स्मार्टफोनको विकल्प ‘इन्टेलिजेन्ट फोन’ «

स्मार्टफोनको विकल्प ‘इन्टेलिजेन्ट फोन’

मोबाइल फोन अब फोन गर्ने कामका लागि मात्र रहेन । फोन गर्नेसँगै रेडियो वा गीत सुन्न मिल्ने फिचर फोनहरू अब पुराना प्रविधिका रूपमा रूपान्तरित भैसकेका छन् । पछिल्लो दशकभित्रै सूचना प्रविधिमा भएको तीब्र विकाससँगै अब मोबाइल फोन भन्नेवित्तिकै ‘स्मार्टफोन’ बुझ्न थालिएको छ । स्मार्टफोनमै भएका हजारौं फिचरहरूमध्ये केही प्रतिशत मात्र भए पनि उपयोग गरेर आनन्द लिइरहेको छ विश्व समुदायले । तर आगामी दिनमा स्मार्टफोन पनि विस्थापित हुने लक्षण देखा पर्न थालेका छन् ।
पकेटमा अट्ने सानो डिभाइस जसबाट कम्युटर सरह वा सोभन्दा पनि बढी सुविधा गर्न सकिन्छ । त्यसैले यस्ता फोनहरूलाई स्मार्टफोन भनिएको हो । फोन गर्नेका अलावा सूचना, समाचार लिन दिन, अध्ययन अध्यापन गर्न, मनोरञ्जन लिनसमेतका सुविधा स्मार्टफोन बाट लिइदै आइएको छ । मानव जीवनलाई सहज र सहज बनाउन स्मार्टफोनले महत्वपूर्ण भूमिका निर्वाह पनि गरेको छ । पछिल्लो विश्वमा स्मार्टफोनको लत यसरी बसेको छ की एक दिन स्मार्टफोन साथमा नहुँदा के के न हराएको महशुस गरिन्छ । यद्यपि, कतिपय समुदायमा टेलिफोनको तार नपुगेको अवस्था पनि छ । टेलिफोन नपुगेका बस्तीलाई अपबाद मान्ने हो भने स्मार्टफोन मानवको दैनिकी नै बनेको छ ।
यसरी अटुट दैनिकी बनेको स्मार्टफोन आगामी वर्षहरूमा विस्तारै विस्थापित हुनेछन् । तर, उपभोक्तालाई आत्तिइहाल्नु पर्ने अवस्था भने होइन । किनकी स्मार्टफोन विस्थापित भएर वारफोन वा फिचरफोन बन्ने होइनन् । बरु स्मार्टफोनका हार्डवयर तथा सफ्टवेयरमा नयाँ नयाँ प्रविधि जडान बनेर थप स्मार्ट बन्दैछन् । स्मार्टफोनको विकल्पमा अब झनै स्मार्टफोन अर्थात् इन्टेलिजेन्ट फोनहरू विश्व बजारमा आउनेछन् । हरेक महिनाजसो सयौं ब्राण्डका करिव १० करोड स्मार्टफोन विश्व बजारमा आउँछन् । हरेक वर्ष स्मार्टफोनको खपत बढी नै रहेको छ । अबका दिनमा थपिने स्मार्टफोनहरूमा इन्टेलिजेन्ट फोनको संख्या पनि थपिदै जानेछ भने विस्तारै स्मार्टफोनको साटो विश्व समुदायको हातमा इन्टेलिजेन्ट फोनमात्र हुनेछन् ।

