‘उडान कार्यविधि डिजाइन’नबनाई पोखरा विमानस्थलको निर्माण «

‘उडान कार्यविधि डिजाइन’नबनाई पोखरा विमानस्थलको निर्माण

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उडान ‘प्रोसिड्युअर’ (कार्यविधि) नै डिजाइन नगरी निर्माण सुरु गरिएको पाइएको छ । सिभिल कन्स्ट्रक्सन सुरु हुनुअघि तयार हुनुपर्ने उडान प्रोसिड्युअर डिजाइनबिना नै निर्माण कार्य थालेकोे पाइएको हो ।
लामो विवादकाबीच निर्माण सुरु भएको पोखरा विमानस्थलको हालसम्म पनि कस्तो जहाजले उडान गर्न सक्छ भन्ने डिजाइन तयार भएको छैन । अन्तर्राष्ट्रियस्तरमा विमानस्थल निर्माण सुरु हुनुअघि उडान प्रोसिड्युअरको डिजाइन हुन्छ र सोहीअनुसार अन्तर्राष्ट्रियस्तरमा बजार प्रर्वद्धन गर्ने व्यवस्था हुन्छ ।
इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले जिम्मा पाएको छ । “कुनखाले जहाज उडान गर्न सकिन्छ, कहाँ होल्ड गर्ने र ओभरसुट कसरी गर्ने भन्ने डिजाइन नै तयार हुन सकेको छैन, तर धमाधम निर्माण कार्य भने भइरहेको छ,” नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले भने । विमानस्थल निर्माण भएपछि जहाज उडाउन अयोग्य भनेमा सरकारले ऋण लिएर लगानी गरेको अर्बौं रुपैयाँ डुब्ने भएकोले प्रोसिड्युअर डिजाइनबिनै काम भइरहेको ति अधिकारीले बताए ।
विमानस्थलको उडान प्रोसिड्युअर डिजाइन नहुँदा एयरलाइन्स कम्पनीहरूले पोखरा विमानस्थलाई बेस बनाउनेगरी कुनै पनि व्यापारिक कार्ययोजनासमेत तयार गर्न पाएका छैनन् ।
प्राविधिकहरूले विगतमा भएको प्रारम्भिक अध्ययनले जहाज छिर्ने डाँडा नै कटान गर्नुपर्ने प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनको बेवास्ता गर्दै हतारमा चिनियाँ कम्पनीलाई निर्माणको जिम्मा दिइएको थियो । उक्त समयमा प्राधिकरणकै नेतृत्वले गरेको अध्ययनमा पोखरा विमानस्थलमा हाल नेपाल वायुसेवा निगमले उडान गरिरहेका न्यारोबडी एयरबस ३२० र बोइङ ७५७ जहाजले समेत उडान अवरतण गर्न नसक्ने सुझाव दिएको थियो । निर्माण कार्य सुरु हुनुअघि हुनुपर्ने निर्णय हालसम्म नहुँदा शंका उत्पन्न भएको छ ।
सरकारले विमानस्थल निर्माणको कुल लागत २१ करोड ७० लाख डलर अर्थात २१ अर्ब ४७ करोड रुपैयाँ खर्च गर्दैछ । चिनियाँ एक्जिम बैंकसँग ऋण लिएको उक्त रकमबाट चिनियाँ कम्पनीले २ हजार ५ सय मिटर लम्बाइ र ५० मिटर चौडाईको धावन मार्ग तथा टर्मिनल भवन निर्माण गर्नेगरी सम्झौता भएको छ ।

