एप्पलद्वारा अर्को फ्लिप फोनको पेटेन्ट दर्ता

विश्वले कुनै दिन पट्याउन मिल्ने आइफोन आफ्नो हातमा पाउने संकेत एप्पलले गरेको छ । अमेरिकी पेटेन्ट एन्ड ट्रेडमार्क कार्यालयले एप्पलले इलेक्ट्रोनिक डिभाइसका लागि पेटेन्टको आवेदन दिएको कुरा हालैमात्र प्रकाशित गरेपछि एप्पलको पट्याउन मिल्ने आइफोन बजारमा आउने संकेत मिलेको हो ।
यो पेटेन्ट २०१६ को सेप्टेम्बरमा दर्ता भएको थियो । यो पछिल्लो पेटेन्टले लचकदार डिस्प्लेको बारेमा जानकारी गराएको छ । यस किसिमको आइफोन एउटा किताब जस्तै खुल्ने र बन्द हुने किसिमको हुनेछ । एप्पलको पेटेन्टमा पुरै पट्याउन मिल्ने ३६० डिग्रीको स्क्रीन हुने छ । यसको स्मार्ट सीसाले प्रतिद्वन्द्वी गुगलको ग्लास उत्पादनलाई चुनौती दिने छ ।
एप्पलले प्रायः सधैनै गोप्य रुपमा पेटेन्टका लागि आवेदन दिने गर्छ । फ्लिप फोनले विशेषगरी सन् २००० को सुरुमा लोकप्रियता पाएको थियो । तर पछिल्ला वर्षहरुमा आएर यो फोन विशेषगरी एसियामा लोकप्रिय हुदै गएको छ । सेलिब्रिटीहरु रिहानादेखि लिएर विनटोर सम्मले उच्च प्रविधिको फोनको सट्टा साधारण अर्थात फिचर फोन बोकेको देखिएको छ ।
यो वर्षको सुरुमा सामसङले टच स्क्रीनका साथ चीनमा उच्च गुणस्तरको फ्लिप फोन सार्वजनिक गरेको थियो । कम्पनीले पट्याउन मिल्ने डिस्प्लेका साथ आगामी वर्ष अर्को स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । हालसालै मात्र कोरियाली सञ्चार माध्यमहरुले एलजीले एप्पलसँग मिलेर पट्याउयन मिल्ने फोनका लागि काम गरिरहेको संकेत गरेका थिए ।