सडक निर्माणसँगै देशको समृद्धि : मन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक निर्माणसँगै देशको विकास र समृद्धिका लागि सहयोगी बन्ने बताएका छन् । बुधवार सिद्धार्थ राजमार्गको दोभान सिद्धबाबा क्षेत्रको सडक अवलोकन गर्न आएका मन्त्री महासेठले देशका राजमार्गको स्तरोन्नतिसँगै आर्थिक समृद्धिको मार्ग खुल्ने बताए ।
मन्त्री महासेठले सडकमा देखिएको समस्या समाधान नगरी देशले समृद्धि हासिल गर्न नसक्ने भएकाले सिद्धार्थ राजमार्गको सिद्धबावा क्षेत्रमा निरन्तर खसेको पहिरो र सडकको दर्दनाक अवस्थाको अवलोकन पछि मन्त्री महासेठले सिद्धबावा सडक निर्माण र विकल्प खोज्न सरकारले तत्काल काम थाल्ने बताए । उनले वर्तमान सरकारले सुरुङमार्गको अध्ययनका लागि बजेट छुट्याएकाले आजैदेखि सडकको डीपीआर तयार गरी दुई वर्षभित्र काम सम्पन्न गर्ने बताए । वर्तमान सरकार विगतको जस्तो नभई स्थिर र दुई तिहाइको सरकार भएकाले सिद्धबावा सडकमा देखिएको समस्या समाधान हुनेमा विश्वस्त हुन मन्त्री महासेठले आग्रह गरे ।
सरकारले सडक निर्माण गर्न बजेटको समेत व्यवस्था गरेको भन्दै मन्त्री महासेठले सुरुङमार्ग बनाउने की, वैकल्पिक बाटो वा बेलिब्रिज बनाउने भन्ने अध्ययन गरेपछि सरकारले निर्णय गर्ने बताए । सिद्धार्थ राजमार्गमा देखिएको समस्या देशकै सरोकारको विषय भएको भन्दै उनले सिद्धार्थ राजमार्गमा देखिएको समस्याको विषयमा यहाँ यात्रा गर्ने यात्रुलाई मात्र थाहा भएको जिकिर गरे । विगतको सरकारले पनि सिद्धार्थ राजमार्ग निर्माण गर्न भन्दै बजेट विनियोजन गरेको तर राजनीतिक अवस्थाले समस्या समाधान नभएको उनले बताए । विगतको सरकारले दुई वटा बजेटमा पनि सडकलाई सम्बोधन गरेको थियो तर अहिले विगतको सरकारजस्तो होइन, बजेट ल्याएको काम गर्नकै लागि हो उनले भने ।
कार्यक्रममा पूर्वमन्त्री तथा पाल्पा क्षेत्र नं. २ का सांसद सोमप्रसाद पाण्डेले सिद्धार्थ राजमार्गको सिद्धबावा क्षेत्रमा देखिएको समस्या दीर्घकालीन रूपमा समाधान गर्न प्रस्ताव राखेका थिए । उनले आफूले भोगेको र देखेको आधारमा वर्तमान सरकारलाई जनप्रतिनिधिको हैसियतमा सडकको समस्या समाधानमा लाग्न केन्द्रीय सरकारलाई सुझाव दिएको बताए । सांसद पाण्डेले राख्नुभएको प्रस्तावमा चिडियाखोलाको पुलको उत्तरी सिमादेखि ८६० मिटर लम्बाइ चौडा गर्ने, सिद्धबावा मन्दिरदेखि तानसेनतर्फ ९० मिटर सुरुङमार्ग बनाउने, मन्दिरको उत्तरतर्फको भागको करिब १०० मिटर चट्टान काट्ने र रामापिथेकसदेखि दोभान प्रहरी चौकीसम्म १२ सय मिटर चट्टान कटिङ गरी बाटो चौडा बनाउने योजना छ ।
सिद्धार्थ राजमार्गको दोभान क्षेत्रमा निरन्तर झरिरहने पहिरोले बाटो अवरुद्ध हुँदा यस क्षेत्रका हजारौं यात्रुले सास्ती बेहोर्नु परेको छ । यस्तै पानी परेपछि पहिरो खस्नासाथ यात्रु तथा सवारीलाई पहिरोले च्याप्ने गर्दा यात्रुको ज्यान जाने र कतिपय अंगभंग हुने गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालले सिद्धार्थ राजमार्गले यस क्षेत्रको आर्थिक एवं सामाजिक जीवनमा असर गरेको भन्दै बाटो तत्काल निर्माण गर्न मन्त्री महासेठलाई ध्यानाकर्षण गराए ।
–अमृत अधिकारी