आन्तरिक विमानस्थल नै बनाउन सुझाव
प्राविधिक साथै आर्थिक हिसावले समेत पोखरा विमानस्थल अन्तर्राष्ट्रिय उडानअयोग्य हुने निष्कर्ष सरकारकै अध्ययनमा उल्लेख गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले गठन गरेको विज्ञ टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्र्तराष्ट्रिय आर्थिक हिसावले असम्भव भएको निष्कर्ष निकालेको हो ।
पूर्वसचिव वीरेन्द्रबहादुर देउजाले मन्त्री अधिकारीलाई पोखरा विमानस्थल अन्तर्राष्ट्रियरुपमा भन्दा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको आन्तरिक उडानलाई कटौति गर्न सहज पर्ने भएकोले सोहीअनुसार लाग्न सुझाव दिएका छन् ।
जसमध्ये पूर्वसचिव देउजा, क्याप्टेन पीजे शाह, सिभिल इन्जिनियर कमल केसी, सुमन श्रेष्ठ र प्रभा वैद्यको टोलीले पोखरा विमानस्थल निर्माण गर्नुपर्ने गलत भएको प्रतिवेदनमा उल्लेख छ । कारोबारलाई प्राप्त उक्त प्रतिवेदनमा पोखरा विमानस्थलमा आगामी २० वर्षमा जम्मा १० लाख मात्रै वार्षिक हवाई यात्रु पुग्ने प्रक्षेपण गरेको छ । जबकी सरकारले निर्माण गर्ने निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थमा वार्षिक २ करोड २२ लाख यात्रु पुग्ने प्रक्षेपण छ । प्रतिवेदनमा पोखरा स–साना जेट विमान पनि सञ्चालन गर्नसमेत व्यापारिक रुपमा सम्भावना नभएको निष्कर्ष निकालेको छ । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलाई केन्द्रित गर्न सुझाव दिएको छ । उक्त विमानस्थल सजिलैसँग आत्मनिर्भर हुननसक्ने निष्कर्ष समेत निकालेको छ ।
यस्तै, गौतम बुद्ध विमानस्थल करिब २० वर्षमामात्रै आत्मनिर्भर हुनसक्ने देखिएको र ट्राफिक पठाउन सके करिब १० वर्षमै आत्मनिर्भर हुने प्रतिवेदनमा उल्लेख छ । पोखरा विमानस्थल आत्मनिर्भर हुन कठिन भएको तर त्रिभुवन विमानस्थलको आन्तरिक उडानको आधार बनाउन सके २५ देखि ३० बर्षमा आत्मनिर्भर हुनसक्ने अनुमान प्रतिवेदनमा उल्लेख छ ।

विमानस्थल निर्माणमा सधैँ विवाद
२०६८ माघ २६ गते प्राधिकरणले विमानस्थल निर्माणको ठेक्कालाई बोलपत्र आह्वान गरेको थियो । चाइना सीएएमसीले सरकारको लागत अनुमानभन्दा ८५ प्रतिशत बढी ३० करोड ५० लाख डलरको प्रस्ताव हालेको थियो । त्यसपछि निकै विवाद भएको थियो ।
त्यसको एक वर्षपछि फेरि चिनियाँ कम्पनीले सरकारी अनुमानकै हाराहारीमा निर्माण गर्न सकिने इच्छा देखाएर पर्यटन मन्त्रालयलाई पत्र लेखेको थियो । तर, केही समयपछि कम्पनीले परामर्शदाता खटाएर करिब ३० करोड डलरभन्दा कममा काम गर्न नसकिने अध्ययन रिपोर्ट तयार पारेपछी विवाद झनै चर्किएको थियो ।
विवादपछि सरकारले बनाएको तीन सदस्यीय समितिले २१ करोड ५९ लाख डलरको हाराहारीमा विमानस्थल निर्माण हुने प्रतिवेदन पेस गरेको थियो । वर्तमान पर्यटनमन्त्री अधिकारीकै नेतृत्वमा विमानस्थल निर्माणको लागि आन्दोलन समेत भएको थियो । पोखराबाट स्थानीहरू नागरिक उड्डयान प्राधिकरण कार्यलय घेराऊ गर्न आएका थिए ।

प्रतिक्रिया दिनुहोस्