चेपाङ समुदायको जीवनस्तर फेरियो

धादिङ-केही वर्ष अघिसम्म गिठा, भ्याकुर, सिस्नो र टाँकी खाएर जीविकोपार्जन गर्ने चेपाङ समुदायका मानिस अहिले तरकारी बेचर चामल किन्छन् भन्दा अनौठो लाग्न सक्छ । तर, धादिङको बेनिघाट रोराङ–६ बुम्राङका चेपाङहरू तरकारी र फलफूल बिक्री गरेर चामल खरिद गर्ने गर्दछन् । पृथ्वी राजमार्गको चरौदीबाट ५ घण्टा पैदल हिँडेर पुग्न सकिने बुम्राङका एक सय परिवार चेपाङलाई अब चामलको भात खाने रहन लाग्न छाडेको छ ।
२५ वर्षअघिसम्म भात खान रहर गर्ने चेपाङहरू अहिले गिठा, भ्याकुर, सिस्नो, टाँकीको मुन्टा, जंगली च्याउ खान रहन गर्ने भएका छन् । “फुर्सदका बेलामा जंगलबाट खोजेर कन्दमूल खान्छौं,” स्थानीय रामबहादुर चेपाङले भने, “पहिले दैनिक जसो जंगलमा कन्दमूल खोज्न वा साहूको घरमा काम गरेर कोदो मकै जुटाउन व्यस्त हुन्थ्यौं ।” पछिल्लो समयमा धादिङका चेपाङ खेतीपातीको काममा संलग्न हुन थालेपछि उनीहरूको दैनिकी परिवर्तन भएको हो ।
स्थानीय रामबहादुर चेपाङले २५ वर्षदेखि तरकारी र सुन्तला बिक्री गर्दै आएको बताए । चार वर्षयता उनले वार्षिक ५ लाख रुपैयाँको हाराहारीमा तरकारी बेच्दै आएका छन् । “चैतमा लगाएको मकै भदौमा पाक्छ, असारमा मकैबारीभित्रै घ्यू सिमी, भिँडेखुर्सानी, काउली, गोलभेडा लगाउँछु,” उनले भने, “पहिला बाँच्नका लागि दुःख गर्यौ, अहिले जीउनका लागि दुःख गर्दैछौं ।”
रामबहादुर त प्रतिनिधिपात्र मात्र हुन् । धादिङको रोराङका धेरै चेपाङले अहिले तरकारी तथा फलफूल उत्पादन तथा बिक्री गरेर जीविकोपार्जन गर्न थालेका छन् । उनीहरूले उत्पादन गरेको कृषिजन्य पदार्थ चरौदीसम्म पु¥याएर बिक्री गर्ने गरेका छन् । गाउँमा सडक नभएकाले उनीहरू भारी बोकेरै उत्पादित वस्तु बजारमा पु¥याउने गर्छन् । “गाउँसम्म मोटरबाटो बने उत्पादित वस्तु बिक्री गर्न सहज हुने थियो,” रामबहादुरले भने ।
रोराङका चेपाङ समुदायका मानिसले कम्तीमा पनि वर्षको एक लाख रुपैयाँभन्दा बढीको तरकारी बिक्री गर्ने गरेका छन् । सिद्धला चेपाङले ५ लाख रुपैयाँसम्मको र प्रेमबहादुर चेपाङले पनि ५ लाख रुपैयाँसम्मको वार्षिक तरकारी बिक्री गर्ने गरेको बताए । ७ वर्षको उमेरमा साहूको हलो समाएका मानबहादुर चेपाङले सुन्तला खेती गाउँमा भिœयाएका छन् । त्यही सुन्तला खेतीबाट बुम्राङका चेपाङहरूको अवस्थामा सुधार ल्याएको उनले बताए । गाउँलेहरू तरकारी खेतीतर्फ आकर्षित हुँदै गएकोमा उनले खुसी व्यक्त गरे । “यसवर्ष अमरसिं चेपाङले डेढ लाख रुपैयाँको सुन्तला बिक्री गरे,” मानबहादुरले भने ।
धादिङका चेपाङ वर्षातका बेला तरकारी खेतीमा संलग्न हुने भए पनि हिउँदको समयमा भूकम्पपछिको पुनर्निर्माणमा समेत सक्रिय भएका छन् । गाउँमा ६ जनाले घर निर्माणको तालिम लिएका छन् । उनीहरूले अहिलेसम्म चार वटा घर निर्माण गरिसकेका छन् । १० वटा घर निर्माण भइसकेको मिस्त्री सिद्धिलाल चेपाङले बताए ।
नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष जितेन्द्र चेपाङले चेपाङ समुदायको जिविकोपार्जनमा सुधार भइरहेको बताए । उनले चेपाङ समुदायलाई अझ बढी सहयोगको खाँचो रहेको समेत बताए ।