घर नबनाई दोस्रो किस्ता ,छानबिन समिति गठन

काभ्रे-प्राविधिक तथा स्थानीयको मिलेमतोमा भूकम्पपीडितले घर नबनाई दोस्रो किस्ता लिएको समाचार कारोबारमा प्रकाशित भएपछि छानबिन गर्न भन्दै समिति बनेको छ ।
छानबिन समितिमा इन्जिनियर तथा अनुसन्धान विज्ञ रोशन केशरी, प्रदिप बस्नेत र विनोद वनमालाको समिति बनाएको पुनर्निर्माण प्राधिकरण काभ्रेका प्रमुख लोकनाथ रेग्मीले बताए । ३ सदस्य छानबिन समिति गठन गरिसकेको इन्जिनियर अशोक अधिकारीले जानकारी दिए । “समिति निर्माणसँगै टोली डाँडापारि पुगेको छ । उहाँहरू फर्केलगत्तै यथार्थ के हो सत्य तथ्य बुझेर रिपोर्टको आधारमा कारबाही गर्छौं,” अधिकारीले भने ।
खानिखोला गाउँपालिका–४ डाँडागाउँमा घर नबनाई दोस्रो किस्ताको रकम बुझेका हुन् । वडा नं ४ हेर्ने प्राविधिक हर्ष बम र स्थानीय निशान लामा र वीरमान लामाको मिलेमतोमा १० जनाभन्दा बढीको घर नै नबनाई दोस्रो किस्ता रकम लिएको समाचार कारोबारमा प्रकाशित भएको थियो ।
घर नै नबनाई रकम उपलब्ध भएको भन्दै स्थानीयले वडाध्यक्ष वीरबहादुर वाईबा र त्यस वडामा खटिने प्राविधिक हर्ष बमको मिलेमतोमा रकम निकासा भएको आरोप लगाउँदै निश्पक्ष छानबिनको माग गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालय धुलिखेल, जिल्ला प्रशासन कार्यालय काभ्रे, जिल्ला समन्वय समिति काभ्रेमा उजुरी दिएका छन् ।
वडाध्यक्षको हस्ताक्षर
पैसा निकासा गर्नका लागि फाइलमा हस्ताक्षर गर्ने वडा नं. ३ का वडाध्यक्ष जयबहादुर लुंगेली हुन् । तर भूकम्पपीडित भने वडा नं. ४ का हुन् । वडा नं. ४ को उक्त फाइल सदर गरी पैसा निकासा गर्नका लागि वडाध्यक्ष वीरबहादुर वाईबाले हस्ताक्षर गर्नुपर्नेमा वडा नं. ३ का वडाध्यक्ष लुंगेली मगरले गरेका हुन् । यस विषयमा पहिला सिंगो एउटै गाविस भएको र दुवै एउटै गाविसको जनता भएकाले वडा नं. ४ र वडा ३ मा आफू र जयबहादुर लुंगेली मगरले अघिपछि पनि हस्ताक्षर गर्ने गरेको वडा नं ४ का वडाध्यक्ष वीरबहादुर वाईबाले बताए । वडा नं. ३ का अध्यक्ष मगरलाई सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन् ।
–कपिल कोइराला