उत्पादन लागत उच्च हुँदा अन्तर्राष्ट्रिय बजारमा स्वदेशी वस्तु कमजोर «

उत्पादन लागत उच्च हुँदा अन्तर्राष्ट्रिय बजारमा स्वदेशी वस्तु कमजोर

नेपाली व्यवसायीहरूले स्वदेशी वस्तुको उत्पादन लागत धेरै हुँदा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा कमजोर हुने गरेको बताएका छन् । उपयुक्त पूर्वाधारको अभावमा उत्पादन लागत धेरै हुँदा नेपाली वस्तुले विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न नसकेको र त्यही कारण नेपालको व्यापार घाटा दिनहुँ बढिरहेको व्यवसायीहरूले बताएका हुन् । राजधानीको भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको ‘नेपाल चेम्बर एक्स्पो २०१७’ को उद्घाटनका क्रममा व्यवसायीले पूर्वाधार विस्तारमा जोड दिन सरकारसँग आग्रह गरेका छन् । नेपाली वस्तुको बजारीकरण गर्ने उद्देयले नेपाल चेम्बर अफ कमर्सको आयोजनामा एक्स्पो सुरु भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले एक्स्पोको उद्घाटन गर्दै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएसँगै मुलुकमा राजनीतिक स्थायित्व कायम हुने भन्दै अब सबैले मुलुकको आर्थिक समृद्धिलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएकी छिन् । विकास निर्माण र कृषि क्षेत्रमा श्रमिकहरूको अभाव खड्किइ रहे पनि युवाहरूको ठूलो जमात अझै पनि वैदेशिक रोजगारीमा गइरहेको भन्दै मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रले लगानी बढाउनुपर्ने जोड दिएकी छन् । संविधानले प्रदेश र स्थानीय तहलाई अधिकार दिए पनि राजनीतिक व्यक्तिमा आर्थिक विषयको ज्ञान नभएको भन्दै निजी क्षेत्रको सहभागिताबिना आर्थिक समृद्धि सम्भव नहुने बताइन् ।
चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यापार घाटा न्यूनीकरणका लागि सरकारले पूर्वाधारको क्षेत्रमा लगानी गरी लगानीकर्तालाई उद्योग खोल्न आकर्षित गर्नुपर्ने र सुविधा दिनुपर्ने बताए । मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्र सरकारको सहयात्री भएर काम गर्न तयार रहेको भन्दै सरकारका सबै एकाइमा आफूहरूलाई सहभागी गराइनुपर्ने बताएका छन । राष्ट्रिय अर्थतन्त्रको विकासका लागि जस्तोसुकै विषम परिस्थितिमा पनि निजी क्षेत्रले सरकारलाई उदारतापूर्वक सहयोग गर्दै आइरहेको उल्लेख गर्दै उहाले मुलुकको आर्थिक विकास लागि सरकारसँग सहकार्य गरी अगाडि बढ्न निजी क्षेत्र सधैं तयार रहेको प्रतिबद्धता उनले जनाएका छन् । एक्स्पोमा नेपालका अतिरिक्त भारत, थाइल्यान्ड, पाकिस्तान, बंगलादेश, चीन, कोरिया, जापानलगायत मुलुकमा उत्पादित सामग्री राखिएका छन् । २ सय २५ वटा स्टल राखिएको एक्स्पो मंसिर १८ गतेसम्म चल्ने छ । चेम्बरले गरेको यो तेस्रा एक्स्पो हो । वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले उपभोक्ताको रुचि चाहना विश्लेषण गरी त्यहीअनुसार अगाडि बढ्न एक्स्पो सहयोगी हुने विश्वास व्यक्त गरेका छन् । नेपालका लागि कोरियाका राजदूतपार्क योङ सिकले चेम्बरले गरेको एक्स्पोमा दोस्रोपटक कोरिया पार्टनर मुलुकका रूपमा सहभागी रहेको जानकारी दिँदै एक्स्पो निकै उपयोगी भएको बताए । पाँच दिनसम्म चल्ने मेलामा करिब ३ लाखभन्दा बढी अवलोकनकर्ताले सहभागिता जनाउने अपेक्षा आयोजकको छ ।

प्रतिक्रिया दिनुहोस्