प्रदूषण जाँच गर्न ४० मेसिन खरिद गरिने «

प्रदूषण जाँच गर्न ४० मेसिन खरिद गरिने

सवारीसाधनबाट अत्यधिक वायु प्रदूषण हुन थालेपछि सरकारले यसको कडा नियमन गर्ने भएको छ । प्रदूषण परीक्षणका लागि ४० वटा ‘भेइकल इमिसन टेस्ट’ गर्ने मेसिन खरिद गर्ने भएको छ । काठमाडौं उपत्यकामा वायु प्रदूषण अत्यधिक भएकाले यसको नियन्त्रणका लागि यातायात व्यवस्था विभागले आगामी दुई महिनाभित्रै यस्ता मेसिन खरिद गर्ने भएको हो । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवालाहरूबीच भएको बैठकले यस्तो निर्णय गरेको विभागले जनाएको छ ।
उपत्यकाको वायु प्रदूषण नियन्त्रणको काम निकै फितलो भएकाले उक्त कार्यलाई प्रभावकारी बनाउने निर्णय समेत भएको छ । उपत्यकाको वायु प्रदूषित हुनमा सवारीसाधन प्रमुख कारण भएकाले धेरै प्रदूषण गर्ने सवारीसाधनलाई परीक्षणपछि नियन्त्रण गरिने छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बैठकले बुधबारदेखि नै सवारीसाधन प्रदूषण अनुगमन थाल्ने समेत निर्णय गरेको छ । परीक्षणको काम यातायात व्यवस्था विभाग, वातावरण विभाग र ट्राफिक प्रहरीले संयुक्त रूपमा गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक प्रेमकुमार सिंहले बताए । “उपत्यकाका ७ वटा रुटमा चल्ने सार्वजनिक सवारीमा हरियो स्टीकर नभए त्यस्ता सवारीसाधनाई तत्काल कारबाही गरिने छ,” उनले भने, “अब क्रमिक रूपमा दायरा बढाउँदै लैजानेछौं ।”
यस्तै, उक्त बैठकले तोकिएको मापदण्ड पूरा नगरेका सवारीसाधन चलाउन निषेधित क्षेत्रको दायरा बढाउन समेत विभागलाई निर्देशन दिएको छ । ग्रिन स्टीकरको प्रयोगलाई प्रभावकारी बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तत्काल सार्वजनिक सूचना प्रकाशन गर्ने समझदारी भएको छ । हाल हरियो स्टीकरबेगरका सवारीलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । अब यो दायरा बढाउन मन्त्रिपरिषद् कार्यालयले निर्देशन पनि दिनेछ ।
मन्त्रिपरिषद् कार्यालयमा भएको निर्णयअनुसार ४० वटा प्रदूषण जाँच गर्ने मेसिन खरिद प्रक्रिया सुरु भइसकेको सिंहले बताए । “४० वटा मेसिन आएपछि सबै यातायात कार्यालयहरूमा प्रदूषण जाँच गरेरमात्र सवारी चलाउन पाइने व्यवस्था गरिने छ,” उनले भने, “यसका लागि केही सयम लाग्नेछ ।” सवारीसाधनको प्रदूषण मापदण्डलाई समयानुकुल पुनरावलोकन र परिमार्जन गर्ने कार्य दुई महिनाभित्र सम्पन्न गर्ने र आयात हुने सवारीसाधनहरूको सवारी प्रदूषण मापदण्ड पनि समयानुकुल बनाउने निर्णय भएको उनको भनाइ छ ।
ट्राफिक प्रहरी कार्यालयले २०७४ असोज ३१ देखि मंसिर १२ गतेसम्म गरेको अनुगमनका क्रममा १ हजार १ सय ९४ वटा सवारी कारवाहीमा परेका थिए । यसले अधिकांश सवारी प्रदूषण मापदण्डभन्दा बाहिर रहेको देखिन्छ । विभागले पहिलो चरणमा काठमाडौंमा सवारी प्रदूषण जाँचपास भएका सवारीमात्र गुडाउन पाइने प्रवधान लागू गर्ने योजना समेत बताएको छ ।

प्रतिक्रिया दिनुहोस्