७० प्रतिशत अमेरिकी युवा अर्कै दल चाहन्छन् «

७० प्रतिशत अमेरिकी युवा अर्कै दल चाहन्छन्

अमेरिकाका करिब ७० प्रतिशत युवाले हाल संयुक्त राज्य अमेरिकामा रहेका दुई राजनीतिक दललाई मन नपराएको र अर्काे दल चाहेको सर्वेक्षणले देखाएको छ । उक्त सर्वेक्षणअनुसार अमेरिकाका डेमोक्र्याट र रिपब्लिकनभन्दा अर्कै दल चाहेको उनीहरूले बताएका थिए ।
ती दुई राजनीतिक दलले अमेरिकामा राम्रो काम गर्न नसकेको गुनासो उनीहरूको छ । त्यसैले उनीहरूले यी दुईको सट्टा अर्काे राम्रो काम गर्ने दल आवश्यक भएको बताएका हुन् । हालै गरिएको सो सर्वेक्षणमा अमेरिकी नागरिकको सो धारणा बाहिर आएको बताइएको छ । उक्त सर्वेक्षणमा सहभागी भएमध्येका ६० प्रतिशत युवाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरिरहेको कार्यसम्पादनको विरोध गरेका छन् ।
उनीहरूले राष्ट्रपति ट्रम्पको कार्यशैली नरुचाएको र उनले जारी राखेका कामहरू जनताले मन पराउने खालका नरहेको पनि बताएका छन् ।
एनबीसी न्युजले गरेको सो सर्वेक्षणमा सहभागी करिब ६५ प्रतिशत युवाले संयुक्त राज्य अमेरिका हाल सबै राजनीतिक विषयमा गलत दिशातर्फ उन्मुख भइरहेको जनाएका छन् । उक्त सर्वेक्षणका अधिकांश सहभागीले अमेरिकामा राजनीतिक दलले जनताको वास्ता नगरेको जनाएका छन् । त्यसैले उनीहरूले हालका दुई दलभन्दा अर्कै राजनीतिक दल चाहेको बताएका छन् । राष्ट्रिय रूपमै प्रतिनिधित्व हुने गरी उक्त सर्वेक्षणमा विभिन्न जात जाति, वर्ग र क्षेत्रका आधारमा नागरिकलाई संलग्न गराइएको थियो । उक्त सर्वेक्षण गत अक्टोबर २६ देखि नोभेम्बर १० सम्म गरिएको थियो । विभिन्न क्षेत्र, वर्ग र समुदायका गरी १ हजार ८ सय ७६ जना १८ देखि ३४ वर्ष उमेर समूहका युवाहरूलाई सो सर्वेक्षणमा सहभागी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्