Logo

भ्रष्ट व्यापारीको सञ्जालले कृषक मारमा : मन्त्री खनाल

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले दलाल र व्यवसायीले गर्दा किसान मारमा परेको बताएका छन् । उनले बीउ, मलदेखि किसानले उत्पादन गरेका वस्तुमा समेत दलाल र व्यवसायीले सिन्डिकेट लागू गरेको आरोप लगाए । कृषि क्षेत्रमा लगाइँदै आएको सिन्डिकेट सरकारले खारेज गरेरै छाड्ने उनको भनाइ थियो ।
विशेष नापी कार्यालय अर्घाखाँचीले तयार पारेको जग्गाधनी प्रमाणपत्र सन्धिखर्क नगरपालिका–२ मा वितरण गर्दै मन्त्री खनालले किसानले मेहनत गरी उत्पादन गरेको वस्तुलाई भ्रष्टहरूको जालोमा पर्न नदिन सरकार प्रतिबद्ध रहेको बताए । उनले कृषिका लागि हरियो लालपुर्जा बनेको जानकारी दिँदै कृषिको लालपुर्जाले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सहुलियतको व्यवस्था गरिने जानकारी दिए । मन्त्री खनालले अंशबण्डाका नाममा कित्ताकाट रोक्ने भन्दै नीति बाहिरको अंशबण्डा पनि रोक्न पहल गर्ने आश्वासन दिए ।
मन्त्री खनालले जनताको अपेक्षा अनुसारको गति सरकारले लिन नसके पनि क्रमिक सुधार गर्दै लगिने बताए । राज्यले कृषिलाई अझै पनि राम्रोसँग हेर्न नसकेको स्वीकार गर्दै उनले कृषि क्षेत्रका लागि आगामी आर्थिक वर्षको बजेट कम भएको बताए ।
कार्यक्रममा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काले कानुनी मान्यता पूरा गरी पुर्जा प्राप्त गर्नेहरूलाई जग्गाको सदुपयोग गर्न आग्रह गरे । नगरपालिकाको सन्धिखर्क बजार कुरूप बन्दै गएकाले पुर्जालाई खण्डहर हुनबाट बचाउनुपर्ने उनको भनाइ थियो ।
प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले दुई वर्षभित्रमा सबै जनताका हातमा जग्गाधनी प्रमाणपत्र पुग्ने व्यवस्था गर्न सरकारसँग माग गरे । अर्का प्रदेशसभा सदस्य जाल्पा भुसालले लालपुर्जा नहुँदा छिमेकीबीच आपसमा जग्गाकै विषयमा झगडा हुने अवस्था अब अन्त्य भएको बताइन् ।
जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसाललेसरकारले ढिलो काम गरेको भन्दै पुर्जा नापजाँच तथा वितरण कार्य छिटो सक्न सुझाव दिए । नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले गत वर्ष निर्देशिका टुंगो लगाएर जनताको चाहना अनुरूप नापी गरेर पुर्जा वितरण गरिएको बताए ।
सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले सन्धिखर्कका दुई वडामा पुर्जा बाडँन पाउँदा नगरपालिका आभारी भएको बताए । उनले सन्धिखर्क नगरपालिकामा आम्दानीको स्रोत कमी भएकाले कृषिमार्फत अगाडि बढ्नुपर्ने भएकाले सहयोग गर्न सरकारसँग माग गरे ।

प्रतिक्रिया दिनुहोस्