अब आउने स्मार्टफोनमा आर्टिफेसियल इन्टेलिजेन्ट (एआर्ई) प्रविधि जडान भएर आउनेछन् जसले स्मार्टफोनलाई इन्टेलिजेन्ट फोनको रूपमा रूपान्तर गर्नेछन् । यसको सुरुवात मोटोरोला र हुवावेले देखिने गरी नै गरेका छन् । हुवावेले अनर ब्राण्डमा भी १० स्मार्टफोनफोन सार्वजनिक गरेको छ, जसको हार्डवयरमै एआर्ई जडित रहेको बताइन्छ । कम्पनीको यो फोन एआई जडित किरिन ९७० जडित छ भने ५.०० इन्चको फुल स्क्रीन डिस्प्लेसहितको छ । यो कम्पनीको पहिलो एआई जडित स्मार्टफोन हो । अनर ब्राण्डका अध्यक्ष जाओ मिङले नयाँ डिजाइन र फिचर सहित सफ्टवयर तथा प्रोसेसर समेतको अपग्रेड गरेर नयाँ स्मार्टफोन बजारमा ल्याएको बताए । चिनिया संचारमाध्यममा जनाइए अनुसार उनले फोनमा जोडिएको एआईले स्मार्टफोनलाई उपभोक्ताको भावना अनुरूप चल्न सहयोग गर्ने बताएका छन् ।
फोन सार्वजनिक गर्दै मिङले एआई फोनले सामान्य उपभोक्ता र प्रोफेसनलबीचको आधारभूत दुरीलाई घटाउन मद्दत गर्ने बताएका छन् । भी १३ क्यामराले १३ प्रकारका वस्तुलाई चिन्नेछ र सोही अनुसार फोटो फिल्टर गर्नेछ । यसो गर्दा उपभोक्ताले थप गज्जवको फोटो खिच्न सक्नेछन् । ८ कोर सिपियु, १२ कोर जिपियु जडित छ । यो फोन १० नानोमिटर म्यानिफ्याक्चरिङ प्रोसेस गरिएको यो फोनको १ सेन्टीमिटर क्षेत्रमा ५५ लाख ट्रान्जिस्टर रहेको बताइन्छ । यसको अर्थ यो हालको फ्ल्यागशीप स्मार्टफोनभन्दा धेरै गुणा छिटो गतिको हुनेछ । ४०९ अमेरिकी डलर मूल्य तोकिएको यो फोन कहिले बजारमा आउछ भन्ने निश्चित छैन । हुवावेले आफ्नो मेट १० सिरिजको स्मार्टफोनमा पनि किरिन ९७० चिप प्रयोग गर्ने योनजा यसअघि नै बाहिर आइसकेको छ ।
सूचना प्रविधिमा एआईको प्रयोग नयाँ भने होइन । स्मार्टफोनहरूमा पनि सफ्टवयरको सहायताले एआईको सुधिवा प्रयोग गर्न सकिने अवस्था अहिले पनि छ । गुगलले आफ्ना अपरेटिङ सिस्टम एन्ड्रोइडको ६.० भन्दा यताका भर्सनमा गुगल एसिस्टेन्टको व्यवस्था गरेको छ । त्यस्तै एप्पल डिभाइसमा सिरी, माइक्रोसफ्टको कोर्टनाले पनि स्मार्ट एसिस्टेन्टको रूपमा काम गरिरहेका छन् । अमेजनको एलेक्सा, गुगलकै गुगल होम लगाएत अन्य कम्पनीका एआईकै काम गर्ने छुट्टै डिभाइसहरू पनि प्रयोगमा आइसकेका छन् । इन्टेलिजेन्ट फोनहरूमा भने हार्डवयरमै एआई जडान हुनेछन् । यसो हुनु भनेको स्मार्टफोन थप स्मार्ट बन्नु हो । यद्यपी यो प्रविधि उपभोक्तामाझ सहज पहुँचमा आउन भने समय लाग्न सक्छ ।
मेसिन लर्निङको महत्वपूर्ण हिस्साको रूपमा रहेको एआई प्रविधि जडित फोनहरूले उपभोक्तालाई गोजीमा आफ्नो सहयोगी राखेर हिडेको महसुस गराउछन् । किनकी स्मार्टफोन भन्दा यी धेरै गुणा स्मार्ट हुनेछन् एआई फोन अर्थात् इन्टेलिजेन्ट फोनहरू । यसका लागि हार्डवयरदेखि सफ्टवयरहरू यसै अनुकुल बन्नु पर्छ । प्रोसेर उत्पादक कम्पनी क्यालकमले पनि आफ्नो क्वालकम प्रोसेसरलाई एआईजडित बनाउने कार्यक्रम सुरु गरिसकेको छ । यसको पहिलो प्रयोग मोटोरोलाको मोटो जेट फोर्समा गरिएको छ । यसमा क्वालकमको स्न्यापड्रागन ८३५ प्रोसेसर जडित छ, जो कम्पनीको क्वालकम स्न्यापड्रागन न्युरोल प्रोसेसिङ इन्जिन (एनइपी) जडिट प्रोसेसर हो । यसका अलावा गुगल, सामसुङ लगाएतका कम्पनीहरूले पनि एआईको क्षेत्रमा काम गरिरहेका छन् । यसको अर्थ अब स्मार्टफोनमा जस्तै एआई जडिट स्मार्टफोन निर्मात तथा बजारीकरणमा पनि कम्पनीहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ । जसले गर्दा उपभोक्तामाझ छिटो र स्मार्टफोन जत्तिकै वैकल्पिक मूल्यमा एआईफोनहरू उपलब्ध हुनेछन् भन्ने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्