छैटौं संस्करणको फोटो प्रतियोगिता मनोनयन घोषणा «

छैटौं संस्करणको फोटो प्रतियोगिता मनोनयन घोषणा

फोटो पत्रकारहरूको छाता संगठन फोटो पत्रकार (पिजे) क्लबले आईएमई र ग्लोबल आईएमई बैंकसँगको सहकार्यमा छैटौं संस्करणको फोटो प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको छ । क्लबले बुधबार दिउँसो काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको हो । विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीले बुधबारबाटै फोटो दर्ता गराउन सक्नेछन् । 
क्लबको आधिकारिक वेभसाइट www.pjclub.com.np मा गएर दिइएको निर्देशनअनुसार फोटो दर्ता गर्न सकिने क्लबले जनाएको छ । प्रतियोगितामा व्यावसायिक र सौखिन सबैखाले फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन पाउनेछन् । प्रतियोगितामा विदेशी नागरिक तथा विदेशमा खिचिएको फोटोले भने सहभागिता जनाउन पाउने छैनन् । तर, खेलकुद विधाको हकमा भने नेपाल बाहिर खिचिएको तस्बिर भने समावेश गराउन पाइने छ । 
उक्त फोटोमा नेपाली वा नेपाल झल्कने विषय भने कतै न कतै देखिएको हुनुपर्ने छ । बुधबारबाटै सुरु हुने दर्ता प्रक्रिया असार ६ गते मध्यरातमा १२ बजे बन्द हुनेछ । पिजे क्लबले एक भव्य कार्यक्रमबीच सातै विधाका विजेताको घोषणा गरेर विजेतालाई पुरस्कार वितरण गर्नेछ । पुरस्कार वितरण कार्यक्रमपछि साउन १५ देखि २१  गतेसम्म काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सात विधाका १ सय ६० भन्दा बढी उत्कृष्ट फोटोहरूलाई प्रदर्शनीमा राखिनेछ । काठमाडौंमा सात दिनको फोटो प्रदर्शनी गरिसकेपछि मोफसलका पाँच स्थानमा पनि उक्त फोटोहरू प्रदर्शनी गरिने पिजे क्लबका अध्यक्ष विकास कार्कीले बताए । उनका अनुसार विराटनगर, धनगढी, नेपालगञ्ज र पोखरामा तीन/तीन दिन फोटो प्रदर्शनी गरिनेछ । 
प्रतियोगितामा यसपटक १ हजार ५ सय भन्दा बढी फोटोग्राफर तथा फोटो पत्रकारका १३ हजारभन्दा बढी फोटोले विभिन्न विधामा सहभागिता जनाउने आयोजकको अपेक्षा छ । दुई वर्षअघि सम्पन्न अघिल्लो संस्करणमा करिब १२ सय फोटोग्राफर तथा फोटो पत्रकारका ११ हजार फोटो प्रतिस्पर्धामा उत्रिएका थिए । प्रदर्शनीलाई १ लाखभन्दा बढी जिज्ञासुले अवलोकन गरेको पिजे क्लबले बताएको छ । आइएमई र ग्लोबल आइएमई बैंकको मुख्य प्रायोजन तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा हुन लागेको प्रतियोगितामा अर्घाखाँची सिमेन्ट न्यूज फोटो, आईएमएस डेली लाइफ, ३ एक्सपिरियन्स नेपाल कल्चर एण्ड टुरिजम,  नेचर एण्ड वाइल्डलाइफ, शिखर इन्स्योरेन्स नेपाल स्माइल, डिस एक्सन स्पोर्टस र नेप्टोस फोटो स्टोरी गरी सात विधामा प्रतिस्पर्धा हुनेछन् । अर्घाखाँची सिमेन्ट न्युज फोटो विधामा २०७३  साल वैशाख १ गतेदेखि २०७४ चैत मसान्तसम्म खिचिएका तस्बिरले मात्रै प्रतिस्पर्धा गर्न पाउनेछन् । अन्य विधामा जहिलेसुकै खिचिएका तस्बिरहरू पठाउन सकिने छ । अन्य कुनै प्रतियोगितामा मुख्य विजेता भइसकेका र यही प्रतियोगिताको अघिल्ला संस्करणका विजेता फोटो यो प्रतियोगिताका लागि समावेश गराउन पाइने छैन । 
५ लाख २० हजार रुपैयाँ कुल पुरस्कार राशी रहेको प्रतियोगिताको मुख्य विधा आईएमई–ग्लोबल आईएमई बैंक फोटो अफ दि इयरको विजेताले १ लाख रुपैयाँ पाउनेछन् भने अन्य सबै सात विधाका विजेताले जनही ३० हजार, उपविजेताले जनही २० हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ पाउने छन् । 
प्रत्येक विधामा प्रतियोगीले बढीमा ३ वटा फोटो, फोटो स्टोरीमा बढीमा २ वटा स्टोरी र प्रत्येक स्टोरीमा ४ देखि १२ वटासम्म फोटो दर्ता गर्न पाउनेछन् । आईएमई र ग्लोबल आईएमई बैंकको मुख्य प्रायोजन तथा नेपाल टुरिजम बोर्डको मुख्य सहयोग हुने प्रतियोगितामा हालसम्म अर्घाखाँची सिमेन्ट, आईएमएस, शिखर इन्स्योरेन्स, नेप्टोस  र डिसहोमले विधागत प्रायोजकका रूपमा सघाउने छन् ।

 

प्रतिक्रिया दिनुहोस्