Logo

सरकारी अस्पतालपरिसरमा निजी फार्मेसी नरहने

सर्वोच्च अदालतले सरकारी अस्पताल परिसरमा निजी फार्मेसी खोल्न दिनु कानुनविपरित हुने भन्दै त्यस्तो फार्मेसी खोल्न नदिन परमादेश जारी गरेको छ । अस्पताल परिसरमा सञ्चालन भइहेको फार्मेसी हटाउन परमादेश जारी गर्दै सर्वोच्चले सरकारी अस्पताल आफैंले फार्मेसी सञ्चालन गर्न पनि आदेश गरेको छ ।
वीर अस्पतालले २०७२ सालमा फार्मेसी खोल्न सटर भाडामा दिन बोलपत्र आह्वान गरेको थियो । अस्पताल परिसरमा निजी फार्मेसी खोल्न दिने निर्णय र उक्त बोलपत्र आह्वानको सूचना बदर गर्न माग गर्दै उपभोक्ता हित संरक्षण मञ्चका विष्णुप्रसाद तिमिल्सिनाले सर्वोच्चमा रिट दायर गरेका थिए । सोही रिटमा सुनुवाई गर्दै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र तेजबहादुर केसीको इजलासले गरेको परमादेशको पूर्णपाठमा वीर अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न दिने निर्णय बदर गर्दै सरकारी अस्पताल परिसरमा आफैले फार्मेसी सञ्चालन गर्नुपर्ने उल्लेख छ ।
देशभरिका अस्पतालले आफैं फार्मेसी सञ्चालन गरेर सेवा दिएका छन् कि छैनन् भन्ने अनुगमन र मूल्याङ्कनको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयका नाममा पनि आदेश गरेको छ । सरकारी अस्पतालकै परिसरमा पनि निजी फार्मेसी सञ्चालन गर्न दिँदा त्यस्ता मेडिकलबाट उपभोक्ता ठगिँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्