिरहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले शनिबार, आइतबार, सोमबार र मंगलबार ती जिल्लामा निर्माणाधीन प्रसारणलाइन तथा सबस्टेसन आयोजनाको स्थलगत निरीक्षण गरी तोकिएकै समयमा काम सम्पन्न गर्न आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् । “जनकपुर, हेटौडा, चितवन, भैरहवालगायतका क्षेत्रमा रहेका उद्योग तथा आगामी दिनमा विस्तार हुनसक्ने उद्योग र विशेष आर्थिक क्षेत्रलाई ध्यान दिएर ती क्षेत्रमा १३२ केभीको प्रसारण लाइनको रिङ नै बनाउने गरी काम गरिरहेका छौं,” घिसिङले भने, “यस्तो पूर्वाधार तयार भएपछि एकतर्फ मागअनुसारको विद्युत आपूर्ति गर्न सक्छौं भने अर्कोतर्फ ट्रिपिङ हुने लगायतका समस्या समाधान गरी नियमित विद्युत् आपूर्ति हुन्छ ।” उनले उद्योगलाई विद्युत् दिँदा खपत बढ्ने र चुहावट पनि नियन्त्रण हुने बताए । “लोडसेडिङ अन्त्य भएको छ, अब दुई वर्षमा निर्माणाधीन धेरै आयोजना सम्पन्न हुने भएकाले विद्युत् खपतका लागि माग बढाउनु छ,” घिसिङले भने, “थ्रि फेज मिटर जडानलाई प्राथमिकता दिनुपर्छ ।”
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको निर्देशनमा प्राधिकरणले औद्योगिक क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या समाधान गर्न काम सुरु गरेको हो । यसका लागि सबस्टेसनको क्षमता स्तरोन्नति तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारणलाइन तथा सबस्टेसन बनाउने लगायतका काम गरिरहेको जनाएको छ । सरकारले पनि सिमेन्ट उद्योगमा लगानी आकर्षित गर्न उद्योगसम्म सडक र विद्युत् आपूर्तिका लागि पूर्वाधार बनाउने घोषणा गरिसकेको छ ।
४५६ मेगावाटको माथिल्लो तामाकोसी लगायतका जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएपछि आन्तरिक उत्पादनबाटै विद्युत् आपूर्ति पुग्ने र उत्पादित विद्युत् खपत गर्न नसकी खेर जान नदिन योजनाबद्ध रूपमा प्राधिकरण लागेको हो । अहिले प्रसारण तथा सबस्टेसनको क्षमताले नधान्ने भएकाले प्राधिकरणले मागअनुसार उद्योगलाई विद्युत् दिन सकिरहेको छैन ।
नवलपरासी र रुपन्देहीमा सञ्चालनमा रहेका र खुल्न सक्ने उद्योगलाई ध्यान दिएर प्राधिकरणले प्रसारणलाइन तथा सबस्टेसन निर्माण गरिरहेको छ । प्राधिकरणले चिनियाँ लगानीमा सञ्चालन हुन लागेको होङसी शिवम् सिमेन्टलाई विद्युत् आपूर्तिका लागि नवलपरासीको बर्दघाटबाट सर्दीसम्म १३२ केभीको डबल सर्किट प्रसारणलाइन बनाउन सुरु गरिसकेको छ ।
एउटा लाइनबाट होङसीलाई विद्युत् आपूर्ति गर्ने र अर्को लाइनबाट त्यस क्षेत्रमा सर्वसाधारण उपभोक्ता तथा आगामी दिनमा खुल्न सक्ने उद्योगलाई दिने गरी प्रसारण लाइन बनाउन लागिएको हो । यसैगरी जोइकुटीबाट मैनैयासम्म १३२ केभीको प्रसारणलाइन निर्माण भइरहेको छ ।
मैनैयामा १३२/३३ केभीको सबस्टेसन निर्माण भइरहेको छ । यो बनेपछि अर्घाखाँची लगायतका सिमेन्ट उद्योगले व्यहोरिरहेको विद्युत् आपूर्तिको समस्या समाधान हुनेछ । नवलपरासीमा स्थापना हुने सिमेन्ट उद्योगलाई लक्षित गरी सुनौलीमा १३२/३३/११ केभीको सबस्टेसन निर्माण हुन लागिरहेको छ ।
यसैगरी, नवलपरासीको बडेरामा नेपाल–र भारतबीच विद्युत् व्यापारका लागि बन्न लागेको दोस्रो क्रस बोर्डर प्रसारणलाइन, कालिगण्डकी करिडोर प्रसारण लाइनका लागि २५ बिघामा क्रमशः ४४०/२२० र २२०/१३२ सबस्टेसन निर्माण सुरु भइसकेको छ । यहाँबाट भैरहवा क्षेत्रमा स्थापना हुने उद्योगलाई विद्युत् आपूर्ति गर्न सकिन्छ ।

भैरहवा सेजमा अझै उद्योग आएनन्
विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति दिने बताए पनि भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग स्थापना गर्न उद्योगी अझै आएका छैनन् । स्थलगत निरीक्षणमा पुगेका प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भैरहवा सेजका कर्मचारीले उद्योग स्थापनाका लागि इच्छुक रहेका १९ कम्पनी विद्युत् अभावको कारण देखाउँदै अझै नआएको जानकारी दिएका थिए ।
“अहिले भइरहेको पूर्वाधारबाट २/३ मेगावाट विद्युत् तत्काल दिने लिखित प्रतिबद्धता दिइसकेका छांै, यसबाट उद्योगीले पूर्वाधार निर्माणका काम गर्न सक्छन्,” घिसिङले भने, “३३ केभी डबल सर्किट लाइन निर्माण अन्तिम चरणमा पुगेको छ, त्यसमार्फत दुई महिनाभित्र थप विद्युत् दिन सक्छौं ।”
प्रसारणलाइन निर्माण गरिरहेको ठेकेदार कम्पनीले वन क्षेत्रको जग्गा प्रयोग र स्थानीयको अवरोधको समस्या समाधान भइसकेकाले दुई महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ । प्राधिकरणले लाइन पु¥याए पनि सेजभित्र स्थापना हुने सबस्टेसन निर्माणका लागि सेज कार्यालयले अहिलेसम्म टेन्डर आह्वानसमेत गरेको छैन । प्राधिकरणले अहिले निर्माण गरिरहेको सबस्टेसनको अनुभव हेर्दा टेन्डर गरी ठेकेदार नियुक्त गर्न कम्तीमा पनि ६ महिना लाग्छ । त्यसपछि सामान अडर गरी ठेकेदारलाई काम सक्न छिटोमा १५ देखि १८ महिना लाग्छ । अर्थात् सामान्य अवस्थामा टेन्डरका सम्पूर्ण प्रक्रिया सकेर सबस्टेसन निर्माण सम्पन्न गर्न कम्तीमा पनि दुई वर्ष लाग्ने प्राधिकरणको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्