काठमाडौं स्टिलको इजाजतपत्र खारेज «

काठमाडौं स्टिलको इजाजतपत्र खारेज

नवलपरासीस्थित काठमाडौं स्टिलले उत्पादन गरेको फलामे डन्डी गुणस्तरहीन रहेको भेटिएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले काठमाडौं स्टिलद्वारा उत्पादित डन्डी तोकिएको मापदण्डअनुरूप नभएको फेला पारेपछि त्यसको इजाजतपत्रसमेत खारेज गरेको हो ।
स्टिल गुणस्तरहीन पाइएपछि एनएस चिह्न खारेज गरेको विभागले जानकारी दिएको छ । यो उद्योगले उत्पादन गर्ने एफइ (५००) ग्रेडको एनएस विभागले खारेज गरेको हो । सो स्टिलले तोकिएको गुणस्तरअनुसार उत्पादन नगरेकाले एनएस खारेज गरेको जानकारी विभागले दिएको छ । टेन्साइल प्रपर्टी पाँच सय हुनुपर्नेमा साढे चार सय मात्रै भएको भेटिएकाले स्टिलको एनएस चिह्न खारेज गरिएको विभागले जनाएको छ । विभागका अनुसार कम्पनीले तोकिएको गुणस्तर पूरा नगरी उत्पादन गरेकाले थप उत्पादन र बिक्री वितरण गर्न पाउँदैन ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले स्टिलमा तोकिएको गुणस्तरभन्दा कमजोर भेटिएकाले इजाजतपत्र खारेज गरिएको जानकारी दिए । “बजारमा पठाएको यो डन्डीको समेत नमूना परीक्षण भइरहेको छ,” महानिर्देशक पुडासैनीले भने, “नमुना परीक्षणबाट गुणस्तरहीन भए जफत गर्न क्षेत्रिय कार्यालयलाई निर्देशन दिएका छौं ।” यो उद्योगबाट उत्पादन भएका अन्य उत्पादनको समेत गुणस्तर परीक्षण गरिरहेकाले दोषी देखिए ती उत्पादनको समेत एनएस खारेज गर्ने उनको भनाइ छ ।
काठमाडौं स्टिल उद्योगले एनएस १९१ प्राप्त गरेको थियो । ८ देखि ३२ एमएमसम्मका एफई ५ सय ग्रेडका रिड छडमा कम्पनीले नेपाल गुणस्तर चिह्न प्राप्त गरेको थियो । सो उद्योगले पुनः उत्पादन गर्न नयाँ प्रक्रियाअनुसार गएर पुनः एनएस चिह्न लिनुपर्छ ।
अन्य स्टील उद्योगका उत्पादनको गुणस्तर परीक्षण गरिरहेकाले कैफियत भेटिए इजाजतपत्र खारेज गरिने विभागले जानकारी दिएको छ । विभागले एनएस चिह्न प्रदान गर्नुका साथै उत्पादनको गुणस्तर परीक्षण गर्ने काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्