नारायणगढ–मुग्लिन सडक चौबिसै घण्टा खुल्यो «

नारायणगढ–मुग्लिन सडक चौबिसै घण्टा खुल्यो

नारायणगढ–मुग्लिन सडकमा गुड्ने सवारी सडक निर्माणको कामले नरोकिने भएका छन् । हरेक दिन दिउँसो ६ घण्टा बन्द हुँदै आएको सडक नियमित सञ्चालनमा आएको छ । पहिलो तहको कालोपत्रे गर्ने काम सकिएलगत्तै बन्द खुलाइएको हो ।
गत माघ १३ देखि दिउँसो दैनिक ६ घण्टा सवारी आवागमननै रोकेर निर्माणको काम हुँदै आएको थियो । यसअघि झण्डै एक महिना राति आवागमन रोकिएको थियो । सार्वजनिक सूचना जारी गरेर सुरुमा २ घण्टा, त्यसपछि ४ घण्टा र ६ घण्टासम्म दिउँसो वा राति सवारी आवागमन रोकिँदै आएका थिए । यो आयोजनाअन्तर्गत दोस्रो तहको कालोपत्रे (बीबीएम) गर्न ७ सय मिटर र तेस्रो तहको कालोपत्र्रे (अस्फाल्ट) गर्न २१ किमि बाँकी छ । सडकको ९१ प्रतिशत निर्माणको काम पूरा भएको छ ।
“अब निर्माणको कामले सडक बन्द हुने छैन,” नारायणगढ—मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने, “हरेक दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको बन्द पनि हटेको छ ।” ३३.२ किमि लामो सो सडकमा ६ सेन्टिमिटर मोटो पहिलो तहको कालोपत्रेको काम सकिएको छ । अब ३५ मिनेटमै यो सडक पार गर्न सकिने जनाइएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार मंगलबार राति १२ बजे चेपाङ डाँडाको घुम्तीको ६० मिटर सडकमा पहिलो तहको कालोपत्रे गरेपछि सबै सडक कालोपत्रेका रूपमा विस्तार भएको हो । पहिलो र दोस्रो तहमा ६÷६ सेन्टिमिटर मोटो कालोपत्रे र तेस्रो तहमा ४ सेन्टिमिटर माटो कालोपत्रे गरिन्छ ।
यो सडकलाई तीन खण्डमा विभाजन गरेर निर्माण थालिएको थियो । बीएलए निर्माण कम्पनीले जिम्मा पाएको आँपटारी–दासढुंगा खण्डको १०.४५ किमि सडकमा दोस्रो तहको पिच गर्ने काम पूरा भएर तेस्रो तहको २ किमि पिच भइसकेको छ । यस्तै लामा कन्सट्रक्सन कम्पनीले जिम्मा पाएको दासढुंगा–सिमलताल खण्डको १०.६९ किमि सडकमध्ये सबै तहको कालोपत्रे गर्ने काम सकिएको छ । यस्तै सुप्रिम रौतहा निर्माण कम्पनीले जिम्मा पाएको सिमलताल–मुग्लिन खण्डको १२.१५ किमि सडकमध्ये दोस्रो तहको झण्डै आधा किमि कालोपत्रे गर्न बाँकी छ । तेस्रो तहको कालोपत्रे भएको छैन ।
सिमलतालदेखि मुग्लिनसम्मको खण्ड पहिरोको उच्चजोखिम भएकाले भौतिक प्रगति अन्य खण्डभन्दा कम छ । बीएलएको ९१.२ प्रतिशत, लामा कन्सट्रक्सनको ९७.५० प्रतिशत र सुप्रिम रौताहको ८५ प्रतिशत भौतिक प्रगति भएको सूचना अधिकारी खनालले जानकारी दिए । “काम द्रुत गतिमा भएमा पूर्ण कालोपत्रे गर्ने काम एक महिनामा पूरा हुन्छ,” उनले भने, “हिलो, खाल्डाखुल्डी, धुलो नहुँदा यात्रा सहज बनेको छ ।” दोस्रो र तेस्रो तहको कालोपत्रे गर्ने काम गर्न म्याद थपको तयारीमा निर्माण कम्पनी लागिपरेका छन् । म्याद थप नभएमा जरिवाना तिराएरै भए पनि आयोजना निर्माणकार्य सफलताउन्मुख बनेको छ । अत्यधिक ट्राफिक जाम, पहाड कटान, पहिरोको जोखिम, नाकाबन्दीजस्ता कारणले यो सडक निर्माणमा निकै चुनौती देखापरेका थिए । यो आयोजनाको तीन खण्डमध्ये यही २०१८ मे महिनाको क्रमशः १०, २० र ३० सम्मका लागि म्याद चौथो पटक थप भएको थियो ।

प्रतिक्रिया दिनुहोस्